News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउडमा ‘माइकल’ बायोपिकले पहिलो सातामै विश्वभर २१७ मिलियन डलर कमाएर बायोपिक विधामा नयाँ कीर्तिमान बनाएको छ।
- फिल्मले ‘रोटेन टोमाटोज’मा ३८ प्रतिशत सकारात्मक समीक्षा पाएको भए पनि दर्शकबाट ‘सिनेमास्कोर’मा ‘ए–’ ग्रेड प्राप्त गरेको छ।
- ‘माइकल’ फिल्मले ज्याक्सनको विवादित जीवनका पक्ष कानुनी कारणले हटाएको र अर्को भाग बन्ने सम्भावना रहेको बताइएको छ।
लस एन्जलस । हलिउड बक्सअफिसमा नयाँ ‘राजा’ को उदय भएको छ । ‘माइकल’ नामक फिल्मले प्रदर्शनको पहिलो सातामै असाधारण कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको हो ।
पप सम्राट माइकल ज्याक्सनको जीवनमा आधारित यस बायोपिकले पहिलो सप्ताहन्तमै अमेरिकामा ९७ मिलियन डलर र विश्वभर २१७ मिलियन डलर कमाएको छ । यो उपलब्धि बायोपिक विधामा अहिलेसम्मकै सबैभन्दा ठूलो सुरुआत मानिएको छ ।
यसअघि ‘स्ट्रेट आउट्टा कम्टन’ ले ६० मिलियन डलर र ‘बोहेमियन र्याप्सोडी’ ले ५१ मिलियन डलरको ओपनिङ गरेका थिए । रिलिजअघि फिल्मको ओपनिङ ५०–६० मिलियन डलर हुने अनुमान गरिएको थियो । तर, प्रदर्शन नजिकिँदै जाँदा दर्शकको उत्साह बढ्दै गयो र अन्ततः अपेक्षाभन्दा धेरै ठूलो कमाइ भयो ।
समीक्षकबाट भने फिल्मले कमजोर प्रतिक्रिया पाएको छ । ‘रोटेन टोमाटोज’मा केवल ३८ प्रतिशत समीक्षा सकारात्मक छन् । तर दर्शकले भने फिल्मलाई निकै मन पराएका छन् । ‘सिनेमास्कोर’मा यसले ‘ए–’ ग्रेड पाएको छ ।
एन्टोइन फुक्वा निर्देशित यो फिल्मले ज्याक्सनको बाल्यकालदेखि ‘ज्याक्सन ५’ हुँदै विश्वकै ठूलो मनोरञ्जनकर्मी बन्नेसम्मको यात्रा देखाउँछ । मुख्य भूमिकामा उनका वास्तविक भतिजा जाफर ज्याक्सन छन् । उनका बुवा–आमाको भूमिकामा कोलम्यान डोमिङ्गो र निया लङ देखिएका छन् ।
फिल्ममाथि एउटा मुख्य आलोचना पनि आएको छ । केही समीक्षकले यसले ज्याक्सनको जीवनका विवादित पक्ष समेट्न नसकेको बताएका छन् । सुरुमा सन् १९९३ को यौन दुव्र्यवहारसम्बन्धी मुद्दा कथामा राखिएको थियो । तर कानुनी कारणले ती दृश्य हटाइएको जनाइएको छ । अहिले फिल्मको अन्त्य सन् १९८८ को ‘ब्याड टुर’मै सीमित छ । यसलाई अगाडि बढाउँदै अर्को भाग बन्ने सम्भावना पनि देखिएको छ ।
करिब २०० मिलियन डलर लागतमा बनेको ‘माइकल’ अहिलेसम्मकै महँगो बायोपिकमध्ये एक हो । लायन्सगेट, युनिभर्सल र माइकल ज्याक्सनको सम्पत्ति व्यवस्थापन समूहले संयुक्त रूपमा लगानी गरेका हुन् । सुरुआती कमाइ हेर्दा फिल्मले आफ्नो लागत सजिलै उठाउने संकेत देखिएको छ ।
बक्स अफिसमा अहिले ‘माइकल’ एक्लै हाबी छ । यसअघि शीर्ष स्थानमा रहेको ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ दोस्रो स्थानमा झरेको छ । ‘प्रोजेक्ट हेल मेरी’ तेस्रो स्थानमा छ । अन्य फिल्मको कमाइ भने कमजोर देखिएको छ ।
समग्रमा पछिल्लो समय लगातार हिट फिल्म आएपछि हलिउड बक्स अफिस फेरि चलायमान बन्दै गएको छ । आगामी दिनमा नयाँ ठूला फिल्म प्रदर्शनमा आउँदैछन्, जसले व्यापार अझ बढ्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4