
२८ भदौ, जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।
नेपालको तर्फबाट प्रदेश-२ का चार जिल्ला र भारतको तर्फबाट बिहारका केहि जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षा सम्बन्धमा छलफल भएको छ ।
बिहारमा आगामी सेप्टेम्बर २९ तारेखदेखि हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई लक्षित गरी संयुक्त बैठक आयोजना गरिएको बैठकमा सहभागी सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार बैठकले नेपालको तर्फबाट मदिरा र भारतको तर्फबाट लागूऔषध नियन्त्रण गर्नुपर्ने बिषयमा छलफल भएको छ ।
बिहारमा हुने चुनावको ४८ घण्टाअघिदेखि दुबै देशको सीमा सिल गर्ने निर्णय पनि भएको गौतमले बताए ।
चुनावमा मदिराले अवाञ्छित गतिविधी गर्न सक्ने भएकाले त्यसको निर्णय गर्न भारतीय पक्षका अधिकारीले आग्रह गर्नुभयो’ गौतमले भने, ‘हामीले लागूऔषधले यता धेरै नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रण गर्न आग्रह गर्यौं । दुबै पक्ष यसलाई नियन्त्रण गर्ने बिषयमा सहमत भएका छौं ।’
प्रजि गौतमले भारतीय पक्षले सप्तरीमा कोशी पश्चिमी नहरको मर्मत सम्भार गर्दा बाटो नै अवरुद्ध भएकाले त्यो खुलाइदिन पनि आफूले आग्रह गरेको बताए ।
बैठकमा सप्तरीसहित सिरहा, धनुषा र महोत्तरीका सुरक्षा अधिकारी तथा भारतको दरभंगा र मधुवनीका सुरक्षा अधिकारीको सहभागिता थियो ।
प्रतिक्रिया 4