
५ असोज, काठमाडौं । सरकारको आग्रहमा तीन ठूला मार्टले देशैभरका आउटलेटबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् । सोमबार वाणिज्य विभागमा भएको छलफलमा भाटभटेनी, सेल्सबेरी र बिगमार्टले आफ्नो सबै आउटलेटमा सहुलियत पसल सञ्चालन गर्ने सहमति जनाएको विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।
ती संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व कोष अन्तर्गत खर्च गर्नेगरी उपभोक्तालाई छुट दिन सहमति जनाएको प्रवक्ता सेढाईंले बताए । उपभोक्ताको आधारभूत आवश्याकताका वस्तुहरुमा ती संस्थाहरुले सकेजति सहुलियत दिने र यसकालागि हरेक आउटलेटमा सहुलियतको बोर्ड नै राख्ने सहमति भएको सेढाईंले बताए ।
प्रारम्भिक रुपमा देशका धेरै ठाउँमा आउटलेट भएका र उपभोक्ताको बढी भीड हुने स्थानलाई लक्षित गरेर सहुलियतका लागि आग्रह गरिएको विभागको भनाइ छ । उपत्यकामा बिगमार्टको ५७, सेल्सबेरीको २६ र भाटभटेनीको देशभर १९ वटा आउटलेट छन् ।
मुख्य चाड पर्वमा सहुलियत पसल राख्नेबारे विभागसँग छलफल भएको तर निष्कर्षमा नपुगिसकिएको सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सीएन पाैडेलले बताए । विभागले सहुलियतपसल सञ्चालन गर्न आग्रह गरेको तर त्यो कसरी र के-के वस्तुमा सहुलियत दिने भन्ने नटुंगिएको पाैडेलले बताए ।
सरकारको आग्रह पछि देशभरका आफ्ना सबै शाखामार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको भाटभटेनी सुप्पर मार्केटले जनाएको छ । आफ्नो आउटलेटबाट बिक्री थालिने आधारभूत खाद्य वस्तुमा के कति सहुलियत दिने भन्नेबारे केही दिनमै सार्वजनिक गरिने सुप्पर मार्केटका प्रमुख प्रशासकीय अधिकृत पन्नु डी पौडेलले बताए ।
प्रतिक्रिया 4