+
+

बनेपाका अधिकांश पशु बधशाला विनादर्ता सञ्चालित

रासस रासस
२०७८ असोज १४ गते १७:२५
Photo Credit : RSS

१४ असोज, बनेपा । काभ्रेको बनेपा बजारमा सञ्चालित अधिकांश  पशु बधशाला दर्ताविना नै सञ्चालन भएको पाइएको छ । जिल्ला बजार अनुगमन समिति, काभ्रेले बुधबार गरेको बजार अनुगमनका क्रममा विनादर्ता बधशाला सञ्चालन गरेको पाइएको हो ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न, मासु, कस्मेटिकलगायतका पसलको अनुगमन गरेको हो । अनुगमन टोलीले पशु बधशालालाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा बनेपा नगरपालिका–७ गोदामचोकमा रहेको इजीसपले तोकिएभन्दा बढी मूल्यमा सामान बिक्री गरेको पाइएको भन्दै पहिलोपटकका लागि पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । पसलका सञ्चालकले मूल्यसूची टाँस गर्ने क्रममा भुलवस बढी मूल्य टाँसेको स्वीकार गर्दै अब त्यसरी गल्ती नगर्ने बताएका थिए ।

यसैगरी बनेपा नगरपालिका–९ शाहीटोलमा सञ्चालन गर्दै आएको पशु बधशाला बिनादर्ता सञ्चालन गरेको पाइएपछि अनुगमन समितिले दर्ता गर्न निर्देशन दिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख मोगलप्रसाद साहका अनुसार अनुगमनको क्रममा शाहीटोलमा विगत लामो समयदेखि सञ्चालन गर्दै आएको बधशाला बिनादर्ता चलाइरहेको पाइएको बताए । ‘मासु पसल दर्ता गरेर त्यसैको नाममा बधशालासमेत सञ्चालन गरेको पाइएको छ,’ उनले भने, ‘पसल दर्ता एउटा, काम गराइ अर्को भएको पाइएका कारण तत्काल दर्ता प्रक्रियामा जानका लागि निर्देशन दिएका छौं ।’

बनेपाको शाही टोलमा आठ÷नौ बधशाला सञ्चालनमा आएकामा सबै बिनादर्ता सञ्चालन गरेको र त्यसरी सञ्चालनमा आएको बधशाला मापदण्डअनुसारको नभएको पाइएको छ । बधशाला सञ्चालन गर्दै आएकी रीना शाहीले यसरी नियमपूर्वक बधशाला सञ्चालन गर्नुपर्ने भन्ने जानकारी नपाएको भन्दै त्यसका लागि आवश्यक सुझाव र प्रक्रियाका बारेमा जानकारी दिन आग्रह गरिन् ।

बनेपा तीन दोबाटोमा चण्डेश्वरी मासु पसल दर्ता गरी बधशाला समेत सञ्चालन गर्दै आएको उनले आफ्नो पसलबाहेक बनेपा र धुलिखेललगायतका अन्य पसललाई समेत मासु बिक्री गर्दै आइरहेको बताइन् ।

त्यसरी मासु पसल मात्रै दर्ता गरेर बधशाला सञ्चालन गर्दै आएका व्यवसायीलाई समूहमा मिलेर बधशाला दर्ता गराइपाऊँ भन्ने सामूहिक निवेदन लिएर नगरपालिकामार्फत आउन र त्यसपछि आवश्यक प्रक्रिया मिलाएर बधशाला सञ्चालनको व्यवस्था गरिदिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख साहले बताए ।

प्रक्रिया पूरा गरेर सञ्चालनमा आएको बधशाला सञ्चालकलाई दर्ता गरी बिक्री वितरण गर्ने क्रममा बिलमार्फत मात्रै कारोबार गर्न पनि समितिले निर्देशन दिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?