+
+

प्रदेश २ सरकारको कार्यक्रमसम्बन्धी कार्यविधि : सहभागीलाई ७५० रुपैयाँको खाना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १३:०७

६ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता कार्यक्रममा सहभागी हुनेले ७५० रुपैयाँ बराबरको खाना खान पाउने भएका छन् । यस्तै उनीहरुले २५० रुपैयाँ बराबरको खाजा खाने भएका छन् ।

सरकारले प्रदेशस्तरीय दिवस, समारोह, कार्यक्रम सञ्चालन गर्ने कार्यविधि नै बनाएको छ । २०७७ सालमै बनाइएको यो कार्यविधिमा प्रदेशस्तरीय कार्यक्रमको खर्च तोकिएको छ ।

जसअनुसार सभाहलभित्र मञ्च व्यवस्थापनका लागि ५० हजार दिइनेछ । खुल्ला चौरमा कार्यक्रमको आयोजना गरिए २ लाखसम्म खर्च गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

दिवा खानामा प्रतिव्यक्ति ७५०, खाजाका लागि प्रतिव्यक्ति २५० रुपैयाँ दिइनेछ । शुभकामना आदानप्रदानको लागि रात्रिकालीन खाना तथा चियापानका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ खर्च गरिनेछ ।

कार्यक्रम वा उत्सवमा स्थानीय संस्कृति तथा पेशासँग सम्बन्धित झाँकी, नृत्य प्रस्तुत गर्ने प्रतिटोलीलाई २० हजार दिइनेछ भने सम्मान कार्यक्रम गर्दा एक जनाको लागि दोसल्ला, कदर पत्र र सम्मान पत्र बनाउन ३ हजार रुपैयाँ खर्च गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यक्रम गर्नका लागि विविध शीर्षककामा ७० हजारसम्म खर्च गरिने कार्यविधिमा उल्लेख छ । यसैगरी विविधअन्तर्गत झण्डा, तुल, पानी, चिया, प्रचारप्रसार व्यवस्थापन खर्चलाई कार्यविधिमा समेटिएको छ ।

कुनै पनि दिवस, कार्यक्रम वा जयन्ती मनाउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीकै संयोजकत्वमा व्यवस्थापन समिति बनाइनेछ । समितिमा सम्बन्धित मन्त्रालयका राज्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सम्बन्धित मन्त्रालयका सचिव सदस्य र सम्बन्धित मन्त्रालयको महाशाखा प्रमुख सदस्य सचिव रहनेछन् । दिवस वा कार्यक्रमसम्बन्धी बैठक गर्दा यी पदाधिकारीले प्रचलित कानून बमोजिम कार्यक्रमका लागि विनियोजित बजेटबाट बैठक भत्ता पनि पाउनेछन् ।

उक्त समितिले नै मन्त्रालय वा निकायको वार्षिक बजेट तथा कार्यक्रममा भएको दिवस, समारोह जयन्ती समेत मनाउनका लागि स्वीकृति दिँदै कार्यक्रम सञ्चालन गर्ने/गराउने र लाग्ने खर्चको अनुमोदन समेत गर्छन् ।

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरी प्रदेश २ सरकारले यो कार्यविधि बनाएको छ । कार्यविधिलाई प्रदेश सरकारले आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?