+
+

एउटै कार्यक्रममा खाद्यको महानिर्देशक दाबी गर्दै राय र जोशी पुगेपछि…

नवीन ढुंगाना  नवीन ढुंगाना 
२०७८ असोज १३ गते १५:१०
कार्यक्रममा राय र जोशीलाई स्वागत गर्दै महासंघका अध्यक्ष शेखर गोल्छा ।

१३ असोज, काठमाडौं । राष्ट्रिय सभामा पेश भएको खाद्य स्वच्छता ऐनबारे छलफल गर्न उद्योग वाणिज्य महासंघ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार संयुक्त कार्यक्रम राखे । उद्योग वाणिज्य महासंघको हलमा दिउँसो साढे दुई बजेदेखि शुरु भएको कार्याक्रममा व्यवसायीहरु जम्मा भए । केही बेरमा विभागको तर्फबाट प्रतिनिधित्व गर्दै महानिर्देशक उपेन्द्र राय कार्यक्रम स्थल पुगे । कार्यक्रम शुरु भयो । त्यसको केही बेरमै विभागको महानिर्देशकको हैसियतमा डा. मतिना जोशी वैद्य पनि कार्यक्रम हलमा पुगिन् ।

दुवै जना महानिर्देशकको हैसियातमा कार्यक्रममा आएपछि आयोजक महासंघका प्रतिनिधिहरु अलमलमा परे । एक प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम सञ्चालन गर्ने व्यक्तिले ‘विभागमा पुर्नआगमन गर्नु भएकी महानिर्देशक जोशीलाई कार्याक्रममा स्वागत छ’ भन्दै सम्बोधन गरे ।  दुवै जनालाई मञ्चमा राखियो । छलफल सुरु भयो । ‘बेलुकी ६ बजेसम्म चलेको बैठकमा महानिर्देशकै हैसियतमा राय र वैद्यले आ–आफ्नो धारणा राखे । तर एकले अर्कोलाई सम्बोधन गरेनन्’ छलफलमा सहभागी एक व्यवसायीले अनलाइनखबरसँग भने ।

महासंघको कार्यक्रम विभागसँगको संयुक्त आयोजनामा भएको र आफूले कार्यक्रममा महानिर्देशकको हैसियतमा सहभागिता जनाएको रायले अनलाइनखबरलाई बताए । आफू नै महानिर्देशक भएको भन्दै उनले टेलिफोनमा भने, ‘मैले राखेको कार्यक्रममा म सोही हैसियतमा गएको हो, अर्को मानिस के हैसियतमा गयो त्यो मलाई थाहा छैन ।’

खाद्य ऐन २०२३ लाई प्रतिस्थापन गर्न बनेको खाद्य स्वच्छता विधेयक अहिले राष्ट्रिय सभामा पेश भएको र त्यसमा निजी क्षेत्रको सुझाब मागेको रायले बताए । ‘अलि अस्ति नै यो कार्यक्रम हुनु पर्दथ्यो तर म उपत्यका बाहिर भएकाले सरेको थियो । मंगलबार कार्यक्रम सम्पन्न भयो,’ उनले भने ।

उद्योग वाणिज्य महासंघले आइतबार फोन गरेर निम्तो गरेपछि आफू महानिर्देशकको हैसियतमा कार्यक्रममा पुगेको मतिना जोशी वैद्यले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘म कार्यक्रम हलमा छिरेपछि कन्फ्युज भएँ । त्यहाँ त रायजी पहिल्यै पुग्नु भएको रहेछ । तर पनि कार्यक्रममा सहभागी भएर फर्किएँ ।’

खाद्यको महानिर्देशक को ?

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर विभागमा एक वर्षदेखि कार्यरत रायलाई मन्त्रालय तान्ने निर्णय गर्‍यो । रायलाई मन्त्रालय तानेपछि सोही दिन विभागको महानिर्देशकको जिम्मेवारी डा. मतिना जोशी वैद्यलाई दिइयो । जोशीले सोमबार दिउँसो नै गएर विभागमा हाजिर गरिन् ।

उपेन्द्र रायको दाबीलाई मान्ने हो भने उनलाई आफू सुरुवा भएको जानकारी मन्त्रालयले दिएको थिएन । ‘केही दिन उपत्यका बाहिर थिएँ, फर्किएर कार्यालय आएर हाजिर गरेको छु । काम गरेको छु,’ रायले भने । सुरुवा भएको कुरा सञ्चार माध्यमबाट थाहा पाएको र पत्र नपाएको उनले बताए । विभाग स्रोतकाअनुसार महासंघको कार्यक्रममा सहभागिता जनाएको दिन मंगलबार पनि रायले खाद्य प्रविधि विभागमा महानिर्देशकको हैसियतमा हाजिर गरेका छन् ।

यता, कृषि मन्त्रालयबाट विभागको महानिर्देशकको जिम्मेवारी पाएकी जोशीले विभागको महानिर्देशक आफू भएको दाबी गरिन् । ’मलाई मन्त्रालयलले मन्त्रीस्तरीय निर्णय गरेर विभागको जिम्मेवारी दिएको छ, विभागको महानिर्देशक म नै हुँ, मैले हाजिर गरिसके पछि पनि सरुवाको पत्र खल्तीमा बोकेर विभागमा हाजिर गर्नुलाई मैले के भन्ने’ जोशीले प्रश्न गरिन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने रायको सरुवा मन्त्रालयलमा भएको जनाएको छ । रायलाई अहिले अतिरिक्तमा राखिएको र विभागको जिम्मेवारीमा जोशी नै रहेको मन्त्रालयल प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘रायको सरुवा भइसकेको छ, जोशीले दुई दिनदेखि विभागमा काम गरिरहनु भएको छ यसमा विवाद छैन,’ मन्त्रालयल प्रवक्ता सञ्जेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?