+
+

सुदूरपश्चिममा कांग्रेस असन्तुष्ट, भन्यो- हामी प्रतिपक्षमै बस्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १९:२४
सुदूरपश्चिम प्रदेशसभा बैठक

११ असोज, धनगढी । नेकपा एमालेको विभाजनपछि २५ जेठमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका थिए । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षका १७ जना सांसदले साथ दिँदा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पाए ।

त्यसबेला प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई मत हाल्ने निर्णय गरेको थियो ।

माधव पक्षकै साथले मत पर्याप्त भएपछि कांग्रेसले मतदान प्रक्रियामै भाग लिएन । बरु तटस्थ बस्यो । त्यति बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ र जनता समाजवादीका २ गरेर ९ जना प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका थिए । तत्कालीन समयमा प्रदेश सरकार जोगाउन भूमिका खेलेको नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने चर्चा चलेको थियो ।

तर नेपाली कांग्रेस पाँच दलीय गठबन्धन बनेका बेला समेत सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दलकै भूमिकामा छ । झण्डै सवा दुई महिनापछि सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा समेत कांग्रेस प्रतिपक्षी दलकै बेञ्चमा देखियो । कांग्रेससँगै एमाले र लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षी दलको बेञ्चमा बसे ।

कांग्रेस संसदीय दलका नेता भन्छन् अनुकूलता खोज्ने गठबन्धन चाहिँदैन 

सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिममा आफ्नो पार्टी अब प्रतिपक्षमै बस्ने बताए । संघमा गठबन्धन सरकार बनेका बेला प्रदेशमा पनि सोहीअनुसारको समीकरण हुने भन्ने चर्चा चलिरहँदा रावलले भने, ‘अहिलेको सरकार आफू सुहाउँदो गठबन्धन बनाउन चाहिरहेको देखिएको छ । यस्तो गठबन्धन हामीलाई चाहिँदैन ।’ रावलले थपे, ‘हामीसँग कुनै सरसल्लाह पनि गरेको देखिँदैन । त्यसैले हामी प्रतिपक्षमै रहन्छौं ।’

सरकारमा सहभागी दलहरुमा सत्ताको दम्भ बढेको आरोप लगाउँदै रावलले भूमिकाअनुसार कांग्रेस अगाडि बढ्ने जनाए । मुख्यमन्त्रीले विश्वासको मत लिने बेला तटस्थ बसेर सहयोग गरेको भए पनि अब भने सरकारको व्यवहारका आधारमा आफ्नो भूमिका देखाउने उनी बताउँछन् । संसदीय दलका नेता रावलले यस्तो बताए पनि अर्का प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने कांग्रेस निर्णय लिन हतार नगर्ने बताए । ‘हामी अहिले प्रमुख प्रतिपक्षी दलकै भूमिका छौं । सरकारमा सहभागी हुन हतार गर्दैनौं,’ खड्काले भने, ‘गठबन्धनको केन्द्रीय नेतृत्वले लिने निर्णयका आधारमा अगाडि बढ्छौं ।’

माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई अहिले एकीकृत समाजवादी पार्टीले समर्थन दिएको छ । समाजवादी पार्टीका सांसदहरुले समेत कांग्रेससँग गठबन्धन भए पनि समाजवादीकै समर्थनमा सरकार सुरक्षित रहेकाले उसलाई सरकारमा सहभागी नगराउने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?