+
+

साताका १० गीतः ‘भन साइँला’देखि ‘जीवनको पाना’सम्म

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १३:१६

नेपालमा दैनिक औसतमा पाँचवटा म्युजिक भिडियोहरु सार्वजनिक हुन्छन् । यसरी हेर्दा सातामा ३ दर्जन बढी म्युजिक भिडियोहरु युट्युबमा आउँछन् । गत शुक्रबारदेखि हिजो बिहीबारसम्म पनि सोही संख्यामा गीतका म्युजिक भिडियोहरु सार्वजनिक भए । त्यसमध्ये केही गीतले चर्चा समेत कमाए । धेरै गीतहरुलाई युट्युबमा भ्यूजकै खडेरी देखियो । दशैं क्रमशः नजिकिँदै गएसँगै पछिल्लो साता केही दशैं तिहार गीतहरु समेत सार्वजनिक भएका छन् । यद्यपी ति गीतहरुलाई पनि भ्यूजको खडेरी देखिएको छ । गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिक भएका थुप्रैमध्ये १० गीत यसप्रकार छन् ।

बसन्त थापाको ‘सालको पात उडायो बतासैले’

यो गीत गत शुक्रबार सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द, संगीत रहेको गीतमा बसन्त थापा र अमृता नेपालीले स्वर भरेका छन् । विश्वास नेपाल यस गीतका म्युजिक एरेन्जर हुन् ।

दुर्गेश थापा र गीता ढुंगानाको अभिनय रहेको गीतको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । भिडियोमा अजय रेग्मीको छायाँकन, पदम सुवेदीको सम्पादन छ । यसको अडियो, भिडियो दुबैलाई स्रोता एवं दर्शकले मन पराएका छन् । ‘बसन्त थापा’ युट्युब च्यानलमा सार्वजनिक भिडियोले एक सातामा ७ लाख १९ हजार बढी भ्यूज बटुलेको छ ।

रिमेकमा ‘किन यसरी बिना अर्थले’

गायक प्रमोद निर्वाणको स्वरमा दुई दशकअगाडि सार्वजनिक गीत ‘किन यसरी’को रिमेक गरिएको छ । बले ईन्टरटेन्मेन्टले यस गीतको रिमेक गरेको हो । प्रमोद निर्वाण र सिरोसे बर्डको शब्द रहेको गीतमा प्रमोदकै संगीत र स्वर छ ।
निकेश खड्काको निर्देशनमा कलात्मक रुपमा तयार रिमेक गीतको भिडियो गत शनिबार सार्वजनिक गरिएको हो । भिडियोमा सागर लम्साल (बले), शिक्षा संग्रौलाको अभिनय छ । कुशल विष्ट र संजिता पाण्डेलाई सहयोगी कलाकारको रुपमा हेर्न सकिन्छ ।

आफूले माया गरेकी प्रेमीकाले साथ छाडेपछिको कथालाई प्रस्तुत गरिएको भिडियोमा सागर र शिक्षाको केमेष्ट्रि गज्जबको देखिएको छ । भिडियोमा बुद्ध थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । दुई दशकअगाडि यो गीतले निकै चर्चा पाएको थियो । रिमेक गीतले भने त्यसरी चर्चा पाउन सकेको छैन् । सार्वजनिक भएको एक साताको गीतको भिडियोलाई युट्युबमा ४ लाख ५१ हजार बढी पटक हेरिएको छ ।

रमेशराजको ‘भन साँईला’

गायक रमेशराज भट्टराईले गत सोमबार ‘भन सार्इँला’बोलको गीत सार्वजनिक गरेका हुन् । उनकै शब्द तथा संगीत रहेको गीतमा विश्वास नेपालको एरेन्ज छ । यो गीत रमेशराजले पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालसँग गाएका छन् ।

शंकर बिसीको निर्देशनमा तयार भएको भिडियोमा कलाकार जीवन भट्टराई र लक्ष्मी वर्देवाले अभिनय गरेका छन् । रियल जोडी जीवन र लक्ष्मीको अभिनय भिडियोमा गज्जब देखिएको छ । भिडियोमा कलाकार सन्तोष पन्त र संगम भण्डारीको समेत अभिनय रहेको छ । गीतमा वैदेशिक रोजगारीको कथालाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोलाई युट्युबमा ४ दिनमा ४ लाख ३२ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्ती मगरको सम्पादन छ ।

मदनकृष्णको स्वरमा सरोजको जीवन्त अभिनय

‘जीवनको पाना’ बोलको गीतको म्युजिक भिडियो गत शनिबार सार्वजनिक गरिएको हो । कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनेता सरोज खनालको अभिनय रहेको गीतको भिडियो एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको थियो । गीतको रचना बमबहादुर श्रेष्ठले गरेका हुन् भने संगीत सन्तोष श्रेष्ठले भरेका छन् ।

सरोज खनालको परिकल्पना र राज केसीको निर्देशनमा तयार म्युजिक भिडियोमा सरोज स्वयंमले शीर्ष भूमिकामा अभिनय गरेका हुन् । केन्द्र मोशन पिक्चर्स र राजेन्द्र वाग्लेको प्रस्तुती रहेको गीत र भिडियो निकै मार्मिक छ । गीतमा सर्जकहरूको जीवनको उत्तराद्र्धको कथा अनि व्यथा अभिव्यक्त गरिएको छ ।

भिडियोमा सरोजले जीवन्त अभिनय गरेको धेरैले प्रशंसा गरेका छन् । हरि हुमागाइँको डिओपी, उत्तम हुमागाईँको सिनेम्याटोग्राफी रहेको भिडियोलाई रमेश थापाले सम्पादन गरेका हुन् । भिडियोमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मण प्रसाद अधिकारी, राजेन्द्र कट्टेल लगायतको समेत अभिनय छ । भिडियोको भ्यूज भने कम छ । अहिलेसम्म यसको भिडियोले युट्युबमा ९० हजार भ्यूज पाएको छ ।

राजु परियारको ‘भिषा लायो टिकटै आयो’

लोकदोहोरी गायक राजु परियारले सोमबार ‘भिषा लायो टिकटै आयो’ बोलको दशैं तिहार गीत सार्वजनिक गरेका हुन् । गीतमा राजुकै शब्द, संगीत, स्वरसँगै अभिनय समेत रहेको छ । गीतमा राजु र मेनुका परियारको स्वर सुन्न सकिन्छ ।
निशान बानियाँको निर्देशनमा बनेको भिडियोमा राजुसँगै अपिक्षा पौडेल, भिम दुरा, आशा पुन लगायतको अभिनय छ । सुरेश श्रेष्ठको छायाँकन, शिव पौडेलको सम्पादन रहेको भिडियोलाई चार दिनमा युट्युबमा २ लाख २२ हजार बढी पटक हेरिएको छ ।

बुद्धि र रिश्माको अभिनयमा ‘जाले रुमाल’

बुद्धि तामाङ र रिश्मा गुरुङको अभिनय रहेको ‘जाले रुमाल’बोलको गीतको भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो । कृष्ण केसीको शब्द तथा स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत, राजन इशानको एरेन्ज छ ।

कृष्ण केसीकै निर्देशनमा तयार भिडियोमा रिसाएकी मायालुलाई फकाउनका लागि एक प्रेमीले गरेका विभिन्न शैलीलाई प्रस्तुत गरिएको छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ ।भिडियोले एक सातामा युट्युबमा ४ लाख ३ हजार बढी भ्यूज पाएको छ ।

शिव सुवेदीको ‘कस्को अनुमती’

‘कस्को अनुमती’बोलको गीत गत सोमबार सार्वजनिक गरिएको हो । डा. शिव सुवेदीको शब्द तथा संगीत, विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा शान्तिश्री परियार र विक्रम परियारको स्वर सुन्न सकिन्छ । विनोद भण्डारीको निर्देशनमा तयार यस गीतको भिडियोमा मोडल महेन्द्र गौतम र गरिमा शर्माले अभिनय गरेका छन् । भिडियोमा करन चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन छ । भिडियोले ४ दिनमा १ लाख ८८ हजार भ्यूज पाएको छ ।

पल र समीक्षाको ‘डिग्रीसम्म पढाम्ला’

अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको अभिनयमा गत शनिबार ‘डिग्री सम्म पढाम्ला’बोलको गीतको भिडियो सार्वजनिक भएको हो । दीपक शर्माको शब्द र संगीत, श्यामश्वेत रसाईलीको संगीत संयोजनमा समीक्षा अधिकारी र जीवन पन्तले गीतमा स्वर दिएका हुन् ।

भिडियो काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भएको हो । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । प्रेमभाव बोलेको गीतको भिडियोलाई हालसम्म ३ लाख ५१ हजार बढी पटक हेरिएको छ ।

करिष्माको अभिनयमा ‘राजारानी’

मेनुका परियार र सिताराम परियारको स्वरमा गत आईतबार ‘राजारानी’बोलको गीतको भिडियो सार्वजनिक भएको हो । ‘चल्यो बतास २’का रुपमा सार्वजनिक गीतमा गोविन्द पंगेनीको शब्द एवं संगीत छ । अमर सुनारको कोरियोग्राफी, राजकुमार मगरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र शरद एलजीको अभिनय छ । भिडियोमा प्रकाश खड्काको छायाँकन, राजकुमार मगरको सम्पादन छ । यस गीतको भिडियोले युट्युबमा ४ लाख १४ हजार बढी भ्यूज पाएको छ ।

श्रीकृष्ण र शान्तिश्रीको ‘सारङ्गी’

श्रीकृष्ण बम मल्ल र शान्तिश्री परियारको स्वर रहेको ‘सारङ्गी’ बोलको गीत गत आईतबार सार्वजनिक भएको हो । गीतका शब्द दीपक सापकोटाले रचेका हुन् भने गीतमा श्रीकृष्ण बम मल्लको संगीत, नरेन्द्र वियोगीको एरेन्ज छ ।

देबेन्द्र बब्लुको निर्देशनमा बनेको भिडियोमा प्रकाश घिमिरे र पशुपति राईको अभिनय रहेको छ । सारंगी बजाएर छोराछोरी र परिवारको पेल्ट पाल्ने निम्नवर्गीय गाइने दाईको कथा व्यथालाई गीतमा उतारिएको छ । गीत र कलाकारको जीवन्त अभिनयले दर्शकको मन जित्छ । अनिल के. मानन्धरको छायाँकन, दिन्सन शाहको सम्पादन छ । गीतको भिडियोको भ्यूज १ लाख १३ हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?