+
+
प्रीति आलेको जीवनशैली :

कोरियन खाना मनपर्छ, गर-गहनामा रुचि छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १४:१३

प्रीति आले खासगरी स्टेजमा बढी माग हुने कलारका हुन् । लोक, पप र रक संगीतमा उनको खास दख्खल छ । ‘फूल्यो बामरी’, ‘दोहोरी ब्याटल’, ‘मायाजाल’ जस्ता गीतबाट स्रोता एवं दर्शकमाझ चिनिएकी प्रीतिले अहिलेसम्म झण्डै ३ सय गीतमा स्वर दिएकी छिन् । थुप्रै गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेकी प्रीतिको कसरी बित्छ दैनिकी ?

बिहान कतिबजे उठनुहुन्छ ? उठने समय एउटै हो वा फरक हुन्छ ?

६ बजे उठछु । उठने समय प्रायः एउटै हुन्छ । किनकी कहिले काहीँ ढिलैसम्म सुत्छु भनेर सुत्दा पनि ठ्याक्कै समयमै आँखा खुल्दोरहेछ ।

उठेपछि के गर्नुहुन्छ ?

उठेपछि मलाई अनिवार्य तातोपानी पिउनुपर्छ । त्यसपछि ग्रीन टी पिउँछु ।

शारीरिक व्यायाम  गर्नुहुन्छ ?

गर्छु । हरेक बिहान आधा घण्टादेखि १ घण्टासम्म घरमै शारीरिक व्यायाम गर्छु ।

बिहानमा नास्ता के खानुहुन्छ ?

बिहानमा नास्ता खाँदिन। ब्यायाम सकेपछि फेरि पानी पिउँछु । त्यसपछि खाना बनाउनतर्फ लाग्छु ।

खाना कतिबजे खानुहुन्छ ? कसले बनाउनुहुन्छ ?

म आफूले बनाउँछु । मलाई खाना बनाउने जाँगर एकदमै चल्छ । म खाना चाँडो पनि बनाउँछु । परिवारमा मैले बनाएको खाना मीठो पनि मान्नुहुन्छ । परिवारलाई ९ बजेदेखि १० बजेभित्र खाना खुवाउनुपर्छ । म आफूचाँही ११ देखि १२ बजेभित्र खान्छु ।

कस्तो खाना रुचाउनुहुन्छ ?

दाल, भात, तरकारी नै हो ।

खानामा नछुटने कुरा के हो ?

साग छुटदैन । छुट्यो भने पनि कहिलेकाँही हप्तामा एकदिन छुट्ला ! नत्र, प्रायः साग बनाएको हुन्छु ।

माछामासु कत्तिको खानुहुन्छ ?

माछामासु नभई नहुने घरमा छोरीलाई हो । श्रीमान, मलाई नभै नहुने होइन । तर, छोरीकै लागि भएपनि नियमितजसो ल्याईरहनुपर्ने हुन्छ ।

घरबाहिर कतिबजे निस्किनुहुन्छ ?

कहिले काहीँ काम विशेषले विहान जानुपर्ने भयो भने छुट्टै कुरा हो, नत्र सानो–तिनो एउटै कामले निस्किन मन लाग्दैन् । अहिले कार्यक्रमहरु पनि धेरै नभएकाले प्रायः घरमै बसिरहेको हुन्छु ।

बाहिर निस्कनुअघि तयारी हुन कति समय लाग्छ ?

महिलालाई तयारी हुन समय लाग्छ भन्छन् तर मलाई धेरै समय लाग्दैन । म एकदमै छिटो तयार हुन्छु ।

कस्तो लुगाफाटो सहज लाग्छ ?

यस्तो नै लगाउनुपर्छ भन्ने हुँदैन, आफुलाई हिँडन सहज हुनुपर्यो । लगाउन सजिलो हुनुपर्यो  ।

कपडामा कत्तिको सौखिन हुनुहुन्छ ? नयाँ किनिरहनुपर्ने, कपडा छिटोछिटो परिवर्तन गरेर लगाउनुपर्ने कत्तिको गर्नुहुन्छ ?

मेरो स्वभाव जुन कपडा सहज लागेको छ त्यो बारम्बार लगाएर हिँडछु । अरु धेरै कपडा हुँदा पनि त्यसतर्फ ध्यान गईरहेको हुँदैन् ।

रंग कस्तो मन पराउनुहुन्छ ?

‘ब्ल्याक’ मेरो फेवरेट हो । किनकी म आफूपनि काली-काली भएको हुनाले होला । बढी ‘ब्ल्याक’ कपडाहरु नै प्रयोग गर्छु ।

गरगहनामा कति आशक्ति छ ? गरगहना कति मन पर्छ ?

छैन । मसंग गहना नै छैन । महिलाहरुको घरमा चुराहरु सजाएर राखिरहेको हुन्छ । म चाहिँ चुरा लगाउन परिरहेको समयमा मात्र खोजिरहेको हुन्छु । कहिले चाहिएको बेला बल्ल किन्न गईरहेको हुन्छु ।

सवारी साधन के प्रयोग गर्नुहुन्छ ?

घरमा कार छ । तर म भर्खरै ड्राइभिङ सिकेको छु, लाइसेन्स छैन । श्रीमानसँग निस्किनुपर्यो वा मेरो र श्रीमानको गन्तव्य एकैतिर पर्यो भने कारमा हिँडछु । नत्र, एक्लै हिँडनुपर्यो भने म ट्याक्सीमा हिँडछु ।

दिनभर कसरी बित्छ ?

मानिसको एउटा समय हुँदो रहेछ –घुम्न, भेटघाट गर्न धेरै रुचाउने । पहिले मलाई पनि घुम्न, भेटघाटमा बढी मन लाग्थ्यो । अहिले भने फुर्सद हुँदा घरमै बस्न मन पराउँछु । कहिलेकाँही रेकर्डिङ र छायाँकन त हुने भैहाल्यो ।

घरमा कसरी समय बिताउनुहुन्छ ?

घरको सरसफाई, लुगा धुने । केही काम नभए मोबाइल चलाउने, सुत्ने गरेर समय बितिरहेको हुन्छ ।

फुर्सदमा बाहिर जानुपरे सबैभन्दा बढी गईरहने ठाउँ कुन हो ?

पोखरा । पोखरामा हाम्रो दोहोरी साँझ व्यवसाय पनि छ । त्यसमाथि धेरै साथीहरु पनि पोखरामा हुनुभएको कारणले गईरहेकी हुन्छु । त्यस्तै त्यहाँ सिटीभित्र भन्दापनि डाँडाकाँडातिर घुम्न उत्तिकै जान्छु, रुचाउँछु ।

सांगीतिक क्षेत्रमा साथीहरु कति हुनुहुन्छ ?

प्रायः सबैसँग नजिक छु । भेटदा नजिक नै छौं तर सधै भेटुँ, यता जाउ, उता जाउँ भन्ने धेरै हुँदैन् । किनकी सबैजना आ–आफ्नो काममा ब्यस्त हुनुहुन्छ ।

त्यसमा पनि अलि नजिक, घर आउआउ हुने खालका साथीहरु ?

कला लम्साल मेरो बच्चैदेखिको साथी हो । मेरोमा उ आउने, म उस्कोमा जाने भईरहेको हुन्छ । अरु घरमै आउने–जाने भईरहने साथीहरु कमै हुनुहुन्छ ।

तपाईंको एउटा स्वभाव ?

मेरो सिधा बोल्ने बानी छ । घुमाएर, लुकाएर वा मनमा एउटा राखेर अर्कै भन्न आउँदैन मलाई । अरुलाई पनि जे हो त्यही सिधासिधा भन्ने, आफूलाई भनेपनि चित्त नदुखाउने स्वभाव छ ।

दिनमा कति रुपैयाँ खर्च हुन्छ ?

घर व्यवहार चलाईरहने भएकाले ठ्याक्कै यति भन्ने त हुँदैन ।

सामान्यतया दैनिक खर्च ?

पहिले–पहिले धेरै घुम्न निस्किने, साथीहरुसँग खाजा खान जाने गर्दा बढी खर्च हुन्थ्यो । पछिल्लो समय त्यसरी घुम्न निस्किने, साथीहरुसँग बस्ने कमै भएकाले धेरै छैन् । अब सामान्यतया भन्नुपर्दा २ हजार, २५ सय प्रायः भैरहेकै हुन्छ । सपिङमा वा परिवारसँग कतै निस्कियो भने २०–२५ हजार पनि हुन्छ ।

बाहिरको खाजा, खाना कत्तिको खानुहुन्छ ?

खाँदै नखाने होइन । छोरीले मःम, पिज्जाहरु खान मन गर्छ । घरमा आमा हुनुहुन्छ, उहाँलाई हप्तामा एकचोटी बाहिर घुमाउन लगिरहेका हुन्छौं । मलाई कोरियन खानाहरु मनपर्छ । बेलाबेलामा परिवारसँग बाहिर गएर खाईरहेका हुन्छौं ।

साँझ घर कतिबेला फर्किनुहुन्छ ?

घर आएर खाना बनाएर खुवाउनुपर्छ भनेर समयमै फर्किन्छु । ब्यस्त हुने समयमा उहाँहरु आफै बनाएर खानुहुन्छ । तर, म काठमाडौंमा हुँदा आफूले नै बनाएर खुवाउँ भन्ने लाग्छ । म बाहिर एकदमै थाकेर आएपनि खाना बनाउन अल्छि लाग्दैन् ।

साँझको खाना कतिबजे खानुहुन्छ ?

प्रायः सातबजे भन्दा अगाडि खान्छौं । तर, म प्रायः साँझमा डाइटिङमा हुन्छु , खाना ‘स्किप’ गर्छु । खाइहाले भने, चार–पाँच चम्पा मात्र खान्छु ।

मदिरापान पर्ने बानी कत्तिको छ ?

छुँदै छुँदिन भन्ने होइन । कहिलेकाँही ‘सफ्ट’ पिउँछु ।

फेसबुक, टिकटक, युट्युब कत्तिको हेर्नुहुन्छ ?

समय पाएँ भने बिहान होस्, चाहे दिउँसो, साँझ युट्युबमा बढी भुलिरहेको हुन्छु । फेसबुक चाँही अलि कम चलाउँछु । टिकटक पनि म  कमै बनाउँछु । हेर्न चाँही हेरिरहेको हुन्छु ।

फेसबुक, टिकटकमा लाइभ कत्तिको आउनुहुन्छ ?

पहिले टिकटकमा दुई–तिन पटक लाइभ आएँ । हामीबाट धेरै लाइभ आईरहनु राम्रो होइन कि जस्तो लागेपछि पछिल्लो समय आएकी छैन् । फेसबुकमा पनि एउटा गीतको प्रमोशनको समयमा एकपटक लाइभ आएकी छु । लाइभमा स्रोता दर्शकसँग जोडिन पाउने हुनाले राम्रो पनि हो, तर म अलि बढी ‘एक्पोज’ हुन नरुचाउने भएको हुनाले लाइभमा खासै आउँदिन् ।

कति बजे सुत्नुहुन्छ ?

९ बजेदेखि १० बजेभित्र सुतिसक्नुपर्छ । नियमित ७ देखि ८ घण्टा मलाई सुत्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?