+
+

गृहमन्त्रीज्यू ! नेपाल तपाईंको मात्र घर होइन

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ भदौ २२ गते ८:४८

आइतबार बिहान सहसचिव फणिन्द्रमणि पोखरेलको नामबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्ति पढेपछि थाहा भयो- गृह मन्त्रालयबाट देशवासीका नाममा कडा उर्दी जारी गरिएको रहेछ ।

‘ए भारतविरुद्ध नबोल्नू है, अमेरिका विरुद्ध नबोल्नू ! बोल्यो भने जिब्रो थुतिदिन्छौं’, भाषा यस्तै थिएन तर मन्त्रालयको विज्ञप्तिको आशय यस्तै थियो ।

नेताहरूबारे त हामीलाई थाहा नै छ । तर हाकिम-सचिवले पनि यति निकृष्ट शैलीले किन जनताको हुर्मत लिए, नबुझेर हैरान छु । अवश्य पनि यसमा माथिको आदेश हाबी छ भन्ने सहजै थाहा हुन्छ ।

गृहमन्त्री बालकृष्ण खाँणज्यू !

आज आँतको कुरा भन्दैछु । तपाईंलाई मैले चिनेको दुईचार वर्ष अगाडि मात्र हो । ‘युवा नेता बालकृष्ण खाँण रक्षामन्त्री भएकोमा हार्दिक बधाई’ लेखिएका पोस्टले सामाजिक सञ्जाल ढाकिएको देखें । त्यतिबेलासम्म मैले तपाईंमाथि पूर्ण जानकारी राखेको रहेनछु ।

पहिलोपटक सुन्दा तपाईंको नाम निकै वजनदार लाग्यो । फेरि मन्त्रालय पनि रक्षा पाउनुभएको रहेछ । रक्षामन्त्री हुँदा तपाईंबाट देशको रक्षा भयो भएन त्यो अहिले तपसिल भइसक्यो । आज तपाईं गृहमन्त्री हुनुहुन्छ । खाँटी कुरा अब सुरु भएको छ ।

खड्गप्रसाद ओलीले दुई-दुईपटक संसद विघटन गरेपछि नागरिक आन्दोलनको राँको सल्कियो । त्यो राँको निभाउन खड्ग ओलीले सम्पूर्ण मजबुरी लगाए । तर सकेनन् । अदालतले जनपक्षीय फैसला गर्दै असारमा उनलाई सत्ताच्यूत गर्‍यो ।

यसपछि पाँचौंपटक शेरबहादुर देउवा प्रधानमन्त्री भए । एउटा ‘बा’ गए अर्को ‘बा’ आए भन्दै चित्त बुझाउनुबाहेक हामीसँग अर्को विकल्प थिएन । किनभने हामी यो व्यवस्थामा विकल्पहीन हुन बाध्य छौं ।

अर्कोतिर, देउवा आफूमात्र प्रधानमन्त्री भएनन् । आफ्नो दाहिने हात मानिने बालकृष्ण खाँणलाई गृहमन्त्रीको जिम्मा दिए । शायद यसले पार्टीभित्र पनि कलहको बीउ रोप्यो ।
देउवा प्रधानमन्त्री भएको एक महीना नबित्दै महाकाली नदीमा भारतीय अर्धसैनिक एसएसबीले तुइन काटिदिएपछि नेपाली नागरिक जयसिंह धामीको मृत्यु भयो । (बेपत्ता भन्नु मृत्युको उपहास हो, त्यसो भन्ने धृष्टता नगर्नुहोला ।)

तर गृहमन्त्रीज्यूलाई कुनै अपशोच थिएन । यसबारे उहाँले एक शब्द बोल्नुभएन । चौतर्फी दबाब आएपछि मात्र छानबिन समिति बनाइयो । समिति त बन्यो तर प्रतिवेदन आएन । अन्ततः पाँच हप्तापछि मात्रै गुपचुप रूपमा गृहमन्त्रीले प्रतिवेदन बुझे ।

केही नबोल्नुको अर्थ धेरै हुन्छ । धीर-गम्भीर मानिस हत्तपत्त बोल्दैनन् भन्ने ठानेर मिडियाले पनि गृहमन्त्रीलाई धेरै चलाउनतिर लागेनन् । भर्खरै बनेको सरकार हो भनेर जनता पनि ‘पर्ख र हेर’को स्थितिमा रहे ।

तर एकाएक सूचना निकालेर छिमेकीको विरोध गर्न पाइँदैन भन्नुमा तपाईंको प्रत्यक्ष हात छ । नेपाल र भारत दुवै लोकतान्त्रिक राज्य भएकाले विरोध गर्न पाउनु सामान्य कुरा हो । साम्राज्यवाद र उपनिवेशको विरोध गर्नु त झन् नागरिक कर्तव्य नै हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति

 

यति मामुली कुरा पनि हेक्का नराखी एमसीसीको शान्तिपूर्ण विरोधमा संलग्न भएकाहरूमाथि तपाईंले गत साता बल प्रयोग गरी थुन्नुभयो । निर्ग नवीन जस्ता युवाहरूले एमसीसीको विरोध गरिरहँदा तपाईं तर्सिनुभएको छ । तपाईंलाई सबैभन्दा बढी डर कसैबाट छ भने आफ्नै जनताबाट रहेछ भन्ने यहींबाट पुष्टि हुन्छ ।

गृहमन्त्रीज्यू हामीले बिर्सेका छैनौं- २०७३ कात्तिक २१ गते रिपोर्टर्स क्लबमा तपाईंले यसैगरी सर्वभौम नागरिकमाथि धावा बोल्नुभएको थियो । त्यतिबेला भन्नुभएको थियो- भारत र चीन विरोधी गतिविधि हुन दिंदैनौं ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण भर्खरै सकिएको समय थियो त्यो । छिमेकी शक्तिलाई आफ्नो भक्तिभाव दर्शाउन कुनै कसर बाँकी राख्नुभएन तपाईंले । आज यही कुरा विज्ञप्तिबाट दोहोर्‍याउनुभएको छ ।

पदमा हुँदा मात्र होइन, नहुँदा पनि तपाईं जनताको हुर्मत लिइरहनुहुन्छ । २०७७ साउनमा बुटवलमा आफ्ना छिमेकी खिमबहादुर हमालको घर भत्काएको विरोधमा उपमहानगर विरुद्ध कुर्लिनुभएको थियो ।

‘ए मलाई नसोधी मेरो छिमेकीको घर भत्काउने ?’ तपाईं यस्तै यस्तै भनेर जङ्गिनुभएको थियो ।

छिमेकीको घर भत्काउँदा बोल्ने तपाईं सुशील कोइराला प्रधानमन्त्री हुँदा घटेको टीकापुर काण्डमा मौन हुनुभयो । त्यसपछि बहुलट्ठी पाराले थारू बस्तीका सयौं घर जलाएको हामीले बिर्सिएका छैनौं । त्यतिबेला तपाईंको मुखमा कसले ताल्चा लगाइदियो ?

रोचक त के भने झण्डै ६० लाख युवा विदेशमा छन् । बाँकी घरमा भएका सदस्यलाई आज तपाईंले दिनदहाडै धम्की दिनुभएको छ । सामान्य अर्थमा हेर्ने हो भने गृह मन्त्रालय भनेको घर बराबर हो । सबैभन्दा महत्वपूर्ण मानिने मन्त्रालयको विज्ञप्तिले घरभित्र र बाहिर हुने सबैलाई मर्माहत तुल्याएको छ ।

मलाई त यो देश कहिल्यै पनि आफ्नो घर जस्तो लागेन । शत्रुको पञ्जामा परेको निरीह मानिस जस्तै बाँच्नुपरेको मानिसलाई कसरी घर जस्तो लाग्छ । विदेशमा लाश बनेर फर्किन समेत तपाईंहरूको आदेश चाहिने ठाउँ कसरी घर हुन्छ !

आज घरको ताल्चा-साँचो तपाईंको हातमा छ । तर ख्याल राख्नुस्, नेपाल भन्ने देश तपाईंको मात्र घर होइन । यो घर तपाईंको बलबुताले बनेको पनि होइन । अनि विदेशी खरानीको लोभमा घर पोल्ने बुद्धि कतिको सान्दर्भिक हो आफैं सोच्नुहोला । होइन भने यो घरमा तपाईंको जत्तिकै हाम्रो पनि हक छ ।

बालकृष्ण खाँणज्यू ! के हामी पनि यो घर भत्काएर मुक्तिको उद्घोष गरौं !

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?