+
+

चितवनका ५ वटा नगरपालिकामा कांग्रेस पदाधिकारी निर्वाचित

भरतपुर महानगर र रत्ननगर नगरपालिकामा आज निर्वाचन

सुवास पण्डित सुवास पण्डित
२०७८ असोज १० गते ९:१९

१० असोज, चितवन । चितवनका सातमध्ये पाँच स्थानीय तहमा भएका अधिवेशनबाट पदाधिकारीहरु निर्वाचित भएका छन् । पाँचमध्ये तीन वटामा रामचन्द्र पौडेल पक्षका र दुई वटामा देउवा पक्षका निर्वाचित भएका छन् ।

कांग्रेस चितवनका अनुसार कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अधिवेशनबाट नयाँ पदाधिकारीहरु चयन भएका छन् । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा आज बिहानबाट निर्वाचन हुँदैछ ।

कांग्रेस राप्ती नगर कार्यसमितिको सभापतिमा देवेन्द्र लामा निर्वाचित भएका छन् । शनिबार राति गरिएको मतगणनामा १२७ मत प्राप्त गर्दै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत प्राप्त गरे ।

लामा देउवा पक्षबाट प्यानलसहित निर्वाचित बनेका हुन् । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे, सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कंडेल, सह–सचिवमा मनोज तामाङ र सारा प्रजा निर्वाचित भएका छन् । निर्वाचित सबै लामा प्यानलका हुन् । यस्तै ६ जना नगर सदस्य भने सर्वसम्मत चयन भए ।

राप्तीमा कुल २२७ जना मतदाता रहेकोमा निर्वाचनमा २२४ मत खसेको थियो ।

यस्तै, नेपाली कांग्रेस कालिका नगरपालिकाको सभापतिमा दीपेश्वर केसी निर्वाचित भएका छन् ।

शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार ११२ मत प्राप्त गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी लिलाबहादुर गुरुङले १०९ प्राप्त गरे ।

नगर सभापतिका लागि शिवप्रसाद शर्मा पौडेलले उम्मेद्वारी फिर्ता लिएपछि केसी र गुरुङबीच प्रतिस्पर्धा भएको थियो । केसी जिल्ला पार्टी सभापति जीत नारायण पक्षका मानिन्छन् । उनी प्रकाशमान सिंह पक्षका हुन् ।

उपसभापतिमा जीएन महतो र चेतबहादुर गुरुङ, सचिवमा फडिन्द्रप्रसाद लामिछाने र राजन रेग्मी तथा सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल निर्वाचित भए ।

यस्तै, नेपाली कांग्रेसको खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् । आइतबार बिहान आएको मतपरिणाम अनुसार प्रतिस्पर्धी शशी खनियाँलाई ३ मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । खनियाँ अहिलेका बहालवाला पार्टी सभापतिसमेत हुन् । विजयी श्रेष्ठ देउवा पक्षका हुन् ।

श्रेष्ठले १ सय ४५ मत ल्याउँदा खनियाले १४२ मत ल्याए । उपसभापतिमा प्रेमप्रसाद रेग्मी र विक्रम पन्जियार, सचिवमा अनुप अधिकारी र टिकादत्त इटनी तथा सहसचिवमा राजेन्द्र रिजाल र अमृता उप्रेती विजयी भएका छन्  ।

यस्तै, कांग्रेस माडी नगर सभापतिमा कोमलनाथ भुषाल विजयी भए । भुषालले  खेमप्रसाद महतोलाई ३ मतले पराजित गरे । भुषालले ७४ र महतोले ७१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । भुषाल रामचन्द्र पौडल पक्षका हुन् ।

उपसभापतिमा गणेश पौडेल र मायानाथ अधिकारी, सहसचिव इन्द्र प्रसाद चापागाई र दीक्षा भट्टराई बने । नगर सचिव पदमा लोकनाथ लामिछाने र कपिल अधिकारी सर्वसम्मत चयन भएका छन् ।

माडीका ९ वडाका १ सय ४८ जना प्रतिनिधिले मतदान गरेको मतदान अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा नेपाली कांग्रेस गाउँ कार्यसमिति सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले प्रत्यासी उम्मेद्वार विष्णुकुमार कुँवरलाई ४ मतले पराजित गरेका हुन् । श्रेष्ठले ६६ र कुँवरले ६२ मत प्राप्त गरे । श्रेष्ठ जिल्ला पार्टी सभापति जीत नारायण श्रेष्ठ पक्षका हुन् ।

उपसभापतिमा दीपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र सहसचिवमा उत्तर कुमार गुरुङ र सुधीरबाबु अधिकारी विजयी भएका छन् ।

भरतपुर र रत्ननगरमा आज निर्वाचन

चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा नगरसभापतिसहितको पदाधिकारीहरुका लागि आज निर्वाचन हुँदैछ ।

भरतपुर महानगरमा सभापति पदमा पाँच जना उम्मेदवारहरू छन् । भरत अधिकारी, चित्रसेन अधिकारी, हिरामणि अधिकारी, वचन कार्की र अर्जुन रिजालले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

चित्रसेन महानगरका निर्वाचित वडाध्यक्ष हुन् भने, भरत भरतपुर नगरका पार्टी सभापतिसमेत हुन् । भरत, चित्रसेन र अर्जुन पौडेल पक्षका हुन् भने, कार्की र हिरामणि देउवा पक्षका हुन् ।

नगर उपसभापतिमा ९ जना, सचिवमा ७ जना र सहसचिवमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

भरतपुर महानगरपालिकाको निर्वाचन यसअघि विश्वप्रकाश माविमा तय गरिएको थियो । तर विरोध भएपछि पार्टी प्यालेसमा राखिएको छ ।

निर्वाचन भरतपुरको अतिथि पार्टी प्यालेसमा हुँदै छ ।

यस्तै, पूर्वी चितवनको रत्ननगर नगरपालिकाको सभापतिमा रूपनराज घिमिरे र प्रह्लाद सापकोटाबीच प्रतिस्पर्धा हुँदैछ ।

घिमिरेले पौडेल पक्षबाट र सापकोटाले देउवा पक्षबाट उम्मेदवारी दिएका हुन् भने  । होटल स्टार ब्यांक्वेटमा निर्वाचन सुरु हुँदैछ ।

दुई जना उपसभापतिका लागि अपिल अधिकारी, कमलनाथ अधिकारी घिमिरे प्यानलबाट र केदारमान वाइवा र शिवकान्त पौडेल सापकोटा प्यानलबाट उम्मेदवार छन् ।

दुई जना सचिवका लागि अनिता अर्याल, वीरेन्द्र महतो, दीपेन्द्र श्रेष्ठ र तीर्थराज सुवेदी चुनाबी मैदानमा छन् । त्यसैगरी दुई जना सहसचिवका लागि अमृत बहादुर मल्ल, चन्द्रमाया चौधरी, गोविन्द प्रसाद भट्टराई र रामचन्द्र पौडेल चुनाबी मैदानमा छन् ।

वडागत रुपमा निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ४२३ जनाले मतदान गर्ने छन् ।

कांग्रेसको गाउँ नगरअधिवेसनबाट ५ सय ३९ जना नेतृत्वमा आउँदैछन् । जसमध्ये ४९ जना पदाधिकारीहरू बन्नेछन् । २ सय ९४ जना प्रत्यक्ष र १ सय ९६ जना समानुपातिकबाट चयन हुने निर्वाचन समितिले जनाएको छ ।

वडाअधिवेशनबाट ९८ जना वडासभापति चयन भैसकेका छन् । २ हजार ८ सय १५ जना क्षेत्रीय प्रतिनिधिहरू चयन भएका थिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?