+
+

७ वटा बैठकमा एमालेको नाराबाजीपछि सभामुखले बल्ल थाले सम्वाद

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ भदौ २७ गते २१:२९

२७ भदौ, काठमाडौं । प्रतिनिधिसभाको लगातार सातवटा बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका छन् ।

भदौ २३ गतेको ३ वटा, भदौ २५ को तीनवटा र आइतबारको पहिलो बैठकमा लगातार नाराबाजी गरेपछि एमालेसँग संवाद सुरु भएको हो । आइतबार पहिलो बैठक स्थगित भएपछि सभामुख सापकोटाले एमाले र सरकारका प्रतिनिधिलाई राखेर छलफल गरेका थिए । त्यसमा सहमतिमा जुटेन, तर एमाले केही लचिलो देखिएको छ । सभामुखले पनि दोस्रो बैठक अवरोधका बीच अगाडि बढाएनन् ।

उनले भोलि सोमबार संसदमा भएका दलहरुको शीर्ष नेताहरुको बैठक समेत बोलाएका छन्

सभामुखले तोडेको परम्परा

३२ साउनमा हठात संसद अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यायो र २ भदौमा एमाले विभाजित भयो । दल विभाजन प्रक्रिया पूरा भएपछि २३ भदौका लागि संसदको अधिवेशन आह्वान गरिएको थियो ।

भदौ २८ गते दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुबीच छलफल राखेका छन् । ‘के सहमतिमा पुग्न सकिन्छ खोजौं र संसदलाई गतिशील बनाऔं भनेर बैठक बोलाइएको हो’ सभामुखको सचिवालयले भनेको छ ।

संसद अधिवेशन शुरु हुनुअघि सभामुखले संसदका प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने अभ्यास छ । तर सभामुख सापकोटाले यो पटक यो अभ्यासलाई तोडे । प्रमुख प्रतिपक्षी एमालेसँग कुनै छलफल गरेनन् । कतिसम्म भने संसद बैठकको एजेण्डाहरु तय गर्न बोलाइने कार्यव्यवस्था परामर्श समितिको बैठक समेत डाकेनन् ।

एमालेले पनि दल विभाजनको षड्यन्त्रमा सहभागी भएको भन्दै पहिलो बैठकमा नै उनीमाथि प्रश्न उठायो । एमाले सांसदहरुले वेल घेराउ गर्दै सभामुखको व्यवहार मुर्दावादको नारा लगाए । २३ भदौमा नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भयो भने २५ गतेको बैठकमा बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश भयो ।

अनि सम्वाद थाले

आइतबार पनि संसद अवरोध गरेपछि सभामुख सापकोटाले एमालेसँग संवादको थालनी गरेका हुन् । पहिलो बैठक अवरुद्ध भएपछि उनले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारी र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसंग सदनको अवरोध हटाउने विषयमा छलफल गरे ।

छलफलमा सभामुख सापकोटाले आफूले संविधान र कानुनबाहिर गएर कुनै कार्य नगरेको उल्लेख गर्दै संसदमा अवरोध नगर्न एमालेलाई आग्रह गरे । जवाफमा एमाले नेताहरुले आफ्नो पार्टी विभाजनमा किन भूमिका खेलेको भनेर प्रश्न गरेका छन् ।

१४ जना सांसदलाई कारबाही गरेको एमालेको पत्र अनुसार सभामुख सापकोटाले सूचना टाँस गर्नुपर्ने एमालेको जिकिर छ । एमालेले १ भदौमा १४ सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । तर सभामुख सापकोटाले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भएपछि यसबारे केही गर्नु नपर्ने भनेर निर्णय गरे ।

यही कारण एमालेले सभामुखले आफ्नो पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाएको छ । ‘सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको कुरा प्रष्ट भन्यौं’, एमाले प्रमुख सचेतक भट्टराईले अनलाइनखबरसंग भने ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता एवं कानुनमन्त्री कार्कीले भने शीर्ष नेताहरुबीच छलफलको हुनुपर्नेमा जोड दिए । त्यसपछि सभामुखले सर्वदलीय बैठक बोलाउने भन्दै आइतबारको दोस्रो बैठकमा अवरोध नगरिदिन आग्रह गरे । तर एमालेले मानेन । ‘पहिले शीर्ष नेताहरुसँग छलफल गरेर सहमति निकाल्नुस्, त्यसपछि सदन चल्छ’ सभामुखलाई दिएको जवाफ उद्धृत गर्दै एमाले सचेतक शान्ता चौधरीले बताइन् ।

दोस्रो बैठक एमालेले अवरोध गरेपछि सभामुखले अर्को बैठक भदौ २९ गते दिउँसो १ बजेलाई राखे । त्यसअघि २८ गते दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुबीच छलफल राखेका छन् । ‘के सहमतिमा पुग्न सकिन्छ खोजौं र संसदलाई गतिशील बनाऔं भनेर बैठक बोलाइएको हो’ सभामुखको सचिवालयले भनेको छ ।

सभामुख र निर्वाचन आयोगविरुद्ध प्रमुख प्रतिपक्षी एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी भोलि २८ गते नै तोकिएको छ । सर्वोच्च अदालतबाट आउने फैसलाले पनि संसदको गत्यावरोधलाई अन्त्य गर्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भने संवाद नै नगर्ने सभामुखको प्रवृति मूल समस्या भएको बताउँछन् । ‘आज बल्ल सभामुखले हाम्रो पार्टीका प्रमुख सचेतक र सचेतकलाई बोलाउनुभयो । योभन्दा अघि बोलाउनुभएन’ नेम्वाङले थपे, ‘प्रमुख प्रतिपक्षीसँग छलफल नै नगर्ने रबैया र स्थितिले संसद अवरोध निरन्तर भएको हो ।’

सभामुखले सम्वाद थालेकाले अब कुनै न कुनै सहमतिमा पुगिन्छ भन्ने विश्वास रहेको उनले बताए । ‘जसपाको हकमा, नेकपा माओवादी केन्द्रको हकमा सांसदहरुलाई कारबाही गरिएको सूचना दिनासाथ सभामुखबाट कारबाहीको सूचना जारी भयो तर, हाम्रो हकमा किन भएन ? प्रश्न यत्ति हो’ पूर्वसभामुख समेत रहेका एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘हामी (एमाले) लाई शान्त गर्नासाथ सबै ठीकठाक हुन्छ ।’

एमाले केही लचक

सोमबार प्रतिनिधिसभा बैठक अघि एमालेले संसदीय दलको बैठक बोलाएको थियो । बैठकलाई सम्वोधन गर्दै संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देश गरे ।

एमाले सांसदले आइतबार संसदमा गरेको नाराबाजी ।

शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले सहकर्मीको बुई चढेर रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्री बालकृष्ण खाँडको टेबलमा रहेको माइक खोसेका थिए ।

त्यसको आलोचना भएपछि एमालेले सांसदहरुलाई सम्झाएको हो । ‘हामी वेलमा जान्छौं । नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र वेलमा जाने भन्दा बाहिर जानु हुँदैन’ ओलीले सांसदहरुलाई भने, ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्यो भन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’

ओलीको निर्देशन अनुसार प्रतिनिधिसभामा एमाले सांसदहरु शुक्रबारको तुलनामा निकै संयमित देखिएका थिए ।

एमाले संसदीय दलका नेता ओलीले पार्टीका सांसदहरुलाई जथाभावी नबोल्नसमेत सचेत गराएका छन् । बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखको टाउकोमा माइक हान्ने योजना रहेको प्रतिक्रिया दिएकी थिइन् ।

एमालेकी सांसद झाको प्रतिक्रियाको निकै आलोचना भएपछि संसदीय दलका नेता ओलीले प्रष्टीकरण दिएका छन्, ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन ।’ ओलीको निर्देशन अनुसार एमाले सांसदहरुले आइतबार कुनै विवादित हुने गरी प्रतिक्रिया दिएनन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?