+
+

रत्नजित र रशिलालाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते २१:०२

५ असाेज, काठमाडौं । विभागीय टाेली त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र रशिला महर्जनले प्रथम रिभाइब लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जितेका छन् । शीर्ष वरियताका रत्नजित पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाइब लिजर पार्कको कोर्टमा मंगलबार भएको फाइनलमा रत्नजितले विश्व जुनियर वरियताको तेस्रो स्थानमा रहेका आयोजक रिभाइब लिजर पार्कका प्रिन्स दाहाललाई २-१ को सेटमा हराउँदै उपाधि जितेका हुन् ।

रत्नजितले प्रिन्समाथि २०-२२, २१-१९, २१-१३ को जित निकाले । उपाधिसँगै रत्नजितले ५० हजार रुपैयाँ हात पारे । दोस्रो भएका प्रिन्सले २५ हजार रुपैयाँ तथा तेस्रो भएको प्रफुल महर्जन र साजन कृष्ण ताम्राकारले समान १० हजार रुपैयाँ हात पारे ।

महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी अनु माया राईलाई २१-८, १७-२१, २२-२० ले हराइन् । उपाधिसँगै रशिलाले ५० हजार रुपैयाँ हात पारे । दोस्रो भएकी अनुले २५ हजार रुपैयाँ तथा तेस्रो भएको जेसिका गुरुङ र अमिता गिरीले समान १० हजार रुपैयाँ हात पारिन् ।

शीर्ष २० देखि बाहेकका पुरुष युगलतर्फ मनकामना स्पोर्ट्स क्लबका विशाल बस्नेत र प्रनिश सिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्स क्लबका राम बानियाँ र सुजन थापाको जोडीलाई २१-१६, १७-२१, २१-१८ ले पराजित गर्दै उपाधि जित्न सफल भए ।

उपाधिसँगै विशाल बस्नेत र प्रनिश सिंह ठकुरीको जोडीले ५० हजार तथा दोस्रो भएको राम बानियाँ र सुजन थापाको जोडीले २५ हजार रुपैयाँ प्राप्त गरे । तेस्रो भएको प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पा र विधान अधिकारी र विशाल खड्काको जोडीले समान १० हजार रुपैयाँ हात पारे ।

भेट्रान्स ४५ वर्षमाथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाखे र चितवनका सुवास श्रेष्ठको जोडीले रिभाइज लिजर पार्कका रामशरण केसी र हरि खत्रीको जोडीलाई १९-२१, २१-१४, २१-१९ ले पराजित गर्दै च्याम्पियन बने ।

उपाधिसँगै सुभास र अनिलको जोडीले २५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको रामशरण केसी र हरि खत्रीको जोडीले १५ हजार तथा तेस्रो भएको राम केसी र मिलान थापाको जोडी र किशोर व्यन्जनकार र सुदिन शाक्यको जोडीले समान ५५ हजार प्राप्त गरे । १ असोजदेखि शुरु भएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखिबाहेकका पुरुष युगल र ४० बर्षमाथिको भेट्रान्स युगल गरि ४ विधामा २ सय बढी खेलाडीले सहभागिता जनाएको थियो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, रिभाइब लिजर पार्कका सञ्चालक तथा आयोजक कमिटीका अध्यक्ष शुक्र पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, आयोजक कमिटीका लिलाबहादुर थापा, ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?