+
+

जंगीअड्डामा कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १६:२३

७ असोज, काठमाडौं । नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक बिहीबारबाट जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्टाइएको कमाण्ड संरचनामा गएपछि पहिलो पटक कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठक बसेको हो ।

यसअघि पृतनापतिहरुको सम्मेलन हुने गरेको थियो । नयाँ संरचनामा सेनाको पृतनाहरु खारेज भएका छन् । पहिलो बैठकको उद्घाटन प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

बैठकमा सम्बोधन गर्दै देउवाले नेपाली सेनाको रणनीति तहमा सञ्चालन हुने यस किसिमको छलफलले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै सम्बन्धित विषयहरुमा साझा धारणा निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । साथै, चुनौति सामना गर्न समय सान्दर्भिक प्रतिकारात्मक उपायको विकास गर्न पनि बैठकले भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताए ।

‘नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरशः पालना गर्न नेपाली सेना कटिबद्ध छ, प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभ्एसम्म कर्तव्यपथमा सेना अडिग रहनेछ’ शर्माले भने, ‘देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको छ ।’ त्यसबाट सिर्जना हुनसक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयार रहेको पनि उनले बताए ।

बैठकमा सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु पनि आफ्नो जिम्मेवारी क्षेत्रका परिस्थितिबारे विश्लेषण सुनाउनेछन् । बैठक शुक्रबार सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?