+
+

बेँसीशहर–चामे सडकखण्ड मर्मतमा ढिलाइ

रासस रासस
२०७८ भदौ २३ गते १४:००

२३ भदौ, मनाङ । अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्ड पुनःनिर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डको धेरै ठाउँमा क्षति पुगेको छ ।

सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यसवर्ष बाढीबाट धेरै क्षति भएको छ । बाढीका कारण स्थानीयवासीको उठिबास भएको छ भने विभिन्न पूर्वाधार बगाएको छ ।

बाढीले सदरमुकामस्थित मर्स्याङ्दी नदीमाथिको पुल बगाउँदा हिँडडुल गर्न समेत समस्या भएको छ । बाढीबाट पुर्‍याएको क्षति हेरेर सरकारले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ ।

स्थानीयवासीलाई राहत उपलब्ध गराउन तथा पूर्वाधार निर्माण गर्न समस्या भएको छ । चामे सडक मर्मतका लागि डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको छ । सडक मर्मत गर्न रु एक करोड ९२ लाख खर्च हुने कार्यालयका इन्जिनियर सुमन अधिकारीले जानकारी दिए । साउन अन्तिममा सूचना जारी गरेपछि उत्तरगया कन्स्ट्रक्सनले ५५ प्रतिशत घटेर भ्याटसहित ९१ लाख रुपैयाँमा काम गर्ने जिम्मा लिएको छ ।

असोजसम्म मर्मतको काम सक्नेगरी ठेकेदारसँग सम्झौता भएको हो । अहिलेसम्म कामको प्रगति हुन सकेको छैन । नासों गाउँपालिका–३ खोत्रोदेखि तिमाङसम्मको सडक खण्डमा सबैभन्दा बढी क्षति भएको छ । उक्त सडकखण्डमा ठेकेदार काम नगरेको वडाध्यक्ष मीनबहादुर गुरुङ बताउँछन् ।

‘मर्मतको काम केही भएको छैन’ उनले भने । सडक पूर्णरुपमा अवरुद्ध भएकाले बेँसीशहर–मनाङम्म खण्डमा सवारीसाधन चल्न सकेका छैनन् । यातायात ठप्प भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्न सकिएको छैन ।

‘खच्चड र भरियाको भरमा सामान ढुवानी गर्नुपरिरहेको छ । त्यही पनि सहज छैन । बाढी पहिरोको जोखिम छ,’ नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने, ‘सडक ममर्तको काममा ढिला हुँदा जनजीवन प्रभावित बनेको छ ।’

समयमै सडक मर्मत नुहँदा खाद्यान्न सङ्कट हुने अवस्था छ । सडक मर्मतका लागि ठेक्का लगाएपनि काम भए/नभएको हेर्ने कुनै निकाय छैन । बाढीपहिराबाट पुगेको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले हालै निरीक्षण गरेका थिए ।

स्थानीयवासी राम गुरुङ भन्छन्, ‘सडक छिटो बनाउनुपर्छ भन्नेतर्फ कसैको चासो छैन । सडक सञ्जाल नहुँदा आवतजावत मात्रै होइन विकास निर्माण र भौतिक संरचना निर्माणका सामग्री ल्याउन सकिएको छैन । कसले बुझिदिने होला खै ?’

कम मूल्यमा ठेक्का लगाउने र काम नगर्ने प्रवृत्तिले सडक मर्मतमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । तर सडक मर्मतको काम भइरहेको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले दाबी गरे ।

‘वर्खाका कारण समयमै काम पूरा गर्न कठिन भएको छ । एक ठाउँमा बनायो अर्को ठाउँमा भत्किने समस्या छ’ उनले भने, ‘दशैं अगावै मनाङ सदरमुकामसम्म सवारीसाधन सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ ।’

माथिल्लो र तल्लो मनाङलाई जोडनका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माण गर्न थालिएपछि भने स्थानीयवासी खुशी छन् । माथिल्लो मनाङमा खाद्यान्न अभाव हुँदा मुस्ताङको मुक्तिनाथबाट थोराङ्ला पास (५५४८ किमी अग्लो स्थान) हुँदै खाद्यान्न सामग्री ल्याइएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?