+
+

संसद अवरोध : सभामुखले बोलाए शीर्ष नेताको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १५:३९

२७ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको बातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएका थिए ।

‘हामीमा गरिएको अन्यायबारे प्रष्ट नपारेसम्म संसद् चल्न दिन्नौं’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । एमाले विभाजनमा भूमिका सभामुख सापकोटाले खेलेको एमाले नेताहरुले आरोप लगाए ।

प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरी, नेता खगराज अधिकारी सभामुख सापकोटासँगको छलफलमा बसेका थिए । ‘सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको कुरा प्रष्ट भन्यौं’, भट्टराईले भने ।

सभामुख सापकोटाले विश्वासको वातावरण बनाउने बताएका थिए । तर कानून मन्त्री कार्कीले उच्च राजनीतिक तहमा नै यसबारे छलफल गरिनुपर्ने प्रस्ताव गरेका थिए । यसपछि सभामुख सापकोटाले उच्च तहमा सम्वाद अगाडि बढाउने बताए ।

एमालेले २३ भदौ यता प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । एमाले अवरोधकै बीच चालु आर्थिक वर्ष २०७८÷७९ को संशोधित बजेट समेत पेश भएको छ । तर एमालेको अवरोध कायमै रहेपछि अर्को बैठक २९ भदौसम्मका लागि स्थगित भएको छ ।

एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ जनालाई पदमुक्त गर्ने निर्णय सभामुखले कार्यान्वयन नगरेको भन्दै संसद् अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?