+
+
संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीको बयान :

‘तेजबहादुर मात्र मार्न खोजेको थिएँ, अरूले देखेपछि सबैलाई सिध्याएँ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १८:५४

२६ भदौ, काठमाडौं । संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए ।

तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् ।

कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।

के हो हत्याको कारण ?

तेजबहादुरलाई हत्या गर्नुपछाडि पनि बलियो कारण प्रहरीले खुलाउन सकेको छैन । तर लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको प्रहरी बताउँछ ।

पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।

‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यही रिसले हत्या गरेछन् ।’ उनी मानिसक रोगीसमेत भएको प्रहरी बताउँछ । स्रोत भन्छ, ‘एक वर्ष अघिदेखि औषधि खाइरहेको भेटिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?