
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनमा रहेका अन्य दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए । ‘घटक पार्टीहरूको कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरषद्ले पूर्णता पाउन सकेको छैन,’ उनले भने, ‘उहाँहरूको अदालतमा मुद्दा छ । गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो ।’
नेपालमा लगानी गर्नेका लागि स्रोत नखोज्ने र सेनिटरी प्याडमा कर लगाउने सरकारको योजनामा पनि सिंहले प्रश्न उठाए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले यस्ता निर्णयमा ध्यान दिएर हेर्नुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उनको भनाइ थियो ।
राजनीति भनेको सेवाको क्षेत्र हो, मेवा खाने क्षेत्र होइन भन्दै नेता सिंहले अब पुराना नेताहरूलाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताए । ‘पुराना नेताहरूलाई सम्मानजनक रूपमा नेतृत्वबाट बाहिर पठाएर नयाँ नेताहरूले नेतृत्व लिएर जनतामा आश जगाउनुपर्छ,’ उनले भने ।
राजनीति जनताको विश्वासमा चल्ने र त्यो कायम राख्नका लागि जनताको विश्वास गुमाइका नेतालाई बारम्बार पदमा पु¥याउन नहुने नेता सिंहको भनाइ छ । पदमा पुगेर केही काम नगर्ने नेतालाई बिदा गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4