
१३ असोज, काठमाडौं । विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैंकले सटहीमा कडाइ गरेको छ ।
विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएका कारण केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले अधिकतम २ हजार डलरसम्म मात्र डलर सटही नगर्न भनेको हो । विदेश जान लागेको प्रमाण पेश गरेपछि मात्र डलर सटही गरिदिन पनि निर्देशन दिएको छ ।
पासपोर्टको फोटोकपी राखेर मात्रै सटही सुविधा दिने गरिएको छ । तर बैंकले सामान्य अवस्थामा तोकिएको सीमा भन्दा पनि बढी सटही सुविधा दिने गरेका छन् । अहिले विदेशी मुद्रा सञ्चिती निकै घटेकाले कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ९ महिना १० दिनको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
जेठ महिनासम्म विदेशी मुद्राको सञ्चिती १४ महिनाको वस्तु आयात धान्न सक्ने थियो । गत असार महिनासम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती रहेको छ ।
साउनसम्म आइपुग्दा ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । साउन महिनामा कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ र अरु बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ ।
प्रतिक्रिया 4