+
+
४२औं विश्व पर्यटन दिवस :

निराशाबीच जुर्मुराउन खोज्दै नेपाली पर्यटन क्षेत्र

अच्युत पुरी अच्युत पुरी
२०७८ असोज ११ गते १९:००

११ असोज, काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित १६ पुस २०७६ मा नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भयो । एक खर्ब भन्दा बढी लगानीसहित आतिथ्य उद्योगले स्वदेशी-विदेशी लगानी आकर्षण गरिरहेको त्यो समयमा आन्तरिक तथा बाहृय एयरलाइन्सले समेत धमाधम लगानी थपिरहेका थिए । तर, कोरोना महामारीको बढ्दो संक्रमणका बीच यो उत्सव तीन महिना पनि टिक्न सकेन ।

नेपाल सरकारले ११ चैत २०७६ मा लकडाउन शुरु गरेपछि बन्द भएको पर्यटकीय गतिविधि त्यसयता ठप्पःप्राय भयो । २०७८ वैशाख/जेठमा हिमाल आरोहणका दौरान एक सिजनमा इतिहासकै धेरै आरोहीले अनुमति लिनुबाहेक पर्यटन उद्योगमा कुनै उत्साह आएन ।

सरकारले गत सातादेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा शुरु गरेपछि भने व्यवसायीमा उत्साह फर्किएको छ । होटेल संघ, नेपाल -हान) सरकारको यो निर्णयले पर्यटनमा सम्भावनाको ढोला खोल्नेमा आशावादी बनेको छ ।

पर्यटकलाई सुरक्षित र गुणस्तरीय सेवा दिन सबै व्यवसायी प्रतिवद्धता रहेको हानले जनाएको छ ।

महामारीका बीच पर्यटन व्यवसायीले सोमबार (११ असोज) ४२ औं विश्व पर्यटन दिवस मनाउँदैछन् । संसारभर पर्यटनमा आधारित अर्थतन्त्र रहेका मुलुकले यो दिनलाई आफ्नो मुलुक अब घुमफिरका लागि सुरक्षित रहेको सन्देश दिन उपयोग गर्नेछन् । नेपालमा समेत यस दिन सरकारले औपचारिक कार्यक्रमसहित दिवस मनाउने गरेको छ ।आज सोमबार गाउँ पर्यटन प्रवर्द्धन मञ्चले ‘नमुना पर्यटकीय गाउँ’ घोषणा गर्दैछ । नेपाल पर्यटन बोर्डले समेत नयाँ पर्यटकीय गतिविधिको प्रवर्द्धन गरि यो दिवस मनाउँदैछ ।

नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमाल चुचुराको विस्तृत परिचय दिने ‘पिक प्रोफाइल’ सार्वजनिक गर्दैछ । अन्य संघसंस्थाले सिज विभिन्न कार्यक्रम गरि यो दिवस मनाउँदैछन् ।

नेपालमा पदयात्राका लागि असोज-मंसिर सबैभन्दा उपयुक्त मौसम मानिन्छ ।

महामारीबाट गहिरो क्षति

अहिले आइरहेका अध्ययन प्रतिवेदनहरुले कोरोना महामारीले सबभन्दा बढी क्षति पर्यटन क्षेत्रमा गरेको देखाएका छन् । यो बीचमा विमान कम्पनीहरुले केही न केही आम्दानी गरिरहे पनि उनीहरुको समेत घाटा चुलिएको छ ।

होटेल व्यवसायीहरु भने पुरै थला परेका छन् । हानको अध्ययनअनुसार २५ प्रतिशत साना-ठूला व्यवसायी अब व्यवसायमा नर्फकने गरि पलायन भएका छन् । योसंगै होटल व्यवसायमा आश्रति मजदुरको समेत रोजिरोटी गुमेको छ ।

महामारीबाट नेपालको हवाई उद्योगले मात्र ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्ययनले देखाएको छ । २०७६ चैतमा लकडाउन शुरु भएयता सो बराबरको क्षति भएको पाइएको हो ।

नागरिक उड्डयन प्राधिकरणले चैत २०७६ देखि असार २०७८ सम्म १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ । वायुसेवा कम्पनीहरुको आम्दानी भने २५ अर्ब रुपैयाँ बराबर गुमेको छ । यसमा नेपाल वायुसेवा निगमको ७ अर्ब र हिमालय एयरलाइन्सको ३ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको अनुमान प्राधिकरणले गरेको छ ।
आन्तरिक वायुसेवा कम्पनीहरुले भने १५ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् ।

कुन एयरलाइन्सले कति गुमायो ?

आन्तरिक वायुसेवा (सबै) : १५ अर्ब

नागरिक उड्डयन प्राधिकरण : १२ अर्ब

नेपाल एयरलाइन्स : ७ अर्ब

ट्राभल एण्ड टूर्स र पर्वतारोहण क्षेत्रमा भएको क्षतिको अध्ययन हुन बाँकी नै छ । व्यवसायीहरुका अनुसार पछिल्लो डेढ वर्षमा पर्यटनबाट पलायन हुनेको संख्या निरन्तर बढेको छ । यसकारण यस क्षेत्रले गुमाएको आंकडा समेत ठूलो हुने उनीहरुको भनाइ छ ।

यो बीचमा आन्तरिक पर्यटकीय गतिविधि बढेका कारण साहसिक गतिविधि संचालन गर्ने कम्पनीहरुले भने केही न केही आम्दानी गरिरहेका छन् । बन्जी जम्प, प्याराग्लाइडिङ, जिपलाइनमा आन्तरिक पर्यटक बढेका छन् । शहरी इलाका नजिकै रहेका साना लगानीका होटेल-रेष्टुरेन्टले समेत आन्तरिक पाहुनाबाट राम्रै आम्दानी गरिरहेका छन् ।

समग्रमा आर्थिक वर्ष २०७७/०७८ मा पर्यटन क्षेत्रले अघिल्लो आवको तुलनामा ५३ अर्ब ६२ करोड रुपैयाँ क्षति बेहोरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आव ०७७/७८ मा सेवा क्षेत्रअन्तर्गत भ्रमण आय ७ अर्ब २७ करोड रुपैयाँ मात्र भएको छ । आव २०७६/७७ मा यस्तो आय ६० अर्ब ८९ करोड रुपैयाँ थियो ।

सकारात्मक खबरको उत्साह

कोरोना महामारीको संक्रमण दर निरन्तर घट्नु पर्यटन क्षेत्रका लागि सबभन्दा सकारात्मक खबर भएको छ । यसको प्रभाव उद्योगमा पनि देखिन थालेको छ । सरकारले यसबीचमा अनअराइभल भिसा खोलेर व्यवसायीलाई हौसला दिएको छ ।

महामारीका बीच गत वैशाख र जारी पर्वतारोहण सिजनमा उल्लेख्य पर्वतारोहीले नेपाल आएका छन् । गत वैशाखमा बन्द पर्वतीय उडान सूचारु भएको छ । आन्तरिक तथा बाहृय उडानका एयरलाइन्समा भरिभराउ यात्रु छन् ।

अघिल्लो साता बुद्ध एयर एक्लैले एकै दिन ८ हजार ३४० जना यात्रु उडायो । आन्तरिक उडानमा एक कम्पनीले यात्रु बोकेको कीर्तिमान हो । दुई नयाँ एयरलाइन्स- मुस्ताङ हेलिकोप्टर र गुण एयरलाइन्सले यसै महिनाबाट व्यवसायिक उडान थालेका छन् ।

साहसिक पर्यटकीय उत्पादनमा लगानी बढेको सकारात्मक खबर पनि छ ।

पर्यटन-हवाई उद्योगलाई सरकारको साथ

कोरोनाबाट बढी प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानमा सरकारले समेत प्राथमिकताका साथ कार्यक्रम ल्याएको छ । सरकारले पर्यटन उद्योगमा नयाँ लगानी आकषिर्त गर्न आकर्षक प्याकेज ल्याएको छ ।

पाँच अर्ब रुपैयाँ भन्दा बढी लगानीमा खुल्ने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग र अन्तर्राष्ट्रिय हवाई कम्पनीले कारोबार शुरु गरेको मितिबाट १५ वर्षसम्म आयकरमा पूर्ण छूट दिने नीति आएको छ ।

तीन अर्ब रुपैयाँ भन्दा बढी पूँजि लगानी गर्ने कम्पनीलाई भने सरकारले कारोबार शुरु गरेको मितिबाट १० वर्षसम्म पूर्ण रुपमा आयकर छूट दिने भएको छ । त्यसपछिको ५ वर्षसम्म आयकर ५० प्रतिशत मात्र तिरे पुग्नेछ । सरकारले आयकर ऐन २०५८ मा संशोधन गरि यस्तो प्रावधान राखेको हो ।

एक अर्ब रुपैयाँ भन्दा बढी लगानीमा स्थापना भएका कम्पनीले भने कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म आयकरमा पूर्ण छूट पाउने छन् । त्यसपछिको तीन वर्षसम्म मात्र २५ प्रतिशत आयकर तिरे पुग्ने भएको छ ।

कोरोना महामारीका कारण पर्यटनमा नयाँ लगानी आउन डराइरहेको बेला सरकारले ठूलो लगानी आकषिर्त गर्न छूट योजना ल्याएको हो । कर्णाली प्रदेश भित्र कम्तिमा सय जना नेपालीलाई रोजगारी दिनेगरि संचालनमा आउने पर्यटनसहित जुनसुकै उद्योगले १५ वर्ष सम्मै आयकरमा पूर्ण छुट पाउने भएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?