+
+

कामचोर गणित शिक्षकको अनौठो बहाना, तीन वर्षमा ७६९ दिन बिदा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १३:३८

आमरुपमा कतिपय स-साना केटाकेटीहरु स्कुल जानै मन गर्दैनन् र स्कुल जान नपरोस् भनेर अनेक खालका बहाना बनाउँदछन् । तर इटालीमा भने विद्यार्थीले होइन शिक्षकले नै बहानाबाजीको हद पार गर्दै तीन वर्षमा ७६९ दिन बिदा लिएर स्कुलमा अनुपस्थित भए ।

गणित विषयका ती शिक्षकले बिदा बस्नका लागि यस्ता यस्ता बहाना बनाए कि सुन्दैमा अनौठो लाग्दछ । स्कुलमा तीन वर्ष जागिर गर्दा झण्डै दुई वर्षसम्म त उनी अनुपस्थित नै रहे ।

इटालीको सिसिलीमा बस्ने ४७ वर्षका उनले पोर्डेनोनस्थित एक विद्यालयमा जागिर खाए । जागिर सुरु गरेको केही दिन स्कुल आएपछि उनले अनेक खालका बहाना बनाएर बिदा लिन सुरु गरे । सुरुमा उनले बिरामी भएको भनेर धेरै दिनसम्म बिदामा बसे । त्यसपछि आफ्नो सानो बच्चाको हेरचाह गर्नका लागि भन्दै बिदा लिए ।

उनी लगातार बिदामा बस्न थालेपछि विद्यालय पनि एक्सनमा उत्रियो र उनीसँग बिरामी भए नभएको यकिन गर्नका लागि डाक्टरको सर्टिफिकेट माग्यो । तर उनले मेडिकल सर्टिफिकेट दिन आनाकानी गरे । विद्यालयले ताकेता गरेपछि उनले आफ्ना पारिवारिक चिकित्सकले तयार गरेको नक्कली बिरामी प्रमाणपत्र पेस गरे ।

जब ती शिक्षकले तीन वर्षमै ७६९ दिन बिदा लिए अर्थात् सार्वजनिक बिदासमेत गरी एक हजार ९५ दिन स्कुलमा अनुपस्थित रहे तब विद्यालयले प्रहरीमा उजुरी गर्‍यो । यस अवधिमा उनले ४५९ दिन बिरामी बिदा र ३१० दिन बच्चा स्याहार बिदा लिएका थिए ।

द सनमा प्रकाशित रिपोर्ट अनुसार प्रहरीले उक्त घटनाको अनुसन्धान अगाडि बढाएसँगै अनौठो तथ्य फेला पर्‍यो । ती शिक्षकले विद्यालयबाट बिदा लिएर अर्को ठाउँमा जागिर गरिरहेका रहेछन् । उनले कन्सल्टेन्सीको काम गर्दथे र विभिन्न कम्पनीसँगको सम्झौता बमोजिम इटालीका विभिन्न ठाउँमा यात्रा गर्दथे । विद्यालयमा बिदा लिएर गरेको अर्को जागिरबाट उनले ९७ हजार युरो रकम कमाएका रहेछन् ।

अनौठो त के भने बिरामी भएको वा घरमा बच्चा हेर्नुपरेको भन्दै स्कुलबाट तलबी बिदा लिएका उनले उल्टै स्कुलसँग थप १३ हजार युरो भुक्तानी दाबी गरेका थिए ।

अनुसन्धानबाट उनको बदमासी पुष्टि भएसँगै यो मामिला अदालतमा पुगेको छ र अदालतले त्यस अवधिमा उनले स्कुलबाट लिएको तलब भत्ता र थप दाबी बापतको रकमसमेत जफत गर्न आदेश दिएको छ । गोपनियताका कारण ती शिक्षकको नाम भने खुलाइएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?