+
+

‘संसद विघटन र अध्यादेशहरुमा मेरो फरक मत थियो’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते २०:१६

२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको नयाँ संविधान जारी हुने बेला सुवास नेम्वाङ संविधानसभा अध्यक्ष थिए । त्यही संविधान मिचेर उनकै पार्टी नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेम्वाङ त्योबारे सार्वजनिक रुपमा बोल्न चाहेनन् । तर सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापित गरिदियो ।

अहिले सातौं संविधान दिवसको सन्दर्भमा भने नेम्वाङ केही खुलेका छन् र भनेका छन्- संसद विघटन र अध्यादेशहरुमा मेरो फरक मत थियो । संविधान जारी भएको ६ वर्षको पुगेको अवसरमा अनलाइनखबरले नेम्वाङसँग गरेको संक्षिप्त कुराकानी –

संविधान जारी भएको ६ वर्ष पुग्यो, कार्यान्वयनको अवस्था कस्तो छ ? कसरी मूल्याङ्कन गरिरहनु भएको छ ?

कतिपय कमी कमजोरीका विषयहरु भएता पनि मूल रुपमा संविधान कार्यान्वयनको सन्दर्भमा निकै उपलब्धिहरु भएका छन् । यसलाई हामीले हेक्कामा राख्नुपर्छ । उदाहरणका लागि कानुनहरुलाई संविधानसम्मत बनाउने काम गरेका छौं । मौलिक हकले जनतालाई अधिकार सम्पन्न बनाएको छ । थुप्रै कानुनहरु निर्माण भएका छन् ।

यसबीचमा संविधान बमोजिम तीनै तहका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरेर संविधानलाई मूल रुपमा कार्यान्वयनमा ल्याएका छौं । र समग्रमा अब जुनसुकै परिवर्तनको लागि आन्दालन गर्नुनपर्ने परिस्थिति हामीले बनाएका छौं ।

अर्थात, जनताको मन जितेर, आशिर्वाद लिएर संसदमा उपस्थित भएर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ । यसरी राजनीतिक रुपमा सार्वभौम जनतालाई साच्चिकै अधिकार सम्पन्न तुल्याइएको छ । यी परिवर्तनहरु महत्वपूर्ण छन् । यो कार्यान्वयन उल्लेख्य छ, ऐतिहासिक छ ।

गएको पटक केपी ओली प्रधानमन्त्री हुनुहुँदा लिपुलेक, लिम्पियाधुराको चुच्चे नक्सालाई संविधान संशोधनमार्फत हामीले समेट्ने काम गर्‍यौं, त्यसमा सिंगो देश एकतावद्ध भयो । संसदमा रहेका सम्पूर्ण राजनीतिक दलहरुले सर्वसम्मतीले चुच्चे नक्सा पारित गरे । अर्थात, संविधान यो अवधिमा सर्वस्वीकार्य भएको छ ।

तर, संसद विघटन, सरकार निर्माणको प्रक्रिया लगायतका संविधानका यी महत्वपूर्ण व्यवस्थाहरुको प्रयोगमा प्रश्न उठेको बेला संविधानसभाको अध्यक्ष भएको व्यक्ति तपाईं मौन रहनुभयो किन ?

विनम्रत्ाापूर्वक भन्छु, कसैलाई व्यङ्ग्य गर्न खोजेको होइन । संविधानसभाको अध्यक्षले संविधानको व्याख्या गर्दैन । सबैभन्दा पहिलो कुरा यसमा प्रष्ट हुनुपर्छ । म आफैं आफ्नो बारेमा पनि ठूलो दाबी गर्दिनँ । म संविधानको व्याख्याता होइन । संविधानसभाका सदस्यहरुले संविधानको व्याख्या गर्दैनन् । तर हामी गर्छौं ।

हामी पूर्वप्रधानन्यायाधीशहरुलाई सार्वजनिक रुपमा ल्याएर बोल्न लगाउँछौं । अनि पूर्वप्रधानन्यायाधीशहरुले यसो भने भन्ने चलन पनि छ । यो पनि ठीक होइन । उहाँहरुले पनि संविधानको व्याख्या गर्नुहुन्न । सर्वोच्च अदालतका न्यायाधीशहरु, उहाँहरु जहाँ उपस्थित भएर बोलेर संविधानको व्याख्या हुन्छ त्यहाँबाट मात्रै हुन्छ संविधानको व्याख्या ।

सर्वोच्च अदालतका वर्तम्ाान न्यायाधीशहरुले पनि इजलासमा बसेर मुद्दाको सिलसिलामा बोलेको विषय मात्रै संविधानको व्याख्या हुन्छ । हामीले संविधानमा संविधानको व्याख्याता भनेको सर्वोच्च अदालत हो भनेर प्रष्टसँग लेखेका छौं ।

अर्को कुरा म कहिल्यै पनि आफ्नो अडानमा यताउता गर्दिनँ । भलै म कडा शब्द बोल्दिनँ, विनम्र भाषामा आफ्नो कुरा राख्छु । त्यतिबेला मलाई याद छ- एउटा प्रसंग आएको थियो मैले बोलेको भिडियो -‘संसद विघटन प्रधानमन्त्रीले चाहँदैमा हुँदैन’ भनेर काभ्रेको धुलिखेलमा पत्रकारहरुसँग बोलेको भिडियो) खुब भाइरल बनाइएको थियो । मैले अगाडि सरेर भनें त्यो साँचो हो मैले भनेको । पत्रकारहरुको बीचमा मैले बोलेको हुँँ, प्रशिक्षण दिएको हुँ र यो मैले धुलिखेलमा बोलेको हुँ । भनेको छु मौन बसेको होइन ।

तर, रह्यो संसदको पहिलो विघटन । फेरि पनि जानकारी गराउँ- त्यो विघटनलाई लिएर मैले प्रधानमन्त्रीज्यूसँग प्रष्ट शब्दमा एक पटक होइन पटक-पटक यो ठीक होइन, यसमा यस्त्ाो हुन्छ है भनेर आफ्नो कुरा राखेको छु । तर, संसद विघटन भयो ।

विघटन भइसकेपछि त्यसलाई लिएर सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । मेरो भनाइ रह्यो – त्यो कुरा (संसद विघटन प्रधानमन्त्रीले चाहँदैमा हुँदैन) साँचो हो भन्ने मेरो अहिले पनि दाबी छ । त्यतिबेला केही साथीहरु सडकमा उत्रिए । सडकमा पक्ष र विपक्षमा कुराहरु उठे ।

कतिसम्म उठ्यो भने सर्वोच्च अदालतका न्यायाधीशरुले ठीक निर्णय गरेनन् भने उनीहरुलाई झुण्ड्याउनुपर्छ भन्ने अभिव्यक्तिहरु पनि आए । पूर्वप्रधानन्यायाधीशहरु उत्रिए । हाम्रा पूर्वप्रधानमन्त्रीहरुले घाँटीमा प्लेकार्ड झुण्ड्याएर सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नुभयो । यो सबै कुरा बेठीक हो ।

पक्ष र विपक्षमा कहीँ पनि बोलेर सर्वोच्च अदालतलाई दबाब दिनु हुँदैन भन्ने मेरो राय थियो र मैले प्रष्ट शब्दमा मलाई सोध्ने पत्रकार साथीहरुलाई भनेको थिएँ- पहिले बोलें अब बोल्दिनँ । किनभने सर्वोच्चमा यो मुद्दा विचाराधीन छ ।

जब सर्वोच्च अदालतले फैसला गर्छ, फैसला गरेको भोलिपल्ट मलाई सोध्नुस् म त्यतिबेला आफ्नो कुरा भन्छु भनेको थिएँ । मैले संविधानसम्मत काम गरेको थिएँ । त्यसैले मौन बसेको होइन । मैले बोलेको थिएँ । कुरा भनेको यो हो ।

संविधानसभा अध्यक्ष हुँदा तपाईं संविधान निर्माणपछि बहस गर्न अदालत जाने बताउनुहुन्थ्यो । तर, अहिलेसम्म तपाईंको दलको आवद्धता टुटेन । दलको आवद्धताको कारणले चाहिं तपाईंलाई अप्ठ्यारो परेको हो कि ?

त्यो कुरा (अदालतमा बहस गर्न जाने) मा म अहिले पनि कायम छु । मलाई मेरो दलले विदा गर्छ भने म सरक्क फर्किएर सर्वोच्च अदालतमा बहस गर्न उपस्थित हुन्छु ।

यहाँले ठीक प्रश्न सोधिदिनुभयो- मलाई दलको आवद्धताले मूल्य र मान्यतामा केही पनि फरक पर्दैन । त्यति लामो समयको सभामुख र संविधानसभा अध्यक्ष । त्यतिबेला कतिपय प्रसंगमा यो सुवासलाई हामीले सभामुख बनाएको, संविधानसभाको अध्यक्ष बनाएको मान्छे हो तर हामीले भनेजस्तो किन गर्दैन ? भनेर मेरै पार्टीभित्र पनि प्रश्नहरु उठेका थिए ।

त्यतिबेलाका संविधानसभाका तोडफोडका घटनाहरु सम्झौं- मुख्य पार्टी माओवादी केन्द्रले संविधानसभा नै बहिष्कार गरेको पनि अवस्था थियो । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको बि्रफकेस फुटेको अवस्था पनि थियो र माघ ५ गतेको एउटा घटना त अचम्मको थियो । सम्पूर्ण तोडफोड भएको थियो ।

त्यतिबेला कारबाहीका कुराहरु उठेका थिए । मैले भनें- सिंगो पार्टी निर्णय गरेर मैदानमा उत्रिएको छ । त्यस्तो बेलामा गरिने कारबाहीको कुराले हामीलाई निष्कर्षमा पुर्‍याउँदैन । यो (कारबाही) बेठीक हो र कसैमाथि कारबाही गरिनँ । जानीजानी नगरेको हो ।

पछि हेर्नुस् मैले भनेको र गरेको त ठीक रहेछ । किनभने संविधान बनाइयो । बहिष्कारमा गएका साथीहरु प्रक्रियामा फर्किएर आउनुभयो । तर, त्यतिबेला मेरै पार्टीभित्र मैले भनेको थिएँ सभामुख वा संविधान सभाको अध्यक्ष निष्पक्ष हुन्छ । म निष्पक्ष भएर काम गर्छु, मलाई पार्टीले निष्पक्ष भएर काम गर् भनेर जिम्मेवारी दिएको हो भनेको थिएँ ।

त्यसैले मलाई मेरो पार्टीको आवद्धताले कमजोर बनाउँदैन । म कमजोर बन्दिनँ । पार्टीको आवद्धताले मलाई बल दिन्छ । मेरो पछाडि पार्टी छ भन्ने हुन्छ । त्यसैले मैले जे जिम्मेवारी पाएको हो त्यो जिम्मेवारी अनुसार व्यवहार गर्छु । अघि पनि भनें- म बोलेको छु र जुन बेलामा संविधान बमोजिम चल्नुपर्ने हो त्यो बेला म संविधान बमोजिम चलेको छु ।
तर पनि तपाईं केपी शर्मा ओली निकट रहेर काम गरिरहनुभएको छ । उहाँबाट दुई-दुई पटक संसद विघटन भयो । तपाईंले यस्तो काम गर्नबाट रोक्न सक्नुहुन्थ्यो त्यो गर्नु भएन । कतिपयले सुवास नेम्वाङले आफ्नो कद घटायो भनेका छन् नि ?

लोकतन्त्र हो, हामीले संविधान बनाएर लोकतन्त्रलाई संस्थागत गरेका छौं । त्यसैले सबैले आफ्नो विचार व्यक्त गर्नको लागि एउटा आधार र ठाउँ बनाइदिएका छौं । त्यसलाई म सम्मान गर्छु र विनम्रतापूर्व त्यो कुरा (कद घटेको) लाई अस्वीकार गर्दछु ।

एउटा राजनीतिक दलभित्र थुप्रै किसिमका मुद्दाहरु हुन्छन् । एउटा राजनीतिक दलले, पार्टीको नेतृत्वले सबै खालका विचारहरुलाई त्यहाँ फल्न, फूल्न दिनुपर्छ र अन्तिममा एउटा निष्कर्ष दिनुपर्छ ।

मैले पटक-पटक भनेका धेरै कुराहरुमा मेरा कुराहरुलाई मान्यता दिइएको छैन । सही सत्य हो त्यो । उदाहरणको लागि संसदको पहिलो विघटनमा मेरो फरक राय थियो । दोस्रो विघटनमा पनि मेरो फरक राय थियो । केही अध्यादेशहरुको मामलामा सदासर्वदा मेरो फरक राय रहेको थियो ।

तर, राजनीतिक दलभित्र, त्यत्रो ठूलो पार्टीभित्र त धेरै विचारहरु छन् । प्रधानमन्त्रीले, पार्टी अध्यक्षले धेरै जनाको विचार सुन्नुपर्छ, सुनाउँछन् । एउटा कुरामा मान्यता मिलेन भन्नेवित्तिकै फरक हुने कुरा हुन्छ र !

र म किन त्यहि पार्टीमा छु त ? भन्दा- यो नेकपा एमालेले केपी ओलीको नेतृत्वमा राम्रा कामहरु थुप्रै गरेको छ । म त देश र जनतालाई माया गर्ने मान्छे । म यो पार्टीमा लागेकै त्यसै कारणले हो ।

जतिबेला म कम्युनिस्ट पार्टीमा लागें त्यतिबेला मलाई ‘यो आफ्नो बाउ बाजेको सम्पति कम्युनिष्टहरुले खाइदेला भनेर डराएर कम्युनिस्ट भयो’ भनेर मेरो आलोचना हुने गर्दथ्यो । म त्यो परिवारबाट आएको मान्छे हुँ । तर, म किन लागें त भन्दा कम्युनिष्टहरु देशलाई माया गर्छन् । राष्ट्रियताको पक्षमा उभिएका हुन्छन् भनेर म लागें ।

उदाहरणको लागि नाकाबन्दीको बेला हेरौं । नाकाबन्दीको उच्चारण गर्न दलहरुलाई अप्ठ्यारो परिराखेको थियो, अप्ठ्यारो मानिराखेको बेलामा केपी ओली त्यो नेता हो, त्यो प्रधानमन्त्री हो जसले प्रष्ट शब्दमा ‘यो नाकाबन्दीलाई सहज नबनाउँदासम्म तिमीले दिएको निमन्त्रणा स्वीकार गरेर भारत भ्रमणमा आउँदिनँ’ भनेर भन्नुभयो ।

त्यस्तो नाकाबन्दी कहिले पनि नलाग्ने व्यवस्था गरेर ‘ल्याण्डलक्ड’ बाट ‘ल्याण्ड लिंक’ बनाए । २३ वर्ष पछाडि चीनका राष्ट्रपति सि जीन पिङ नेपाल आएर सोल्टी होटलमा यसलाई हामी सहयोग गर्छौं भनेर भाषण गर्दा, चीन तर्फको बाटो खुलाइदिँदा, चीनतर्फ समुन्द्रसम्म आवागमनको व्यवस्था गरिदिँदा, नेपाल अब कहिले नाकाबन्दी नलाग्ने देशमा परिणत भयो भनेर भन्दा मेरो आँखाबाट आँसु आएको थियो ।

सोल्टी होटलमा म पनि त्यहिँ सामुन्नेमा उपस्थित थिएँ । यो कारणले गर्दा मेरा कतिपय कुराहरु नमानिएको भएपनि म यो पार्टीको पक्षमा उभिएको छु । केपी ओलीको पक्षमा उभिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?