+
+

असान्जको हत्या गर्न चाहन्थ्यो सीआईए, ट्रम्पको पालामा बनेको थियो यस्तो योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १२:४४

११ असोज, काठमाडौं । ट्रम्प प्रशासनका बेला अमेरिकी खुफिया संस्था सेन्टर इन्टेलिजेन्स एजेन्सी (सीआईए)का अधिकारीहरुले गोप्य रुपमा विकिलिक्सका संस्थापक जुलियन असान्जको अपहरण र परिआए हत्या गर्ने योजना बनाएको खुलासा भएको छ ।

आइतबार प्रकाशित एक रिपोर्टअनुसार विकिलिक्सले सीआईएका संवदेशनशील ह्याकिङ टुल्स अनलाइनमा प्रकाशित गरेपछि उक्त योजना बनेको थियो ।

सन् २०१६ मा विकिलिक्सबाट भएको उक्त कार्यलाई ‘सीआईएको इतिहासमै सबैभन्दा ठूलो तथ्याङ्कीय क्षति’ मानिएको थियो । बदलास्वरुप एजेन्सीका उच्च अधिकारीहरुले असान्जको अहपरण वा हत्यासम्बन्धी योजना तयार गर्न भनेको समाचारमा उल्लेख छ ।

डेली मेलका अनुसार सीआईएका ३० जना पूर्वअधिकारीसँगको अन्तर्वार्तापछि याहु न्युजले तयार पारेको अनुसन्धानात्मक रिपोर्टमा उक्त दाबी गरिएको हो ।

विकिलिक्सले ‘भल्ट-७’ को नाममा सरकारी डकुमेन्ट निरन्तर प्रकाशित गर्न थालेपछि सीआईएका पूर्वनिर्देशक माइक पोम्पिओले सन् २०१७ मा असान्जविरुद्धको अभियानलाई नेतृत्व गरेको रिपोर्टमा भनिएको छ ।

अमेरिकी सरकारले असान्ज इक्वेडरको लण्डनस्थित दूतावासबाट भागेर रुस पुग्न सक्ने सुइको पाएपछि सोही वर्ष नै पोम्पिओको योजना तीव्र पारिएको थियो । यही भएर सीआईएले उनलाई रोक्ने विभिन्न परिदृश्यबारे सोचिरहेको पनि रिपोर्टमा उल्लेख छ ।

एउटा प्रस्ताव/योजनामा यदि असान्जले लण्डनबाट भागेर रुस पुग्ने प्रयास गरे भने उनी चढ्ने जहाजको टायरमा गोली हानेर टायर फुटाइदिने उल्लेख थियो । त्यस्तै अन्य प्रस्तावमा जेम्स बोण्ड फिल्ममा झैं लण्डनको सडकमै गोली ठोक्ने वा उनी चढेको सवारी साधनमा अर्को कार ठोक्याउने लगायतका कार्य गर्ने उल्लेख थियो ।

त्यस्तै अमेरिकी अधिकारीहरुले बेलायतमा रहेका आफ्ना सहयोगीलाई गोली हान्नका लागि अनुरोध गर्ने योजना समेत थियो । सीआईएका एकजना पूर्व अधिकारीले उक्त योजना अनुसार काम गर्न बेलायतीहरु राजी भएको कुरा याहु न्युजलाई बताएका थिए ।

अमेरिकाको कानुन मन्त्रालयले बेलायतबाट असान्जलाई सुपुर्दगी गरेर मुद्दा चलाउनु पर्ने भन्दै छलफल गरिरहेका बेला सीआईएले उनको अपहरण वा हत्या गर्ने योजना बनाएको थियो ।

अमेरिकी सरकार सन् २०१० मा पहिलो पटक विकिलिक्सप्रति रुष्ट बनेको थियो । विकिलिक्सले सीआईएको ह्याकिङ क्षमतासहित अमेरिकी सेना र खुफिया एजेन्सीद्वारा तयार पारिएका गोप्य रिपोर्ट एवम् डकुमेन्ट चुहाएपछि जुलियन असान्ज समेत अमेरिकीहरुको निशाना बन्न पुगेका हुन् ।

त्यसपछि प्रतिक्रियास्वरुप सीआईएका अधिकारीहरुले उनीसँग बदला दिने योजना बुन्न थाले । ट्रम्पको पालामा माइक पोम्पिओको नेतृत्वमा उक्त योजनाले थप उचाइ लिएको थियो । तर असान्जको अपहरण वा हत्या गर्ने पोम्पिओको योजना सफल हुन भने पाएन ।

स्मरणीय छ, सन् २०१२ मा असान्जलाई लण्डनस्थित इक्वेडरको दूताबासले राजनीतिक शरण दिएको थियो । तर सन् २०१९ मा इक्वेडरका अधिकारीसँग विवाद भएपछि उनलाई दिइएको शरण फिर्ता गरियो ।

लगत्तै उनी पक्राउ परे र धरौटीसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग पुष्टि भएपछि ५० हप्ता काराबास सजाय सुनाइयो । सन् २०१९ को अप्रिलदेखि उनी बेलमार्श जेलमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?