+
+

कसरी बित्छ दीपिका प्रसाईंको दैनिकी ?

सुशील नेपाल सुशील नेपाल
२०७८ असोज १० गते १३:५५

‘ऐश्वर्य’बाट नेपाली चलचित्रमा भित्रिएकी अभिनेत्री हुन् दीपिका प्रसाईं । पहिलो चलचित्रबाटै ख्याती कमाएकी दीपिकाले त्यसपछि काम गरिन्, दीपक–दीपाको चलचित्र ‘‘छक्का पन्जा ३’’मा । दीपिकाको दोस्रो चलचित्रले अझ बढी चर्चा कमायो ।

दीपिकासँग जोडिएर आउने नाम हो, दिवाकर भट्टराई । दीपिकाको पहिलो चलचित्र ‘ऐश्वर्य’ उनै दिवाकरको निर्देशनमा बनेको हो । अहिले दिवाकर र दीपिका श्रीमान–श्रीमती बनेका छन् ।

कोरोना महामारी हुँदैनथ्यो त उनीहरूले होम प्रोडक्सनबाट ‘तिमीसँगै हुने मन छ’को छायाँकन सकिसकेका हुन्थे । कोरोना महामारीका कारण यो चलचित्रको छायाँकन शुरु हुन पाएन । अहिले भने दीवाकर र दीपिका रेष्टुरेन्ट खोल्ने अन्तिम तयारीमा छन् । यही मेसोमा हामीले दीपिकासँग उनको दैनिकीबारे कुराकानी गरेका छौं ।

बिहान कति बजे उठनुहुन्छ ? उठ्ने समय एउटै हो वा फरक हुन्छ ?

कहीलेकाँही ढिलोचाँडो हुन सक्छ । प्रायः ६ बजे उठ्छु ।

दैनिकी के कामबाट शुरु हुन्छ ?

उठेपछि एक गिलास मनतातो पानी पिउँछु । फ्रेस भइसकेपछि घरबाट डान्स क्लास, वर्कआउटका लागि निस्किन्छु । साढे ६ बजेदेखि साढे ७ बजेसम्म त्यहाँ बिताउँछु ।

बिहानमा ब्रेकफास्ट खानुहुन्न ?

अहिले म अलिकति डाइटमा पनि छु । त्यो भएर बिहानमा नास्ता प्रायः खाँदिनँ ।

डाइटमा किन ?

केही प्रोजक्टहरू तयारीमा छन् । त्यसका लागि तौल घटाउनुपरेको छ । त्यसमाथि अहिले त्यत्तिकै पनि तौल अलिकति बढिरहेको थियो । त्यसकारण अहिलेलाई ब्रेकफास्ट ‘स्किप’ गरेकी छु ।

चिया पनि पिउनु हुँदैन ?

चिया त मेरो कुनै दिन छुट्दैन । बिहानको समय भन्ने हुँदैन । जुन समय भएपनि चिया चाहिँ हरेक दिन चाहिन्छ । चिया भएन भने टाउको दुखिहाल्छ । अल्छि लागिरहेको, मुड अनफ्रेस भइरहेको समयमा चिया पिएँ भने फ्रेस भएको अनुभव गर्छु ।

खाना कति बजे खानुहुन्छ ?

खाना खाँदा १२ बज्छ ।

खाना आफैं बनाउनुहुन्छ ?

धेरैजसो श्रीमानले बनाउनुहुन्छ । कुकिङमा मभन्दा उहाँले बढी रुचि देखाउनुहुन्छ ।

उहाँले मिठो बनाउनुहुन्छ ?

एकदमै ।

कस्तो खाना रुचाउनुहुन्छ ?

म एकदमै सादा खालको खाना रूचाउँछु । भात, दाल, तरकारी, अचार त्यही नै हो । त्यसमा चिल्लो, पिरो, अमिलो कम हुन्छ । पहिले लाइफस्टाइल अलिकति बिग्रेको थियो– बाहिरको चिल्लोपिरो धेरै खाएर । अहिले त्यसमा एकदमै सचेत हुन्छु ।

श्रीमानले बनाएको कुन खानेकुरा मिठो लाग्छ ?

प्रायः सबै खानेकुरा मिठो बनाउनुहुन्छ । उहाँ राम्रो कुक हो । तर, त्यसभित्र पनि खसीको मासु एकदमै धेरै मिठो बनाउनुहुन्छ ।

माछा–मासु कत्तिको खानुहुन्छ ?

नियमितजसो चाहिँ खाँदिनँ । तर बेलाबेलामा मनलाग्दा खाइरहेकी हुन्छु ।

तपाईंलाई भान्सामा कत्तिको जाँगर चल्छ ?

भान्सामा काम गर्ने जाँगर अलिकति कम नै चल्छ । दीवाकरजी (श्रीमान) र मेरो कुरा हुँदा सरसफाइको काम मेरो भयो, कुकिङको काम तपाईंको भनेर सल्लाह नै गरिरहेका हुन्छौं । उहाँ भान्सामा जाँगर पनि गर्नुहुन्छ । मिठो पनि पकाउनुहुन्छ । त्यसकारण प्रायः खाना उहाँ नै बनाइरहनुभएको हुन्छ । अनि सरसफाइको काम चाहिँ मेरो हुन्छ । मलाई फेरि हरेक ठाउँ एकदमै सफा चाहिन्छ ।

तपाईं आफूले कुन खानेकुरा मिठो बनाउनुहुन्छ ?

पकाउन मलाई सबै आउँछ । मात्र जाँगर त्यति नचल्ने हो । मैले पनि मासुको परिकार मिठो बनाउँछुजस्तो लाग्छ । दीवाकर सरले पनि तिमीले मासुको परिकार मिठो बनाउछौ भन्नुहुन्छ ।

बाहिर रेष्टुरेन्टमा मीठो लाग्छ कि घरमा बनाएको ?

अहिले त मैले बाहिरको खासै खाँदिनँ । बाहिर खानेकुरा खान नपरोस् लागिरहेको हुन्छ । १५–२० दिनमा मात्र बाहिर खाइरहेको हुन्छु ।

दिउँसोको समय कसरी बितिरहेको हुन्छ ?

अहिले चलचित्र सुटिङको काम भएको छैन । दशैं तिहारपछि मात्र सुटिङमा जान्छौं होला । हामीले आफ्नै रेष्टुरेन्ट खोल्दैछौं । त्यसैको कामको लागि दौडधूपजस्तो भइरहेको छ । काम सकिए दशैंअगाडि, नत्र दशैंपछि रेष्टुरेन्ट ओपनिङ गर्ने लक्ष्य हो । ओपनिङ नहुन्जेलसम्मका लागि यसकै तयारीमा दिन बितिरहेको छ ।

घरबाट बाहिर निस्कनुअघि मेकअपमा कति समय लाग्छ ?

अहिले मैले मेकअप एकदमै छिटो गर्छु । पहिले–पहिले अलि समय लाग्थ्यो । १५ मिनेटमा मेकअप, ड्रेसअप सकेर निस्किन सक्छु ।

कस्तो लुगाफाटो सहज लाग्छ ? बाहिर हिँडडुल गर्दा ?

सामान्यतया पाइन्ट–टिसर्ट नै हो । प्रायः त्यही नै लगाएर हिँडछु । वानपिस पनि लगाइरहेको हुन्छु । क्याजुअल ड्रेसअपमा, सिम्पल लुक्समा हिँडन रुचाउँछु ।

कपडामा सौखिन हुनुहुन्छ ?

म त्यस्तो सौखिन छैन । म खुसी हुनुपर्यो, कपडा मन पर्नुपर्यो, कन्फर्टटेवल हुनुपर्यो ।

सौखिन चाहिँ केमा हुनुहुन्छ ?

म पफ्र्युमको सौखिन हुँ । पफ्र्युमको कलेक्सन घरमा टन्नै छ । त्यो अहिलेको मात्र सौख होइन, जहिलेदेखि आफूलाई बुझेँ त्यहिलेदेखि सौखिन हुँ ।

गरगहनामा कति आशक्ति छ ? गरगहना कति मन पर्छ ?

छैन छैन । कहिलेकाहिँ पार्टीहरूमा लगाउनुपर्छ । नत्र त्यसमा आशक्ति होइन ।

सवारी साधन के प्रयोग गर्नुहुन्छ ?

आफूसँग भएको स्कुटी, गाडी । बढीचाहिँ स्कुटीमा हिँडछु ।

दिनभर बढी समय कोसँग बित्छ ?

अहिले त रेष्टुरेन्टमा बित्छ । अरूबेला दीवाकर सर (श्रीमान) सँगै बित्थ्यो ।

चलचित्र क्षेत्रमा नजिकको साथी कति हुनुहुन्छ ?

चलचित्र क्षेत्रमा मेरो नराम्रो पनि कोहीसँग छैन । त्यसरी एकदमै मिल्ने साथीहरू पनि हुनुहुन्न । तर, बीचमा हामीले संगै मार्सल आर्ट गरेको भएर आँचल शर्मासँग नजिक थिए । अहिले पनि उहाँसँग नजिक छु ।

दिनमा कति रूपैयाँसम्म खर्च हुन्छ ?

त्यो ठ्याक्कै यति भन्ने हुँदैन । अहिले बढी समय रेष्टुरेन्टमा बितिरहेको हुन्छ, रेष्टुरेन्ट बनिरहेको छ । त्यस्तो काममा जाँदा धेरै खर्च हुँदैन । खर्चै गर्छु भनेर कहिले सपिङका लागि गइएला, कहिले अन्त कतै गइएला त्यस्तामा धेरै खर्च हुने हो । सामान्यतया २ हजार २५ सयसम्म प्रायः भइरहेको हुन्छ ।

तपाईंलाई आफ्नो मनपर्ने स्वभाव कुन हो ?

आफूलाई त सबै स्वभाव राम्रो लाग्छ । म रिसाउदिनँ, ममा रिस छैन भन्नुहुन्छ सबैले । सायद मनपर्ने स्वभाव त्यही होला ।

मन नपर्ने स्वभाव नि ?

मन नपर्ने स्वभाव पनि छ । तर, मलाई मन नपर्ने भन्दा पनि अरूलाई त्यो कुरासँग समस्या हुनसक्छ ।  मलाई ८ घण्टा अनिवार्य सुत्नुपर्छ । त्यति समय सुतिन भने म फ्रेस नै हुँदिनँ । मलाई मान्छे देखेर इरिटेसन हुने, खानामा पनि रूचि नलाग्ने हुन्छ ।

तपाईं बाहिर हिँड्दा मोबाइलबाहेक नछुट्ने कुरा कुन हो ?

अहिले मास्क र सेनिटाइजर छुट्दैन । त्योबाहेक नछुट्ने भनेको पफ्र्युम नै हो । बाहिर हिँड्दा पनि पफ्र्युम बोकेर हिँडछु ।

घर कति बजे फर्किनुहुन्छ ?

प्रायः ६ देखि ७ बजेभित्र फर्किन्छु । कहिलेकाहिँ ढिलो भयो भने ८–९ पनि बज्छ ।

खाना खाने समय ?

८ बजे ।

साँझमा पनि खाना श्रीमानले बनाउनुहुन्छ कि तपाईंले ?

उहाँ व्यस्त हुँदा मैले बनाउँछु । म व्यस्त उहाँ उहाँले । पालैपालो बनाउँछौं भनांै ।

साँझको खानामा बिहानकै परिकार हुन्छ कि फरक हुन्छ ?

प्रायः फरक हुन्छ । हामीले साँझमा खानाभन्दा अरू कुराहरू पनि खाइरहेका हुन्छौं । कहिले रोटी खाएपनि भयो, कहिले फलफूल र दूध खाएर सुतेपनि भयो । साँझ हेभी डिनर गर्नु भन्ने हुँदैन ।

मदिरापान गर्नुहुन्छ वा हुन्न ?

गर्दिनँ ।

सामाजिक सञ्जालतिर व्यस्त हुने समय चाहिँ कुन हो ?

साँझमा हो । घर आइसकेपछि डिनर खानुअगाडि र खाइसकेपछि केही समय सामाजिक सञ्जालमा बिताउँछु ।

कति बजे सुत्नुहुन्छ ?

प्रायः १० बजे सुत्छु । कहिलेकाहिँ ढिला हुँदा ११–१२ पनि बज्छ । तर, अहिले १० बजे सुत्ने, बिहान ६ बजे उठने सेड्यूलजस्तो नै भएको छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?