+
+

सप्तरीका स्थानीय तह: औषधि खरीदमा चरम लापर्बाही

श्रवण देव श्रवण देव
२०७८ भदौ २७ गते १७:४८

२७ भदौ, सप्तरी । औषधि व्यक्तिको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने वस्तु हो । बिरामी भएका व्यक्तिलाई निको पार्न औषधि प्रयोग गर्न दिइन्छ । तर, यो औषधि खरीदमा सप्तरीका पालिकाहरुले चरम लापर्बाही गरेको पाइएको छ । जिल्लाका १८ मध्ये १६ स्थानीय तहले लापर्बाही गर्दै प्रक्रिया नै नपुर्‍याई औषधि खरीद गरेको फेला परेको हो ।

आर्थिक बर्ष २०७६-७७ मा जिल्लाका पालिकाहरुले मापदण्ड नै नपुर्‍याई औषधि खरीद गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार पालिकाहरुले खरीद गरेको औषधि कुन कम्पनीबाट खरीद भएको हो त्यसबारेमा पनि उल्लेख गरिएको छैन् ।

सार्वजनिक खरीद नियमावली, २०६४ को नियम ८५ को उप नियम १ (क) मा २० लाखसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरीद गर्न सकिने व्यवएस्था छ । तर पालिकाहरुले यो नियमको खिल्ली उडाएका छन् ।

आपूर्ति हुने औषधि डब्लूएचओ सटिफाइड हुनुपर्ने औषधिको उत्पादन, मिति, व्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित बिषय विज्ञबाट मुचुल्का उठाई राख्नुपर्नेमा त्यस्तो केहि पनि राखेको पाइएको छैन् । खरीद गरिएको औषधि बिक्रीको लागि होइन भनी खुलाएको पनि नपाइएको प्रतिवेदनमा भनिएको छ ।

त्यसबाहेक आपूर्ति भएका औषधि एवं सर्जिकल सामान स्टोर दाखिला हुनुअघि स्पेसिफिकेशन अनुसार भए/नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न नसकिएको महालेखाले जनाएको छ ।

कुन स्थानीय तहले कति रुपैयाँको खरीद गरे औषधि ?

प्रक्रिया नै नपुर्‍याई स्थानीय तहले औषधि खरीद गरेको छ । जसमा सबैभन्दा बढी कञ्चनरुप नगरपालिकाले ६९ लाख ९८ हजार १ सय १ रुपैयाँ को खरीद गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाले रु.३९ लाख ८९ हजार २ सय ५६ को औषधि किन्दा सप्तकोशी नगरपालिकाले रु ३९ लाख ८९ हजार २ सय ४९ को खरीद गरेको छ ।

डाक्नेश्वरी नगरपालिकाले रु. १४ लाख ८५ हजार ७ सय १८ को सोझै र नगरपालिकामा सूचना प्रकाशन गरी रु १९ लाख ९० हजारको औषधि खरीद गरेको छ ।

यस्तै, राजविराज नगरपालिकाले फरक-फरक मितिमा रु.२४ लाख १३ हजार ८ सय १३ , खडक नगरपालिकाले रु.३५ लाख ३७ हजार ७ सय ७१, महादेवा गाउँपालिकाले रु. २९ लाख ९८ हजार ७ सय ८८, राजगढ गाउँपालिकाले रु. २८ लाख ९६ हजार १ सय १०, रुपनी गाउँपालिकाले रु. २१ लख ६३ हजार ६ सय ५२ को औषधि खरीद गरेको छ ।

यस्तै तिरहुत गाउँपालिकाले रु.२१ लाख ८० हजार २ सय ८३, बलान बिहुल गाउँपालिकाले रु. १९ लाख ९७ हजार २ सय ४०, बोदे बर्साइन नगरपालिकाले रु. १९ लाख ९९ हजार ४ सय ४०, शम्भुनाथ नगरपालिकाले रु. १९ लाख ५० हजार ३ सय ९०, सुरुङा नगरपालिकाले रु. १४ लाख ९५ हजार ४ सय ७, छिन्नमस्ता गाउँपालिकाले रु. १४ लाख ४८ हजार ७ सय १८ र तिलाठी–कोइलाडी गाउँपालिकाले रु.१६ लाख १५ हजार ३ सय ८० को औषधि खरीद गरेको छ ।

महालेखा परीक्षकले औषधिको खरीद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुनेगरी अभिलेख राख्न स्थानीय तहलाई सझुाव दिएको छ ।

यस्तै, तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भए/नभएको यकीन गरी हस्तान्तरण तथा खरीद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्न तथा आर्थिक बर्षको अन्त्यमा बाँकी रहेको औषधिहरु जिम्मेबारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिन सुझाव दिएको छ ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?