+
+

वैदेशिक रोजगारीमा जाने बढे, तर घट्यो रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १९:२४

७ असोज, काठमाडौं । कोरोना महामारीका बेला पनि नघटेको रेमिट्यान्स चालु आर्थिक वर्षको पहिलो महिनामा नै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ ।

यो अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा १८.१ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या लगभग ठप्प थियो । त्यस्तो अवस्थामा पनि रेमिट्यान्स आउने क्रम बढेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भित्रने रेमिट्यान्स पनि १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाखमा झरेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या उल्लेखीय रुपमा बढ्दा पनि रेमिट्यान्समा गिरावट आएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३ हजार ८०० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?