+
+

चितवनको रत्ननगर अस्पतालले दुई वर्षमै फड्को मार्‍यो

रासस रासस
२०७८ असोज ७ गते १३:१६
फाइल तस्वीर

७ असोज, चितवन । निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल बनेको छ । दुई वर्षमा आमूल परिवर्तन गरेको उक्त अस्पतालबाट चार नगरपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले  विशेषज्ञ चिकित्सकसहितको टोली छ । अस्पतालको सुधारमा योगदान पुर्‍याएका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगाले राजधानी बाहिरका प्रदेशस्तरको अस्पतालको तुलनामा अग्रणी अस्पतालको रुपमा अघि बढ्न यो अस्पताल सफल भएको बताउँछन् ।

दैनिक २५० जनाको हाराहारीमा बिरामी स्वास्थ्य बीमाको रिफरका लागि आउने गरेकोमा अहिले यो संख्या ६५० हाराहारी पुगेको छ । त्यसो त अहिले आउने बिरामी रिफरका लागि नभएर उपचारकै लागि आउने गरेका हुन् ।

पूर्वी चितवनमा स्वास्थ्य बीमाको प्रथम बिन्दु उक्त अस्पताल भएकाले उपचार नपाए पनि रिफरका लागि बिरामी जाने गरेकोमा अहिले त्यही उपचार हुन थालेको उनी बताउँछन् । २०२४ सालमा हेल्थपोष्टका रुपमा स्थापित उक्त अस्पताललाई स्वास्थ्य मन्त्रालयले २०६४ मा १५ शय्याको अस्पताल बनाउन स्वीकृत दिएको थियो । संघीयतासँगै प्रदेशस्तरीय अस्पताल बनेको उक्त अस्पताल अहिले रत्ननगर नगरपालिका मातहत सञ्चालन हुँदै आएको छ ।

पछिल्लो समय ५० शय्या स्वीकृत भएकोमा ४३ शय्या सञ्चालन हुँदै आएको छ । निकट भविष्यमा नै १०० शय्या पुर्‍याउने तयारी गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. बगालेको भनाइ छ ।

अस्पतालमा पाँच शय्याको डायलाइसिस सेन्टर छ । यसको व्यवस्थापन राष्ट्रिय मिर्गोला केन्द्रले गर्दै आएको छ । यसैगरी स्वीजरल्याण्ड निवासी डा. रुथको संयोजकत्वमा छालासम्बन्धी उपचार पनि हुँदै आएको छ । शान्ति मेड नामक सो संस्थाले १५ विशेषज्ञ चिकित्सकसहित कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दै आएको छ । यो संस्था डा. रुथको हो । उनको चिकित्सक समूहसँग छालाको उपचारका लागि चितवन र छिमेकी जिल्लाबाट पनि  आउने गर्दथे ।

पछिल्लो समय बहिरंग सेवाका भवन निर्माण भएकाले अस्पतालको सेवा विस्तार पनि गरिएको छ । यहाँ हाल मानसिक रोगबाहेकका अधिकांश विभाग सञ्चालनमा छन् । अस्पतालमा केही समयपछि पाँच–पाँच शय्याका बाल सघन उपचार कक्ष, एक महिनादेखि १४ वर्षसम्मका लागि पीआईसीयू र सघन उपचार कक्ष सञ्चालनमा ल्याउन लागिएको छ ।

अस्पतालमा दैनिक चार/पाँच जनाको शल्यक्रिया हुँदै आएको छ । चौबीसै घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सकसहित आकस्मिक सेवा सञ्चालन भएकाले बिरामी लाभान्वित भएका छन् । अस्पतालमा नयाँ शल्यक्रिया कक्ष र १० शय्याको पोष्टअप निर्माण पनि अन्तिम चरणमा पुगेको छ । अस्पतालमा दैनिक ५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको छ । पीसीआर गर्ने उपकरण पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

अस्पतालको आफ्नै फार्मेसीमा ६०० भन्दा बढी प्रकारका औषधि रहेकाले बिरामीका लागि मागअनुसारको औषधि उपलब्ध गराउन सकिने मेडिकल सुपरिटेण्डेण्ट डा. बगाले बताउँछन् । २५ चिकित्सकसहित १२५ स्वास्थयकर्मी तथा कर्मचारीमध्ये १४ विशेषज्ञ चिकित्सक छन् ।

बिरामीको चाप र भीडभाड हुन नदिन बिहान ८ बजेदेखि टिकट काट्ने र ९ बजेदेखि  परीक्षण गर्ने गरिएको छ । कोभिडको समयमा समेत कहिल्यै पनि बहिरंग सेवा बन्द नगरिएको अस्पतालले जनाएको छ । पछिल्लो समय सेवा विस्तारसँगै अस्पतालमा आम्दानी पनि बढेका कारण अस्पतालकै आम्दानीबाट सेवा बढाउँदै लगिएको डा. बगालेको भनाइ छ । अस्पतालको मुख्य आम्दानी बीमा भएकाले  मासिक रुपमा ६० लाख रुपैयाँभन्दा बढी बीमा दाबी गर्ने गरिएको छ । मासिक खर्च २५ लाख हाराहारी छ । वचत रकम अस्पताल विस्तारमा खर्च हुँदै आएको मेडिकल सुपरिटेण्डेण्ट डा. बगालेले बताए ।

प्रदेश सरकारको सैद्धान्तिक सहमति भए पनि हालसम्म खासै सहयोग भने अस्पतालले पाउन सकेको छैन । सांगठनिक संरचना निर्धारण गरेर प्रदेश सरकारले बजेट दिएमा नमुना अस्पताल बनाउन सकिनेमा उनी जोड दिन्छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन अस्पताललाई स्तरीय बनाउन नगरपालिकाले काम गर्दै आएको बताउँछन् । ‘भवनको तला थप, कम्पाउण्डवाल लगायत भौतिक संरचनासँगै ९ जना स्वास्थ्यकर्मी कर्मचारीको तलब नगरपालिकाले बेहोर्दै आएको र अस्पतालभित्रै  मातृशिशु अस्पताल बन्दै गरेको छ,’ उनी भन्छन्, ‘यो अस्पताललाई नेपालकै नमुना अस्पतालको रुपमा विकास गरेका छौं । अस्पताल विस्तार गर्दै जाँदा जग्गा अभाव भएमा आवश्यक जग्गा उपलब्ध गराउन पनि छलफल भइरहेको छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?