News Summary
Generated by OK AI. Editorially reviewed.- लायन्सगेटले माइकल ज्याक्सनको जीवनकथा समेटिएको बायोग्राफी फिल्म 'माइकल' को नयाँ ट्रेलर सार्वजनिक गरेको छ।
- फिल्ममा माइकलको बाल्यकालदेखि सुपरस्टार बन्नेसम्मको यात्रा र जीवनका उतारचढाव देखाइनेछ।
- फिल्म २४ अप्रिल २०७९ मा विश्वभर प्रदर्शनमा आउनेछ र ज्याक्सन परिवारको पूर्ण समर्थनमा निर्माण गरिएको हो।
‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा देख्न पाइने भएको छ ।
लायन्सगेटले माइकल ज्याक्सनको बहुप्रतिक्षित बायोग्राफी फिल्म ‘माइकल’ को नयाँ ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा उनको बाल्यकालको ‘ज्याक्सन फाइभ’ समूहदेखि विश्वकै चर्चित सुपरस्टार बन्नेसम्मको यात्रालाई देखाइनेछ ।
फिल्मले माइकलको सांगीतिक जादु र उनको जीवनका विभिन्न उतारचढाव तथा विवादहरूलाई पनि समेट्ने प्रयास गरेको छ ।
फिल्ममा ज्याक्सनको भूमिका उनकै आफ्नै भतिजा जाफर ज्याक्सनले निर्वाह गर्दैछन् । मुख्य कलाकारको रूपमा जाफरको यो पहिलो ठूलो फिल्म हो । फिल्मलाई ‘ट्रेनिङ डे’ र ‘द इक्वेलाइजर’ जस्ता सफल फिल्मका निर्देशक एन्टोनी फुक्वाले निर्देशन गरेका हुन् ।
यसको पटकथा ‘ग्ल्याडिएटर’ र ‘राङ्गो’ जस्ता चर्चित फिल्म लेख्ने जोन लोगनले तयार पारेका हुन् । निर्देशक फुक्वा यस फिल्ममा जाफरको अभिनयलाई लिएर निकै ढुक्क देखिन्छन् ।
उनले पिपुल पत्रिकासँग कुरा गर्दै जाफरको प्रशंसामा यस्तो भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, जाफरले माइकलको स्वरूपलाई पूर्ण रूपमा उतारेका छन् । यो शारीरिक समानताभन्दा धेरै माथिको कुरा हो । जाफरको अभिनयमा माइकलको आत्मा नै झल्किएको जस्तो लाग्छ, जुन एकदमै जादुमयी छ । यो विश्वास गर्नको लागि तपाईंले आफैँले हेर्नुपर्ने हुन्छ ।’
फिल्मको आधिकारिक जानकारी अनुसार यो केवल एउटा चलचित्र मात्र नभई विश्वकै प्रभावशाली कलाकारको जीवन र उनले छोडेर गएको विरासतको चित्रण हो । यसले ज्याक्सनको जीवनलाई संगीतको घेराभन्दा बाहिर गएर हेर्ने प्रयास गरेको छ ।
‘ज्याक्सन ५’ को मुख्य गायकका रूपमा उनको अद्भुत प्रतिभा कसरी पहिचान भयो भन्ने कुरा फिल्ममा देखाइनेछ । एक दुरदर्शी कलाकारका रूपमा उनले विश्वकै सबैभन्दा ठूलो मनोरञ्जनकर्ता बन्नका लागि गरेको अथक प्रयास र उनको सिर्जनात्मक महत्वाकांक्षालाई फिल्मले पछ्याएको छ । दर्शकले माइकलको मञ्च बाहिरको निजी जीवन र उनका केही ऐतिहासिक एकल प्रस्तुतिलाई नजिकबाट नियाल्न पाउनेछन् ।
यो फिल्मलाई ज्याक्सन परिवारको सम्पत्ति हेरचाह गर्ने संस्था ज्याक्सन स्टेटको पूर्ण समर्थन र सहयोगमा निर्माण गरिएको हो । यो लायन्सगेट र जिके फिल्म्सको संयुक्त प्रस्तुति हो । यो फिल्म २४ अप्रिलमा विश्वभर प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया 4