+
+

३३ महिनाअघि शिलान्यास गरेको सडक अझै अधुरै

जनक विष्ट जनक विष्ट
२०७८ भदौ २६ गते १७:२३

२६ भदौ, धनगढी । ७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको वीपीनगरमा बोगटान– सहजपुर सडक कालोपत्रे शिलान्यास गरेका थिए ।

त्यतिबेला ३० महिनाभित्र कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भए पनि ३३ महिना बितिसक्दा स्थानीय वासिन्दा अझै धुलाम्मे र हिलाम्मे सडकको यात्रा गर्न विवश छन् ।

डोटीको बोगटान र कैलालीको सहजपुर सँग जोड्ने ५० किलोमिटर लामो सडक ३० महिनाभित्र सम्पन्न गर्ने गरी पीएलआर–कुमार जेभीसँग ठेक्का सम्झौता भएको थियो । ३० महिनाभित्र काम नसकिएपछि थपिएको ६ महिनाको म्याद सकिने समय नजिकिँदै गर्दा पनि सडक उस्तै छ ।

‘तत्कालिन प्रधानमन्त्रीज्यूूले हेलीकप्टरमार्फत विपीनगर पुुगेर गफ मात्रै दिनुुभयो । वर्षातमा हिलो र सुुख्खायाममा धुुलो खप्नुुपर्ने हाम्रो बाध्यता उस्तै छ,’ कैलालीको चुुरे गाउँपालिका–३ को सहजपुुरका गंगाराम रिजालले भने ।

कालोपत्रे गरिसक्नुपर्ने समयमा ग्राभेलसम्म नभएको सडकमा ठाउँ–ठाउँमा पहिरो खसेर आवतजावत गर्न पनि मुश्किल छ । डोटीको जोरायल गाउँपालिका–५ गड्सेराका बिक्रान्त देउवाले आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरवाही काम हुन नसकेको बताए ।

‘मोटरसाइकलमा यात्रा गर्न सकिने अवस्था नै छैन’ उनले भने, ‘हाम्रो समस्या कसले देख्ने ? ३० महिनामा आधा काम पनि नभएर म्याद थपिएको थियो । फेरि थप्ने कुुरा सुुनिदैछ ।’

सहजपुर–बोगटान सडक आयोजना कार्यालयले भने ठेक्का सम्झौता भएको २७ महिनापछि मात्र रुख कटान आदेश पाएकाले काममा ढिलाइ भएको बताएको छ ।

कार्यालयका प्रमुख उज्वल श्रेष्ठले अहिलेसम्म ४२ प्रतिशत भौतिक प्रगति भएको बताए । ‘वन क्षेत्रको अवरोधका कारण २७ महिनासम्म र प्रतिकुल मौसमका कारण खासै काम गर्न सकिएको थिएन । अहिले सबै अवरोध हटेकाले अर्को वर्षको फागुुनसम्म काम सकिन्छ होला ।’

फेरि एक वर्ष म्याद थप्न माग

ठेकेदार कम्पनीले पहिलो पटक पाएको ३० महिनाको म्यादमा काम नसकेपछि गत असारमा पुनः ६ महिना थप गरिएको थियो । तर निर्माण व्यवसायीले फेरि एक वर्ष म्याद थप्न माग गरेका छन् । निर्माण व्यवसायीले दोस्रो पटक थपिएको समयभित्र काम नसकिने दाबी गर्दै म्याद थप्न माग गरेको सडक आयोजना कार्यालयले जनाएको छ ।

‘निर्माण व्यवसायीले एक वर्ष म्याद थपका लागि निवेदन दिएका छन्,’ आयोजना कार्यालय प्रमुुख श्रेष्ठले भने, ‘हामीले माथिल्लो निकायमा लेखी पठाएका छौं । सम्भवतः थपिन्छ होला ।’

हालसम्म विपीनगर खण्डको ३ किलोमिटर कालोपत्रे गरेको आयोजना कार्यालयले अगामी असार मसान्तसम्म ३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको छ । बाँकी खण्डको काम २०७९ सालको फागुुनभित्र सम्पन्न गर्न सकिने कार्यालय प्रमुख श्रेष्ठले बताए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?