+
+
नियात्रा :

माइकल ज्याक्सनको घर खोज्दै जाँदा

उत्तम भौकाजी उत्तम भौकाजी
२०७८ भदौ २६ गते १९:३५

चैत महीना । रातको १२ बजे । कतार एअरवेजको विमानले त्रिभुवन विमानस्थलको धवनमार्ग छाड्यो । क्रमशः आकाशिंदै गरेको विमानबाट हामीले एक झलक काठमाडौंलाई नियाल्यौं । मध्यरातमा पनि चूपचाप जाग्राम बसे झैं लाग्यो, यो शहर । बिजुली बत्तीले धपक्कै बलेको । यस्तो दृश्य देख्दा स्वतस्फूर्त कुलमान घिसिङप्रति मनमा श्रद्धाभाव पैदा हुने ।

रात गुजि्रंदैछ । तर, आँखामा निद्रा छैन । विमानको यात्रा त्यति नौलो नभएकाले खास रोमाञ्चकता वा उत्सुकता पनि छैन । बरु, हवाई यात्रामा मलाई कताकता तनाव हुन्छ । जहाज अवतरण नगर्दासम्म मनमा त्रासदीले डेरा जमाइरहन्छ ।

मेरो ब्रहृमले भन्छ, केही हुन्न । यद्यपि जिन्दगीप्रति कता-कता भय, कता-कता लोभ जागिरहन्छ । केही भइहाल्यो भने ! मन आत्तिन्छ ।

जहाजभित्र मन बहलाउन अनेक कुरा छन् । मदहोश भएर यात्राको आनन्द पनि लिन सकिन्छ । त्यहाँ हृवीस्की, रम, भोड्का, बियर अनेकथरी पेय छन् । तर, मलाई यसमा कुनै रस छैन ।

यात्राभर मेरो आँखा जागा बस्छ । मन डराइरहन्छ ।

करीब साढे पाँच घण्टाको उडानपछि कतारको हामाद विमानस्थलमा जहाजले धर्ती टेक्छ । काठमाडौंबाट कतार जाने जहाजमा यात्रुको भीड नै हुन्छ । कोरोनाको सन्त्रासले सताइरहेकै छ । खोप लगाएको छैन । त्यति लामो यात्रा गर्नुछ । त्यो पनि परिवारसहित ।

साढे तीन घण्टाको ट्रान्जिट समय पार गरेपछि पुनः कतार एअरवेजले उडान भर्छ । र, यो जहाज अमेरिकालाई गन्तव्य बनेर आकाशिन्छ ।

कतारबाट उड्दै गर्दा त्यहाँ उज्यालो थियो । वासिङटन डिसीको डूलास विमानस्थलमा अवतरण गर्दासम्म रात पर्दैन । अर्थात् चौध घण्टा उज्यालोको-उज्यालै ।

डूलास विमानस्थलमा भाइ सञ्जय बुहारी सहित आएका छन्, हामीलाई स्वागत गर्न । उनीहरूको हातमा बुके छ । इमिग्रेसनको जाँच सकेर मेरिल्यान्डतर्फ हुँइकिन्छौं । दुई घण्टापछि हामी मेरिल्यान्ड पुग्छौं । निद्रा र थकानले हामीलाई निकै गलाएको छ । हामी फ्रेस भएर आराम गर्छौं ।

यसपालिको यात्रा विगतको भन्दा केही विशेष हुनेछ भनेर मैले छनक पाइसकेको छु । अमेरिकामै बसोबास गरिरहेका छोरा र छोरीले पारिवारिक भ्रमणको तारतम्य मिलाइसकेका छन् ।

भोलिपल्ट हामी भतिजी जागृति र ज्वाइँसँगै वासिङ्टन डिसीको फन्को लगाउन निस्कियौं । मलाई वासिङटन डिसी जहिले पनि नयाँ लाग्छ । एक-दुई दिन थकाइ मार्दैै, घुम्दै पाँच दिन वितायौं । त्यसपछि फ्रन्ट एअरवेजबाट अस्टिनमा ओर्लियौं ।

अस्टिन । यो शहरले मलाई मोहनी लगाएको छ । सधैं उस्तै मस्त जवान लाग्छ । हरियाली, सफा, स्वच्छ शहर । टेक्सासको मात्र होइन, अमेरिकाकै उत्कृष्ट शहर रहेछ अस्टिन । त्यसमाथि छोरी-ज्वाइँ बसेको ठाउँ । यो ठाउँसँग बेग्लै आत्मीयता जोडियो । यसपालि कोभिडको कारण घरबाटै काम गर्ने सुविधा पाएको छोरो पनि बहिनीसँगै अस्टिनमा बस्न आइपुगेको छ ।

यो धनाढ्यहरूले रसरंग साट्ने शहर । यहाँ कुबेरहरू आउँछन् र जीवनको अनेक स्वाद भोग गर्छन् । रातभर चल्ने जुवाघरदेखि रेस्ट्रो एवं बारहरूले हरदम आगन्तुकको स्वागत गरिरहेको हुन्छ

घरमा बस्दा-बस्दा दिक्क लागेका उनीहरू लामो बिदा लिएर ममी-ड्याडको साथ पारिवारिक भ्रमणमा रमाउने योजनामा छन् । कहाँ घुम्ने, कति दिन घुम्ने भनी तय गरिसकेका छन् । सम्बन्धित ट्राभल र होटलका टिकट लिइसकेका छन् ।

छोरा, छोरी र ज्वाइँले यात्रा-तयारीको गाँठो फुकाउँदै गए, सुनेर म मक्ख पर्दै कल्पनामा रमाउँदै गएँ । १५ दिनको सुखद बसाइपछि हामी एक रोमाञ्चक यात्रामा निस्कियौं ।

भेगासको त्यो रात

रातको १० बजे । हामी अमेरिकन एअरलाइन्सको उडानबाट लस भेगास ओर्लिएका छौं । यस्तो लाग्दैछ, हामी प्रकाश पुञ्जभित्र प्रवेश गर्दैछौं । सर्वत्र झिलिमिली छ ।

एक आरामदायक गाडीमा हामी होटल पुग्यौं । बाटोमा देखिएका रंगीविरंगी दृश्यले मन लोभ्याइसकेको छ । यो शहर रातमा मस्त जाग्छ । तर, हामी भने थकानको कारण न्यानो विछ्यौनामा विश्राम लिन्छौं ।

बिहान उठ्दा लस भेगासको चमक उडिसकेको थियो । त्यो बिजुली बत्तीमा चम्किरहेको शहर दिनको उज्यालोमा फिका देखियो । यसमा कुनै रौनक नै छैन ।

यो धनाढ्यहरूले रसरंग साट्ने शहर । यहाँ कुबेरहरू आउँछन् र जीवनको अनेक स्वाद भोग गर्छन् । रातभर चल्ने जुवाघरदेखि रेस्ट्रो एवं बारहरूले हरदम आगन्तुकको स्वागत गरिरहेको हुन्छ ।

जति-जति रात पर्दै जान्छ, भेगासको घुम्टो उघ्रिदै जान्छ । जताबाट हेरे पनि यो भर्जिन, एक नवजवान कुमारी जस्तै । कलकलाउँदो शहर । बेपरवाह मनोरञ्जन गर्ने मूडमा प्रशस्त पैसा र समय भएकाहरू यहाँ थुपि्रन्छन् । सबै आ-आफ्नै धुनमा छन् । कसैलाई कसैको मतलब छैन ।

सडक किनारमा कोही आफैंमा मस्त चटके पात्र, कोही अर्धनग्न टपलेस पहिरनमा सजिएका, कोही मदिराले लट्ठ भएर हिंडिरहेका । कस्तो अनौठो शहर !

भवनको वास्तुशिल्प र युरोपको शैलीले यसलाई भिन्न बनाएको छ । भेनिस शहरको कल्पनामा बनाइएको एउटा भवनभित्र बनाइएको संरचना देखेर म चकित पर्छु । के यस्तो पनि संभव छ ?

उत्तम भौकाजीको टोली ।

लेक टावाको प्राकृतिक सौन्दर्य

भेगासबाट दिनभरको यात्रापछि लेक टावा पुगियो, साँझपख । चारैतिर घना जंगल, विशाल जलाशय । डाँडाकाँडा । अनि रमणीय सानो शहर । आगन्तुकको रोज्जा गन्तव्य रहेछ, यो ।

बाटोमा हिंडिरहँदा एउटा सूचनाले भने मनमा भय पैदा गर्ने । जताततै लेखिएको छ, ‘भालुबाट सतर्क रहनु ।’ कुनै थ्रिलर फिल्म हेरेर रमाए जस्तै यहाँको यात्रामा पनि त्रास र रोमाञ्चक मिसिन्छ । केही डर, केही रमाइलो ।

एअर बी एन्ड बी (निजी घरलाई होटलको सुविधासम्पन्न बनाएको)को भित्री वातावरण अनि उपलब्ध सुविधाले मन उल्कै रमाउँछ । अत्याधुनिक शौचालय, आकर्षक कोठा, भान्सा आदिले विछट्टै आनन्द दिने ।

पश्चिमको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा मःम खान पाइयो । आफ्नै माटोमा टेकेको अनुभूत भयो ।

सान्ता वार्वाराले मोहनी लगायो

सान  फ्रान्सेस्को शहर, जहाँ कहिल्यै पानी पर्दैन । वर्षेनि यहाँ खडेरी र आगलागीका घटना दोहोरिने गर्छ । जबकि शहरको मध्यभागमा विशाल समुद्र छ । यही समुद्र र गोल्डेन गेटले मोहनी लगाउँछ ।

यही शहरलाई यसपटक पनि दोहोर्‍याएर हेर्दै लस एन्जलस जाने क्रममा सान्ता वार्वारा एक रात बसियो । ओहो ! यो ठाँउको विरासत वेग्लै पाएँ । शान्त अनि एउटा वेग्लै चमक, साँझको रौनक र उज्यालोमा पनि उत्तिकै सुन्दर एक-दुई दिन यहाँ हराउनुको मज्जा वेग्लै हुँदो हो ! तर समय सीमाले हामीलाई त्यो अवसर यो पटक जुराएन र फेरि फेरि घुम्नै परे दोहोर्‍याउने सूचीमा राखेको छु – यो शहर ।

माइकल ज्याक्सन खोज्दै

कला-साहित्यको पारखी म । अमेरिका गएको बखत हलिउड अनि त्यहाँका सेलिब्रेटीले पनि मलाई लोभ्याउँछ । उनीहरू कस्ता होलान् ? कस्तो जीवनशैली विताउँछन् होला ? उत्सुकताले तँछाडमछाड गरिरहन्छ ।

हलिउड पुगेपछि मलाई झट्ट माइकल ज्याक्सनको सम्झना आयो । १२ वर्षअघि नै उनको निधन भइसक्यो । हामीले बाँचेको युगका एक महान् हस्ती उनी । संगीत र नृत्यका एक अब्बल जादूगर । मलाई उनको घर हेर्ने रहर जाग्यो ।

छोरी प्रियंकालाई गुगल सर्च गर्न लगाएँ, कहाँ पर्छ माइकल ज्याक्सनको घर भनी । गुगलले देखाएको संकेत पछ्याउँदै जाँदा हामी एउटा घरको सामुन्ने पुग्यौं । त्यो अलि पुरानो घर थियो र अग्लो पर्खालले घेरिएको थियो । हामीले अनुमान लगायौं, कुनै जमानामा माइकल ज्याक्सन यही घरमा थिए होलान् ।

रहस्यमयी एल्लो स्टोनका गाइजरहरू

जे छ प्राकृतिक वा अप्राकृतिक, त्यो सबै अमेरिकामै देख्न पाइन्छ । सुक्खा भुईंबाट निरन्तर तातो वाफ आइरहेछ । हेर्दा नीलो देखिन्छ, शायद ज्वालामुखीको अवशेष अझै बाँकी छ वा कुनै समयपछि फेरि यो विस्फोटको तयारीमा छ ।

अचम्म, कति ठाउँ यस्ता छन् जहाँ कुनै निश्चित समयमा पानीको फोहोरा उठ्ने गर्छ । त्यो दृश्य कैद गर्न आगन्तुकहरू क्यामेराको लेन्स सोझ्याएर बसिरहेका छन् । कतै भकभक उम्लिरहेको पानीको विशाल रंगीन पोखरी छ । प्रकृति कति विचित्र !

मलाई लाग्थ्यो, अमेरिका भनेको अत्याधुनिक शहरहरूको देश हो । उच्चतम सुविधा र आधुनिक संरचनाहरूको भण्डार हो । न्यूयोर्क, सिकागो र वासिङटन डिसी घुमेपछि अमेरिकाको सम्पूर्ण रंग देखिन्छ, म यस्तै सोच्थें ।

तर, अमेरिका मेरो कल्पनाको दायराभन्दा अरू कता हो कता फराकिलो रहेछ ।

जति घुमे पनि नसकिने, जति हेरे पनि नथाकिने । आखिर, अमेरिका घुम्दा-घुम्दै हामी नेपाल र्फकने दिन पनि आयो । र्फकनुअघि छोरो बसोबास गरेको आइडाहोमा पाहुना लाग्यौं । हामीलाई त्यहाँ निमन्त्रण गरेका थिए, छोराकै साथीहरूले ।

उनीहरूले हामीलाई भोज दिए, गीत सुनाए, नाचगान गरे । आफ्नै घरआँगन जस्तै अनुभूत गराए । उनीहरूको हार्दिकताले हामी पग्लियौं ।

विदेशी माटोमा हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी, छोराछोरीहरू कति आत्मीय सम्बन्धमा बसेका छन्- उनीहरूलाई देख्दा मन यसै यसै उमंगित हुँदोरहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment