+
+

यतिले मात्र पुग्दैन, आउने खेलका लागि अझै राम्रो तयारी गर्नुपर्छ : ज्ञानेन्द्र मल्ल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ असोज ४ गते १३:२३

४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमान टूरलाई सुखद बनाउन सफल भयो । ओमानमा कुल ६ खेल खेल्दा ४ मा जित हात पारेको नेपाल २ खेलमा पराजित भयो । नेपालको लक्ष्य सकेसम्म सबै ६ खेल जित्ने थियो ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको चार खेल खेल्दा २ मा जित र २ मा हारको नतिजा निकाल्यो । त्यसअघि पपुवा न्युगिनीसँगको दुई ओडीआई म्याच नेपालले जितेको थियो ।

६ खेल खेल्दा नेपालको प्रदर्शन उतारचढावपूर्ण रह्यो । पहिलो खेलमा पपुवा न्युगिनीलाई हराउन ब्याटिङमा संघर्ष गरेको नेपालले दोस्रो खेलमा पपुवा न्युगिनीलाई सहजै पराजित गर्‍यो । त्यसपछि लिग २ को सिरिजमा अमेरिकालाई पहिलो खेलमा ५ विकेटले हरायो । ओडीआईमा अमेरिकामाथि नेपालको त्यो ह्याट्रिक जित थियो । तर त्यसपछि नेपालले लय गुमायो र लगातार दुई खेलमा पराजित भयो ।

ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएपछि नेपालको ब्याटिङमा पुरानै समस्या दोहोरियो । तर अन्तिम खेलमा नेपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई उसैको मैदानमा ७ विकेटले हरायो ।

नेपालले ओडीआईमा ओमानलाई पहिलो पटक पराजित गरेको हो भने ८ वर्षयता ५० ओभरको खेलमा पहिलो पटक हराएको हो ।

ओमानसँग लिग २ मै लगातार ३ खेलको जितविहीन यात्रा ब्रेक गरेको नेपालले सन् २०२० मा घरेलु मैदानमै बेहोरेको दुई हारको बदला समेत लियो । यस्तै लिग २ मा ओमानलाई पराजित गर्ने नेपाल तेस्रो टिम बन्यो । यसअघि स्कटल्याण्ड र नामिबियाले मात्र ओमानलाई हराएका थिए ।

सिरिजमा ४ मध्ये दुई खेल जितेपछि नेपाल ८ खेलबाट ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा समेत उक्लियो । यस्तै ओमान पुगेपछि राजीनामा घोषणा गरेका प्रशिक्षक डेभ वाटमोरलाई पनि नेपालले अन्तिम खेलमा जित उपहार दिँदै फेयरवेललाई सुखद बनाइदियो ।

नेपालको उतारचढावपूर्ण प्रदर्शनमा यस पटक युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे ।

अन्तिम खेलमा ओमानमाथिको जित नेपालको लागि टिम प्रदर्शनको नमुना नै थियो । ओमानलाई ३७.१ ओभरभित्र १२१ रनमा अलआउट गरेको नेपालले १८.२ ओभरमै लक्ष्य भेट्टाएको थियो । जुन नेपालले ओडीआईमा बल बाँकी रहेको हिसाबमा दोस्रो ठूलो जित थियो ।

ओमानविरुद्धको जितपछि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले कन्सिस्टेन्सी मुख्य विषय भएको बताए । उनले सधैं एकनासले खेल्न गृहकार्य गर्नुपर्ने बताए । ‘बलिङ र ब्याटिङमा कन्सिस्टेन्सी कसरी ल्याउने अब नेपाल गएर त्यसमा होमवर्क गर्नु जरुरी छ,’ ज्ञानेन्द्रले खेलपछि सञ्चारकर्मीसँग भने, ‘एउटा म्याच मात्र जितेर हुँदैन यो लिगमा । फेरि खेल्नुपर्छ । टफ विपक्षी आउँछ । त्यसले गर्दा अझै गृहकार्य गर्न जरुरी छ । यतिले पुग्छ जस्तो लाग्दैन ।’

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा हरेक टिमले ९ सिरिजसहित ३६ खेल खेल्न पाउनेछ । त्यसमा नेपालले ८ खेल खेलेको छ । अझै ७ सिरिजसहित २८ खेल नेपालले खेल्न बाँकी नै छ ।

कप्तान ज्ञानेन्द्रले यो जितमा मात्र नरोकिई अरु आउने खेलका लागि राम्रो योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

नेपालले गत मार्चमै यो सिरिज खेल्ने तय भए पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । त्यसपछि नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज स्पेनमा गर्ने तय भए पनि कोभिडकै कारण एक वर्ष पछि सर्‍यो । अब उक्त सिरिज २०२२ मा हुने आईसीसीले जनाएको छ ।

यस्तै २०२२ को फेब्रुअरीमा नेपाल, यूएई र पपुवा न्युगिनीबीचको सिरिज नेपालमा हुने तालिका छ । २०२२ को मार्चमा नेपालले नामिबिया भ्रमण गर्ने तालिका छ, जसमा नेपाल र नामिबियासहित स्कटल्याण्डले खेल्नेछन् । यस्तै २०२२ कै जुलाईमा नेपाल, ओमान र अमेरिकाबीच अमेरिकामा सिरिज हुने तय भएको छ ।

यसैगरी २०२२ को सेप्टेम्बरमा नेपाल, पपुवा न्युगिनी र यूएईबीचको सिरिज पपुवा न्यूगिनीमा हुनेछ ।

अर्को वर्ष नेपालले लिग २ कै ५ वटा सिरिज खेल्ने तय भएकाले व्यस्त तालिका छ । सीमित घरेलु प्रतियोगिता आयोजना भइरहेका बेला अन्तर्राष्ट्रिय स्तरमा खेल्नुपर्दा पनि नेपालको प्रदर्शनमा एकनास नदेखिएको हुन सक्छ । त्यसैले प्रशिक्षक डेभ वाटमोरले नेपालले धेरैभन्दा धेरै घरेलु क्रिकेट खेल्नुपर्ने बताएका छन् ।

ओमानलाई पहिलो पटक हराएपछि अब कन्फिडेन्ट बढेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्रले भने, ‘कन्फिडेन्ट लिएरै हिँड्नुपर्छ जस्तो टिम भए पनि, हामी पार्टिसिपेट गर्न आएको होइन खेल्न र जित्न आएको हो ।’

यस्तै उनले युवा खेलाडीको प्रदर्शनले आशा देखाएको बताए । ‘अब उनीहरुले नै अगाडि बढेर जिम्मेवारी लिओस् भन्ने नै हो,’ उनले भने ।

नेपालका चार खेलाडीले ओडीआईमा डेब्यु गर्ने अवसर पाए । जसमा आसिफ शेख र कुशल भुर्तेलले पपुवा न्युगिनीविरुद्ध ओडीआईमा डेब्यु गर्दै लगातार ६ वटै खेल खेले । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएपछि रोहितकुमार पौडेलले पनि खेल्ने अवसर पाए र उनले पनि आफूलाई प्रमाणित गरे ।

ग्लोबल सुपर स्टार सन्दीप लामिछानेले पनि आफ्नो उत्कृष्ट प्रदर्शन ओमानमा देखाए । यस्तै करण केसीले पनि राम्रो बलिङ गरे । १७ वर्षीय फास्ट बलर गुल्शन झाले पहिलो पटक राष्ट्रिय टिमबाट विदेश टूर गर्दै डेब्यु गर्ने अवसर पाए ।

यस्तै अर्का फास्ट बलर विक्रम सोबले ओडीआई डेब्युको पहिलो बलमै विकेट लिँदै कीर्तिमान नै बनाए । कप्तान ज्ञानेन्द्रले पनि ओमान टूरमा अन्तिम दुई खेलमा लगातार दुई अर्धशतक प्रहार गरे । उनी नेपालका लागि सर्वाधिक ४ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

ओमान दुई नयाँ ओपनर आएपछि ज्ञानेन्द्रले वान डाउनमा ब्याटिङ गरे । शुरुका खेलमा ज्ञानेन्द्रले स्कोरलाई ठूलो स्कोरमा बदल्न नसके पनि पछिल्ला खेलहरुमा भने राम्रो ब्याटिङ गरेका थिए ।

ज्ञानेन्द्रले पपुवा न्युगिनीविरुद्ध पहिलो खेलमा ६ र दोस्रो खेलमा ४५ रन बनाएका थिए । त्यसपछि लिग २ सिरिजमा अमेरिकाविरुद्ध पहिलो खेलमा १७ र ओमानविरुद्ध २१ रन बनाएका उनले अन्तिम दुई खेलमा अर्धशतक प्रहार गरे । अमेरिकाविरुद्धको दोस्रो खेलमा ५५ रन बनाएका ज्ञानेन्द्रले ओमानविरुद्ध अन्तिम खेलमा अविजित ५२ रन बनाएका थिए ।

उनले टिमको आवश्यकता अनुसार आफूले ब्याटिङ गर्दै आएको र त्यो नै पहिलो प्राथमिकता भएको बताए । ‘टिमको लागि के गर्नुपर्छ टिमको आवश्यकता अनुसार कस्तो डिमाण्ड गर्छ ओपनिङ होस् या वान डाउन । त्यही अनुसार गर्ने हो । यसअघि ओपनिङमा फाउण्डेसन गर्न ट्राई गरेको थियो,’ ज्ञानेन्द्रले भने, ‘वान डाउनमा पनि यो सिरिजमा सोचेजति राम्रो गर्न सकेन । जहिले पनि टिमलाई आवश्यकता अनुसार अघि लैजानुपर्छ ।’

ज्ञानेन्द्रले व्यक्तिगत रुपमा राम्रो वा नराम्रो जे गर्दा पनि आफ्नो आलोचना भइरहेकोमा भने केही दुःख लागेको बताए ।

तस्वीर सौजन्य : क्यान

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?