+
+

ओमानसँग नेपाल ५ विकेटले पराजित

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २९ गते २२:५७

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ ।

ओपनर जतिन्दर सिंहले आक्रमक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि नेपालले दिएको १९७ रनको सामान्य लक्ष्य ओमानले ३१.१ ओभर खेल्दै ५ विकेट गुमाएर भेट्टायो । सिंहले ६२ बल खेल्दै १२ चौका र ६ छक्का मद्दतमा १०७ रन बनाए । जतिन्द्रले खेलको पाँचौ ओभरमा नेपालका सोमपाल कामीलाई ३० रन प्रहार गरेका थिए । उक्त ओभरमा सोमपालले ३ चौका र ३ छक्का खर्चिए ।

यस्तै डेब्युटान्ट आयन खानले १८ रन जोडे । अर्का डेब्युटान्ट ओपनर सोएब खान ७ रन बनाएर चौथो ओभरमा आउट भएका थिए । तर जतिन्दर र आयनले दोस्रो विकेटका लागि ९१ रनको साझेदरी गरे । चौथो विकेटका लागि जतिन्दर र मोहम्मद नदिमले ४० रनको साझेदारी गरेका थिए ।

शतक बनाएपछि आक्रमक सट खेल्ने क्रममा जतिन्द्रलाई रोहित पौडेलले कुशल मल्लको बलिङमा उत्कृष्ट क्याच गर्दै २६औं ओभरमा आउट गराए । कप्तान जिसन मक्सुद ४ रन बनाएर आउट भए । विकेटकिपर ब्याट्सम्यान सुरज कुमारले २० रन बनाएर आउट भए ।

मोहम्मद नदिमले अविजित ३८ रन बनाए । ६५ बल खेलेका नदिमले २ चौका र १ छक्का प्रहार गरे ।

बलिङमा नेपालका लागि कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । यस्तै २ विकेट लिएका करण केसीले ५ ओभरमा ५२ रन खर्चिए । सुशन भारीले १० ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर १ विकेट लिए ।

फिल्डिङका क्रममा घाइते भएकाले स्पीनर सन्दीप लामिछानेले बलिङ गरेनन् ।

त्यसअघि मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । पहिलो ओडिआई अर्धशतक बनाउने क्रममा उनले ११२ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिका विरुद्ध नेपालको जितमा सर्वाधिक रन बनाएका ओपनर कुशल भुर्तेल ओमान विरुद्ध खाता नखोली आउट भए । भुर्तेललाई ओमनका बिलाल खानले पहिलो ओभरको दोस्रो बलमै विकेटकिपर सुजर कुमारबाट क्याचआउट गराए ।

त्यसपछि आसिफ र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स सम्हाल्दै दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । तर ज्ञानेन्द्र १२औं ओभरमा आउट भएपछि नेपालले एक छेउबाट विकेट गुमाउने क्रम जारी रह्यो । ज्ञानेन्द्र २१ रन बनाएर आउट भए । त्यसअघि आएका रोहित कुमार पौडेल पनि धेरै बेर क्रिजमा टिकेनन् । डबल डिजिटमा रन जोडेपनि उनी २० रन बनाएर आउट भए ।

आसिफ र रोहितले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे । आसिफले एक छेउबाट इनिङ्सलाई होल्ड गरेपनि अर्को छेउबाट निरन्तर विकेट गुमेपछि नेपाल पूरा इनिङ्स समेत ब्याटिङ गर्न सकेन । शतकतर्फ अग्रसर भइरहेका बेला आसिफलाई ३६औं ओभरमा बिलाल खानले बोल्ड गरे ।  विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम सोब २ रनमा आउट भए ।

१५६ रनमा ८ विकेट गुमाएपछि सन्दीप लामिछाने र करण केसीले नेपालको इनिङ्सलाई सम्हाल्ने प्रयास गरे । तर ४०औं ओभरको अन्तिम बलमा ओमानका सन्दिप गौडले नेपालका सन्दीपलाई रनआउट गरे । सन्दीप लामिछानेले १० बल खेल्दै १ छक्का र १ चौका मद्दतमा १६ रन जोडे ।

१७३ मा ९ विकेट गुमेपछि करण केसीले नेपालको इनिङ्सलाई होल्ड गरिरहेका थिए । तर ४८औं ओभरको चौबलमा करण आउट भएपछि नेपालको इनिङ्स १४ बल अगावै सकियो ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै १ मेड राखेर ४७ रन खर्चिए । यस्तै डेब्युटान्ट नेस्टोर धाम्बाले ५ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिए । कप्तान जिसान मक्सुद र मोहम्मद नदिमले १-१ विकेट लिए ।

सोमबार भएको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपालले सिरिजमा पहिलो हार बेहोरेको हो । ओडिआईमा ओमानसंग भने नेपालको यो लगातार तेस्रो हार हो । नेपाललाई हराएपछि लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ११ खेलबाट १८ अंक जोडेको छ । नेपाल ६ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ ।

 

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?