
२८ भदौ, काठमाडौं । रिभाईभ लिजरपार्क स्थापनाको अवसरमा ‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ हुने भएको छ ।
प्रतियोगिता असोज १ गतेदेखि हुने आयोजकले जनाएको छ । पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने अपेक्षा गरिएको छ ।
सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्ष माथिका भेटरान्स युगल गरी चार विधामा खुल्ला प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टिम, विभिन्न संघसंस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराइने आयोजकले बताएको छ । नेपाल ब्याडमिन्टन संघको स्वीकृति तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा २०० भन्दा बढी खेलाडीहरुको सहभागिता रहनेछ ।
करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपका दौरान कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गरिने आयोजकको भनाइ छ ।
करीब १८ करोड रुपैयाँ लगानी रहेको रिभाईभ लिजर पार्कमा ब्याडमिन्टन हल, जुडो, कराते, उसु हल, स्विमिङपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायत बीएण्डबी रुम, सेमिनार, पार्टी हल तथा रेस्टुरेण्ट समेत रहेको सञ्चालक लीलाबहादुर थापाले बताए ।
प्रतिक्रिया 4