+
+

दशैं बजार : बढ्यो चहलपहल, बढेन व्यापार

पहिले एक किलो जिरा मसला किन्ने ग्राहकहरु अहिले आधी किलोमा झरेका छन् । खटाइ–खटाइ उपभोक्ताहरु बजारमा किनमेल गरिरहेका छन् । सडकमा हिंड्ने मान्छेको चहल पहलबाट चाहिं दशैं लाग्यो तर व्यापारमा छैन ।

नवीन ढुंगाना चन्द्रबहादुर आले नवीन ढुंगाना, चन्द्रबहादुर आले
२०७८ असोज १४ गते १४:३८

१४ असोज, काठमाडौं । इन्द्रचोकबाट भोटाहिटी छिर्ने गल्लीको एउटा पसल छेउमा ६३ वर्षीय दुर्गानाथ गौतम झोक्राइरहेका छन् । काभ्रे कोशीपारी चौरीदेउराली–५ का गौतम ३० वर्षदेखि इन्द्रचोक क्षेत्रमा मजदुरी गर्छन् ।

बर्खामा खेती लगाउन गाउँ गएका उनी गतसाता मात्रै काठमाडौं फर्किए मजदुरीको लागि । खेतीपाती हुँदा गाउँमा र चाडपर्व नजिकिएसँगै होलसेलको भारी उठाउन उनको गाउँबाट धेरै मानिस असन इन्द्रचोक छिर्छन् । अघिल्लो साता उनी पनि यसैगरी काठमाडौं आए ।

सुरुआती केहीदिन दैनिक चार-पाँच वटासम्म काम पाइए पनि दुई दिनदेखि भारी उठाउने काम नपाएको उनले बताए । ‘दशैंको मुखैमा दिनमा एउटा भारी उठाउने काम पनि नपाइनु त अचम्मै भाछ,’ गौतमले अनलाइनखबरसँग भने ।

दुर्गानाथ गौतम

असन चोकबाट ठमेल छिर्ने मुखैमा सञ्जयरत्न तुलाधरको मसला र खाद्यान्नको पसल छ । असनका रैथाने तुलाधरले साहित्यरत्न नामक उक्त पसल चलाएको वर्षौं भयो । मंगलबार आफ्नै पसलमा भेटिएका तुलाधर दशैंको मुखैमा पनि फुर्सदिला देखिए । अब त दशैं लागेन र ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘सडकमा हिंड्ने मान्छेको चहल पहलबाट चाहिं दशैं लाग्यो तर व्यापारमा छैन ।’ दशैंका लागि धेरै खपत हुने वस्तुमा पर्ने मसलामै उपभोक्ताको अकर्षण नदेखिएको उनले बताए ।

साहित्यरत्न ग्राेसरीका सञ्चालक सञ्जयरत्न तुलाधर ।

कोरोना महामारी अघिका वर्षहरुमा यतिबेला निकै व्यस्त हुने पसलमा फाटफुट्ट मात्रै उपभोक्ता आएको उनको भनाइ छ । कोरोनाका कारण मानिसको किनमेल शैलीमा पनि परिवर्तन देखिएको तुलाधरको बुझाइ छ । ‘पहिले एक किलो जिरा मसला किन्ने ग्राहकहरु अहिले आधी किलोमा झरेका छन् । खटाइ–खटाइ उपभोक्ताहरु बजारमा किनमेल गरिरहेका छन्,’ तुलाधरले भने । कोरोनापछि बजार खुले पनि किनमेल गर्नेमा उत्साह नदेखिएको उनले बताए ।

असनमै खाद्यान्नको ब्यापार गर्ने अमुलकाजी तुलाधर पनि बजारमा मान्छेहरु हिंडे पनि व्यापारमा उत्साह नदेखिएको बताउँछन् । एक साता अघिसम्म सुनसान जस्तै रहेको बजारमा मानिसहरुको ओहोरदोहोर भने बढेको उनले बताए । ‘मानिसहरु दशैं लागे जसरी हिंडेका छन्, तर किनमेल गरेका छैनन्,’ उनले थपे, ‘परारका वर्षहरुमा यतिबेला हामीलाई पत्रकारसँग कुरा गर्न फुर्सद कहाँबाट हुन्थ्यो ?’

व्पावसायी अमुलकाजी तुलाधर ।

खाद्यान्न मात्रै होइन, यो वर्ष दशैंका मुखमा लत्ता कपडाको व्यापार पनि धेरै उत्साहजनक नभएको व्यापारीहरु बताउँछन् । न्यूरोडबाट रञ्जना गल्ली छिर्ने चोकैमा रहेको फेन्सी पसलका व्यवसायीहरु मंगलबार अनलाइनखबर प्रतिनिधि बजार पुग्दा एकअर्कामा गफिइरहेका थिए । दशैं त लाग्यो व्यापार कस्तो छ भन्ने जिज्ञासामा सीमा ट्रेडर्सका सञ्चालक आकास श्रेष्ठले पूर्वपट्टीको पसल देखाउँदै भने, ‘ऊ त्यो पसलको साहुजी अर्को पसलमा गएर गफ हान्दै हुनुहुन्छ, म पनि दिनभरि गफै गरेर बसिरहेको छु, आउनुस् एकछिन गफ गरौं ।’ दशैंमा फुर्सदिलो बन्न परेकोमा उनले दिक्दारी प्रस्तुत गरे ।

सीमा ट्रेडर्सका सञ्चालक आकास श्रेष्ठ

यतिबेला देशभरबाट होलसेलमा सामान लिन आउने खुद्रा व्यापारीले खचाखच हुनेपर्ने न्युुरोड क्षेत्र सुनसान रहेको उनले बताए । अलिअलि सामान उधारोमा बिक्री भए पनि पसलहरुले विगतमा जसरी व्यापार गर्न नसकेको उनको भनाइ छ । कोरोनाका कारण मानिसहरुले लत्ताकपडा खरिदलाई प्राथमिकतामा नपारेको होकी भन्ने प्रश्न उब्जिएको पनि श्रेष्ठको आशंका छ । होलसेलकै ठूलो व्यापार नहुँदा खुद्राबाट हुने व्यापारले पार लाग्ने अवस्था नदेखिएको उनले बताए ।

दरबारमार्गमा रहेको ब्राण्डेड वस्तुहरुको बिक्री स्टोर दामिलिनोले भने दशैं लागेको जस्तो भान भएको बताएको छ । लामो समय ठप्प रहेको ब्राण्डेड कपडाको व्यापारमा उत्साह बढेर गएको स्टोरकी सेल्स असिस्टेन्ट  ग्रेसा खड्काले बताइन् ।

दामिलिनो स्टोरकी सेल्स असिस्टेन्ट ग्रेसा खड्का ।

‘गत वर्ष दशैंमा कारोबार ठप्प थियो तर यस वर्ष दशैं नजिकिएसँगै कारोबारमा उल्लेख्य वृद्धि भएको छ,’ खड्काले भनिन् । दशैंको मुखैमा ब्राण्डेड वस्तु किनमेल गर्ने शैली बढ्दै जाँदा उत्साहित भएको बताउँदै उनले आगामी दिन अझ व्यापार बढ्ने आशा व्यक्त गरिन् ।

फोटो/भिडियो : चन्द्र बहादुर आले

लेखकको बारेमा
नवीन ढुंगाना

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?