+
+

कति सामान्य छ शान्तिश्री परियारको जीवनशैली ?

सुशील नेपाल सुशील नेपाल
२०७८ भदौ ३१ गते १३:११

शान्तिश्री परियार लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका हुन् । ‘बोलमाया’, ‘गलबन्दी’, ‘चौकादाउ’ हुँदै ‘कुरा बुझ्न पर्च’सम्म आउँदा उनका थुप्रै गीत लोकप्रिय भइसकेका छन् । शान्तिश्रीसँग उनको दैनिकी, खानपान लगायतका विषयमा कुराकानी :

बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ वा छैन ?

बिहान ७ देखि साढे ७ बजेभित्र उठ्छु । उठने तालिका प्रायः त्यही नै हो ।

उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?

उठ्नासाथ सर्वप्रथम तातोपानी पिउँछु । त्यसपछि फ्रेस हुन्छु । उठ्नासाथ मोबाइल चाहि‌ं चलाउँदिन । पूजापाठ त्यस्तो धेरै गर्दिन, कोठामा सानो मन्दिर छ, त्यहाँ २–३ मिनेट प्रार्थना चाहिं गर्छु ।  ८ महिनाकी छोरी छिन् । उनी उठिरहेकी हुन्छिन्  । उनलाई कपडाहरु चेन्ज गरिदिन्छु ।

योग, ध्यान, व्यायाम गर्नुहुन्छ ?

पहिले गर्थें, छोरी भएपछि गरेकी छैन। अब विस्तारै शुरु गर्नुपर्ला ।

बिहान नास्ता खानुहुन्छ वा हुन्न ?

बिहानमा ब्रेकफास्ट खासै खाँदिन । सामान्य सुप चाहिं नियमितजसो पिउँछु ।

रियाज नियमित गर्नुहुन्छ वा हुँदैन ? कति समय गर्नुहुन्छ ?

नियमित नै गर्छु । १ घण्टादेखि डेढ घण्टासम्म रियाजमा समय दिन्छु ।

बिहानको खाना कति बजे खानुहुन्छ ?

श्रीमान् अफिस जानुपर्ने, म पनि काममा निस्किनुपर्ने भएकाले बिहानको खाना १० बजे अगाडि नै खानुपर्छ ।

कस्तो खाना रुचाउनुहुन्छ ?

दाल, भात र तरकारी नै मनपर्छ ।

तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?

दाल छुट्दैन ।

माछामासु कति खानुहुन्छ ?

माछा खासै मन पर्दैन । मासुमा मटन र लोकेल चिकेन स्पेशल लाग्छ । ब्रोइलर चाहिं एकदमै कम खान्छु ।

मदिरापान गर्नुहुन्छ ?

अहिलेसम्म पिएको छैन ।

भान्सामा काम गर्ने जाँगर कत्तिको चल्छ ?

भान्सामा काम गर्ने जाँगर अलि कमै चल्छ । गर्नु नै पर्ने छ, कोही छैन भने गर्छु नत्र अलि अल्छी नै छु ।

घरको काम कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने आफैं गर्नुहुन्छ ?

घरमा काम गर्ने एक जना सहयोगी बहिनी राखेका छौं । खाना बनाउनेदेखि अन्य कामहरु अहिले आफैंले गर्नुपर्छ भन्ने छैन। सहयोग चाहिं गर्छु ।

तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मनपर्छ ?

आफैंले बनाएको केही पनि खानेकुरा मनपर्दैन । म जाँगरले नै बनाउँदिन । एक्लै छु भने भेट भर्नका लागि बनाएर खान सक्छु, तर जाँगर चलाएर आज दाम्मी बनाउनुपर्छ भन्ने खालको जाँगर लाग्दैन । अरु कामहरुमा भने जाँगर चल्छ ।

बाहिर रेष्टुरेन्टमा खानेकुरा मीठो कि घरमा बनेको ?

घरकै मनपर्छ ।

एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?

कार्यक्रमहरुमा हिँड्दा त्यस्तो त धेरै हुन्छ नि ! एउटा किस्सा सुनाउँछु– लकडाउन हुनुअगाडि २०७६ सालमा सुर्खेतको कार्यक्रममा जाँदै थिए । काठमाडौंबाट नेपालगञ्जसम्म फ्लाइटमा गएका थियौं । फ्लाइट डिले भएर त्यहाँ पुग्दा एकदमै ढिला भएको थियो । नेपालगन्जबाट सुर्खेत जाँदै गर्दा बाटोमा एकदमै भोक लाग्यो ।

मलाई स्याउ एकदमै मन पर्छ, त्यसैले झोलामा बोकेर हिँडछु । भोक लागेपछि बाटोमा स्याउ खाएँ, त्यतिले नपुगेर बाटोबाटै आयोजकलाई खाना भनिदिनुस् भनेको थिएँ । त्यहाँ पुग्दा भनिदिनुभएको रहेनछ, रिंगडा नै लागिरहेको थियो । पछि फ्राइ राइस खाएर स्टेजमा उक्लें । त्यो क्षण एकदमै सम्झिन्छु ।

घरबाट बाहिर निस्कनुअघि मेकअपमा कति समय लाग्छ ?

मेकअप हल्का मात्र गर्छु । बाहिर निक्किनु अगाडि गर्ने नियमित मेकअपमा धेरै समय लाग्दैन । अलि स्पेशल शोहरुमा जानु छ भने १ घण्टा जति लाग्छ ।

कस्तो लुगाफाटो सहज लाग्छ बाहिर हिँडडुल गर्दा ?

दिनदिनै हिँडनका लागि त पाइन्ट, टिसर्टहरु नै मनपर्छ । स्टेज वा अलि स्पेशल शोहरुका लागि साडी बढी मनपर्छ । साडीमा आफूलाई कन्फर्ट फिल गर्छु ।  प्रायः स्पेशल शोहरुमा साडी नै लगाउँछु ।

गरगहनामा कत्तिको आशक्ति छ ? गरगहना कति मन पर्छ ?

त्यति धेरै मन पर्दैन । म कहिल्यै पनि हातमा चुरा, गरगहना लगाएर सजिएर हिँडदिन । गहनाप्रति त्यति धेरै रुचि नै छैन ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

म स्कुटरमा हिँडछु ।

दिनभर कसरी बित्छ ? भेटघाट, रेकर्डिङ ?

मेरो अहिले धेरै समय चाहिं रेकर्डिङमै बित्छ ।

एक दिनमा कति वटासम्म गीत रेकर्ड गर्न भ्याउनुहुन्छ ?

बच्चा भएपछि अहिले दिनमा २ देखि ४ वटासम्म गीत रेकर्डिङ गरिरहेकी हुन्छु । पहिले दिनमा ६ वटासम्म रेकर्ड गरेकी हुन्थें।

एउटा गीत गाएबापत कति पारिश्रमिक लिनुहुन्छ ?

मेरो पारिश्रमिक फिक्स छ । प्रायः गीतमा एउटै पारिश्रमिक लिन्छु ।  तर, यहाँ चाहिं भन्दिन ।

गीत गाएर पारिश्रमिक नपाउनुभएको छ ?

त्यस्तो छैन । रेकर्डिङमा त्यस्तो हुँदैन ।

दिनमा कति रुपैयाँसम्म खर्च हुन्छ ?

बच्चा भएपछि केही महिना ट्याक्सीमा हिँडदा अलि खर्च हुन्थ्यो । अहिले स्टुकरमा हिँडे पनि मेरो पर्सनल्ली खर्च कम नै हुन्छ । घरायसी खर्च चाहिं १ हजारभन्दा बढी नै हुन्छ ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

साँझमा घर फर्किने निश्चित समय नै हुँदैन । कहिले रेकर्डिङको समय लम्बिरहेको हुन्छ । ५ बजेदेखि साढे ८–९ बज्छ ।

साँझको खानामा के–के हुन्छ ? कतिबजे खानुहुन्छ ?

घर आउँदा धेरै ढिला भएन भने साढे ८ बजेदेखि ९ बजेभित्र खाइसक्छौं । साँझमा म प्राय: ढिंडो खान्छु । त्योसँग दाल छुटदैन । त्यसबाहेक कहिले साग, चिकेन लगायत हुन्छ ।

कति बजे सुत्नुहुन्छ ?

बिहान, दिउँसो मोबाइल त्यति चलाउन पाउँदिन । साँझ खाना खाइसकेपछि केही समय मोबाइलमा बिताउँछु । सामाजिक सञ्जालमा बिताउने, आफ्नो आएका गीतहरु, त्यसमा आएका प्रतिक्रियाहरु हेर्ने गर्छु । त्यसकारण राति सुत्दा प्रायः १२ बजिसकेको हुन्छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?