+
+

एसियन कप छनोट नेपालका लागि अवसर : प्रशिक्षक फिलिप्स

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते ६:४१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कपको छनोट नेपाली टिमका लागि राम्रो अवसर रहेको बताएका छन् ।

प्रतियोगिताअघि बिहीबार उज्वेकिस्तानमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक फिलिप्सले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर रहेको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताए । ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ ऊर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं,’ उनले भने ।

छनोटमा समूह एफ मा रहेको नेपाल बुधबार उज्वेकिस्तान पुगेको थियो । यस सहूहमा फिलिपिन्स र हङकङ पनि छन् ।

फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले कोभिड-१९ का कारण टोलीमा उत्कृष्ट खेलाडी समावेश नभए पनि युवा खेलाडीबाट राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । ‘कोभिड -१९ का कारण धेरै टोलीहरुलाई कठिनाइ भएको छ । हाम्रा पनि धेरै खेलाडी व्यावसायिक जिम्मेवारीमा जापान, अमेरिकालगायत देशमा रहेकाले सामेल हुन सकेनन् । तथापि पर्याप्त अनुभव भएका युवा खेलाडीहरु भएकोले हामी राम्रो खेल प्रदर्शन गर्नेछौं,’ उनले भने ।

यस्तै हङकङका प्रशिक्षक जोसे रिकार्डो राम्बोले आफ्नो टिमको तयारी राम्रो रहेक बताए । ‘कोभिड-१९ को समयमा पनि पनि हामीले प्रशिक्षणलाई निरन्तरता दिएका थियौं । हाम्रो तयारी पनि राम्रो छ । अधिकांश खेलाडी एकेडेमीका भएकाले पनि हाम्रो टोली बलियो छ,’ उनले भने ।

उज्वेकिस्तानको ताश्केतस्थित जेएआर स्टेडियममा हुने छनोटमा नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ मा खेल्नेछ । यस्तै दोस्रो खेल हङकङसँग  असोज ५ गते  हुनेछ । यस समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीच असोज ८ गते हुनेछ ।

समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ । १२ टोलीले खेल्ने महिला एसियन कप २०२२ जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

फोटो: एनएसजेएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?