
२६ भदौ, काठमाडौं । सिंगापुरमा फुटबल खेलेका लाकेन लिम्बु ए डिभिजन क्लब थ्रीस्टारमा अनुबन्ध भएका छन् ।
पाटने क्लब थ्री स्टारले १९ वर्षीय मिडफिल्डर लाकेनलाई अनुबन्ध गरेको हो । थ्रीस्टारले लाकेनलाई लामो समयका लागि अनुबन्ध गरिएको जनाएको छ तर कति समय र अनुबन्ध रकम भने खुलाएको छैन ।
आगामी कात्तिक २९ गतेदेखि सुरु हुने ए डिभिजन लिगलाई लक्षित गर्दै थ्री स्टारले खेलाडी अनुबन्ध गरिरहेको छ । सिंगापुरमा हुर्किएका लाकेन पहिलो पटक नेपालको ए डिभिजनको क्लबमा अनुबन्धित भएका हुन् ।
लाकेनले यसअघि सिंगापुरको एफ १७ फुटबल एकेडेमी र अष्ट्रेलियन न्युजिल्याण्ड सकर एकेडेमी (एएनजेडए सकर एकेडेमी) बाट खेलेका थिए ।
उनी १२ वर्षको उमेरमा एफ १७ एकेडेमीमा आबद्ध भएका थिए । त्यहाँ ३ वर्ष बिताएपछि लाकेन एएनजेडए सकर एकेडेमीमा पुगे जहाँ उनले ३ वर्ष खेले । एकेडेमीमा रहँदा उनले स्वीडेन, मलेसिया र स्पेनमा फुटबल खेल्न गएका थिए । लाकेन नेपाल आएर मोफसलका केही प्रतियोगिता समेत खेलेका छन् ।
उनले एकेडेमीबाट ग्रयाजुएट भएपछि नेपालमै आएर खेल्ने सोचेको र थ्री स्टारमा अनुबन्ध हुँदा खुशी लागेको बताएका छन् । ‘थ्री स्टार क्लबसंग जोडिन पाउँदा र प्रतिष्ठित क्लबबाट मेरो व्यवसायिक करियर सुरु गर्न पाउँदा खुशी लागेको छ । म आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि उत्साहित छु र मेरो क्लका लागि उत्कृष्ट दिनेछु ।’ लाकेनले भनाई उदृत गर्दै थ्री स्टार क्लबले जनाएको छ ।
थ्री स्टारले यसअघि राष्ट्रिय टिमका युवा मिडफिल्डर आयुश घलान, मिडफिल्डर डोना थापा र क्यामरुनी डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरिसकेको छ ।
यस्तै क्लबले कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निशान खड्का, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी र सुशान्त श्रेष्ठसंग सम्झौता नवीकरण गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4