+
+

पारस र दीपेन्द्रले ईपीएल नखेल्ने, यी हुन् ईपीएल खेल्ने टिम र खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १४:५०

५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र वर्तमान टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

यही असोज ९ गतेदेखि शुरु हुने ईपीएलका लागि आयोजक ईपीएल प्रालिले मंगलबार सार्वजनिक गरेको ६ वटै ईपीएल खेल्ने टिमको खेलाडी सूचीमा पारस छैनन् । पारसले यसअघि विराटनगर वारियर्सबाट खेल्दै आएका थिए । पारसकै कप्तानीमा विराटनगरले २०१७ मा ईपीएलको उपाधि जितेको थियो ।

पारसले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर घरेलु क्रिकेट भने खेल्ने संकेत गरेका थिए । यद्यपि, उनले ईपीएल नखेल्ने भएका छन् ।

यस्तै काठमाडौं किंग्स ११ मा अनुबन्ध भएका नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ईपीएल नखेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमसँग ओमान भ्रमणका क्रममा दीपेन्द्र घाइते भएका थिए ।

उनले ओमान टूरमा नेपालको सबै खेल गुमाएका थिए । चोटका कारण केही हप्ता विश्राम गर्नुपर्ने भएकोले दीपेन्द्रले ईपीएल नखेल्ने भएका हुन् ।

यसैगरी विराटनगर वारियर्सबाटै खेल्दै आएका स्पीनर वसन्त रेग्मीले पनि ईपीएल नखेल्ने भएका छन् । वसन्तसँगै अमेरिकामा माइनर क्रिकेट लिग खेलेका पृथु बास्कोटा पनि ईपीएल खेल्ने सूचीमा छैनन् । पृथु पोखरा राइनोजमा अनुबन्ध भएका थिए ।

चौथो संस्करणको ईपीएल आगामी शनिबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स ११ सँग खेल्नेछ । फाइनल खेल असोज २३ गते हुनेछ ।

ईपीएलको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउनेछ । यस पटक ईपीएलको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको हो ।

ईपीएलमा ललितपुर र काठमाडौंसहित विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, बंगलादेशका सफल ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका पूर्व कप्तान तथा ओपनर उपु थरंगा र अहिलेका राष्ट्रिय टिमका खेलाडी असेला गुनरत्ने, वेस्ट इन्डिजका केसरिक विलियम्स र हेमराज चन्द्रपल, जिम्बावेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद शाहजाद र रहमानुलल्ह गुर्बाज जस्ता खेलाडी खेल्दैछन् ।

ईपीएलले सार्वजनिक गरेको ६ वटै टिमको खेलाडीहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?