+
+

इमानदार साथी

चेतनाथ आचार्य चेतनाथ आचार्य
२०७८ असोज १४ गते १८:०२

छोरी बालमन्दिरलाई दान दिएपछि एक्ली भएँ। एक्ली मात्र होइन खोक्री पनि। आफन्तलाई जलाएर फर्किएजस्ती भएकी थिएँ। पाँच वर्षको छोरालाई आमाको साथ छोडेर हिँडेकी, भर्खर तीन वर्ष पुगेकी छोरीलाई गुमाएँ। छोरी साथमा नहुँदा आफ्नै छाया हराएजस्ती, टाउको काटिएको मुर्कुट्टा र ममा केही फरक थिएन।

छात चरक्क चर्कियो। दूधले सम्झायो छोरीलाई। गाला र चोलो एकैचोटि भिजे। छोरीलाई दूध चुसाउन छोडेको डेढ वर्ष नाघेको थियो। उसले चुस्ता नआएको दूध उसैको विछोडमा तरर निस्कियो। आफूभित्रको ममतालाई आफ्नै दूधले धिक्कार्दै थियो।

छाती नराम्ररी चस्कियो भने बच्चा बिरामी हुन्छ भन्थिन् आमा। बच्चा छोडेर जतिसुकै टाढा पुगे पनि बच्चा भोकाएको आफ्नै दूधले थाहा दिन्छ भन्थिन्। भन्थिन् बच्चा भोकाएपछि दूध पोखिन्छ।

छोरीलाई घरमा छाडेर मेलोपात जाँदा दूध छचल्किन्थ्यो। छोरी भोकाएर रोइ भने चोलो भिज्ने गरी दूध पोखिन्थ्यो। मान्छेले मात्र होइन, पशुले पनि बच्चा भोकाएको आफ्नो दूधबाट थाहा पाउँछ रे। मसँग पनि छाती थियो, त्यहाँबाट दूध रसाउँदै थियो अनि त्यही दूधले सरापिरहेको थियो मलाई।

अस्पतालबाट हिँड्ने बेला विकास भाइसँग भेट हुन सकेन। साँझमा अस्पतालमा भेट गर्ने कुरा थियो। दिउँसै अस्पतालले बिदा गर्‍यो र बालमन्दिरको गाडीले ल्याइहाल्यो। बालमन्दिरबाट निस्केपछि अस्पताल गएर विकासलाई कुर्न चाहन्थें। बाटै पत्ता लगाउन सकिनँ। पागलजस्तै भएँ।

पाठो पासोमा परेपछि उम्केकी मृग थिएँ म। एक मनले तानेर बालमन्दिरमै लान्थ्यो। छोरीलाई च्याप्प च्यापेर भाग् भन्दै थियो। अर्को मनले कहाँ जाने भन्ने प्रश्न गर्थ्यो। आफै बगरको ढुङ्गो भएको बेला कमसेकम छोरी सुरक्षित रहने भइ भनेर चित्त बुझाउँथ्यो मन। बाटोमा हिँड्ने सानी फुच्चीको अनुहारमा पनि सोममाया देख्न थालें। कानमा ‘आमा’ शब्द ठोकिरह्यो।

‘न्याउली तैंले छोरी बेचिस् सहरमा बस्ने रहरमा। तँ अधर्मी होस्। तँ आमा त होस्, तर पापिनी आमा। छोरी सुम्पन आफै मरिसकेको कागजमा सही गरिस्। छोरीलाई अर्काको पोल्टामा हालेर कुन मुख लिएर हिँड्छेस् न्याउली? गाउँमा गएर के भन्छेस्? बहिनी भनेर को देखाउँछेस मंगलेलाई? के भन्छेस् आफ्नै आमालाई?’

एकाएक झसङ्ग भएँ। ठूलो पोखरीको डिलमा उभिएकी थिएँ। केही मान्छेले मेरो हात समाएका थिए। उनीहरु गाली गर्दै थिए, ‘आत्महत्या गर्नु हुँदैन। जिन्दगीमा दु:खसुख आइरहन्छन्। जीवनबाट हार्नु हुँदैन।’

‘हँ कसले गर्न लाग्यो आत्महत्या? बाटैबाटो हिँडिरहेकी थिएँ, कसरी पोखरी यहाँ आयो? कसले ल्यायो? किन समाएको मलाई?’ सबै जना मुखामुख गर्नथाले। कसैको मुखबाट आवाज निस्कियो, ‘पागल पो रहिछे।’त्यो पोखरीको बीचमा खम्बा थियो र त्यसको माथि सर्प ठडिएको थियो। पोखरीको वरिपरि मान्छेहरुको भीड र त्यही भीडबाट एकजनाले सोध्यो, ‘तिम्रो घर कहाँ हो? किन पोखरीमा हामफाल्न खोजेकी?’

चुप लागें म। न पोखरीमा हाम फाल्न गएकी थिएँ न मर्नु नै थियो। बालमन्दिरमा छोरीलाई छोडेर जाँदै थिएँ। तर कहाँ? पागल भन्दै पोखरीको क्षेत्रबाट बाहिर निकालेर छोडे मलाई।लखरलखर हिँड्न थालें उही चालमा। एक जना मान्छे मलाई पछ्याउँदै आएको रहेछ। केही अगाडि पुगेपछि भन्यो, ‘बहिनी घर कहाँ हो?’

‘पाबाङ,’ उसको अनुहार नहेरी भनें।

‘कहाँ हो पाबाङ भनेको?’
‘धादिङ। धादिङबेंसीदेखि निकै टाढा।’

‘काठमाडौंमा कहाँ बस्छौ?’ सबैभन्दा अप्ठ्यारो कुरा सोध्यो।चुप लागें। उसको अनुहार हेर्दै अगाडि बढ्न खोजें।

‘कहाँ जाने?’ ऊ पनि मसँगै हिँड्न थाल्यो।

‘थाहा छैन। कोसाइले काम दियो भने गर्छा,’ एकैसासमा भनें।

उसले उभिएर भन्यो, ‘काम दिन्छु, मेरो मेनपावर अफिस छ। चिया पकाएर स्टाफलाई दिनुपर्छ, अफिस सफा राख्नुपर्छ। अफिसमा एउटा कोठा पनि छ। त्यहीं बसे हुन्छ। गर्ने हो ?’टक्क रोकिएँ। उसको अनुहार हेरें। मुखबाट एक शब्द पनि निस्किएन।

‘खान पनि अफिसले व्यवस्था गर्छ। अहिलेलाई तलब पैँतीस सय, पछि बढाइ दिउँला।’ढुङ्गा खोज्दा देउता भेटें। उसको अनुहार राम्ररी नियालें। देखेँ आफ्नै आपाको अनुहार। विकास भाइको झझल्को आयो। अगाडि थियो साक्षात् देउता जस्तो जुँगामुठे, दाहिने गालामा ठूलो कोठी भएको मान्छे।

‘वर्षाको पैँतीस सय? हुन्छा,’ टाउको हल्लाएँ।’वर्षको होइन महिनाको,’ उसले दाँत देखिने गरी हाँस्दै भन्यो, ‘हिँड आजैदेखि।’ ट्याक्सी रोक्यो। ऊ पहिले ट्याक्सीमा चढ्यो र म चढें।

सहरका सबै मान्छेको मन कठोर नहुँदोरहेछ। प्लास्टर नगरिएका मन पनि बाँकी रहेछन्। आमाले भन्थिन्, ‘भगवानले परीक्षा लिन्छन्। भगवान कहिले मान्छेको रुपमा आउँछन् त कहिले पशुको रुपमा। छालाको आँखाले चिन्न नसकेर पछुताउँछ मान्छे। मनको आँखाले मात्र देखिन्छ भगवान।’

गुम्बाका लामाले भनेका थिए, ‘भगवान मान्छेको मनमा बसेको हुन्छ। जसले सहयोग गर्छ उही हो भगवान। सहयोग नगर्ने र पीडा दिनेलाई पनि कहिल्यै घृणा नगर्नू। सबैका मनमा सधैं भगवान बसेको हुँदैन। कहिलेकाहीं सिन्डे पनि बसेको हुन्छ। एउटै व्यक्ति कहिले भगवान हुन्छ त कहिले सिन्डे।’

लामाको त्यो वाणीको प्रभाव मेरो मनमा भित्रैसम्म गडेर बसेको रहेछ। मन सुख्खा भएर बगर भए पनि सानैदेखि लामा र आमाले सिकाएको कुरा मेरो मनमा फुलेको रहेछ ढकमक्क। बिमला साउनीलाई पनि दोष दिन्नँ। उसको मनमा सिन्डे बसेकाले मेरी छोरीलाई पिटिन्।

लोग्नेले अर्की स्वास्नी बिहे गरेकाले उनको मन भड्किएको होला। मनमा कुरा खेलाइरहेकी थिएँ, ट्याक्सी घ्याच्च रोकियो। ट्याक्सीबाट ओर्लिएर भित्र गयौं।
उही उमेरका दुई जना लोग्ने मान्छे बसिरहेका थिए। माथिल्लो तलाबाट झोला बोकेर एक जना महिला झरिन्। सबैसँग बिदा मागेर गइन्। साँझ पर्न लागेकाले अफिस बन्द गर्ने बेला भएको रहेछ। तीन जना गफ गरिरहे तर, उनीहरुको भाषा बुझिनँ। झमक्क साँझ पर्यो। अलमल्ल परेर उसैको अनुहार हेरिरहेकी थिएँ। उनीहरुमध्ये एकजनाले भन्यो, ‘भोक लाग्यो यार केही खाने होइन?’ अनि जर्याकजुरुक उठे उनीहरु।

‘यही हो मेरो अफिस। भोलिदेखि तिमीले यहाँ काम गर्ने। अहिले होटलमा खाना खान जाऔँ,’ ढोकामा चाबी लगाउँदै भन्यो, ‘बेलुका यहीं ल्याएर छोडौंला। माथि सुत्ने एउटा कोठा छ।’ बाहिर निस्किएर उनीहरुले ट्याक्सी रोके। सिमसिम परेको पानीले ठण्डी बढेको थियो। तीनजनासँगै ट्याक्सीमा चढें।

होहल्ला र गीत घन्किरहेको बजारमा ट्याक्सी रोकियो। एउटा ढोकाबाट भित्र पस्यौं। खाना खाने होटल रहेछ। सजिसजाउ र भव्य थियो त्यो। बिहानदेखि केही नखाएकीले भोक लागिरहेको थियो। भित्रपट्टिको कोठामा बसेपछि उनीहरुले खाना मगाए। जिन्दगीमा पहिलोपटक यत्तधिेरै खाने मौका पाएँ। पहिलो गाँस मुखमा हाल्न लाग्दा टुप्लुक्क छोरी अगाडि उभिइ। हेरिरहेकी थिइ टुलुटुलु मलाई। गाँस मुखमा पस्न सकेन।

‘किन के भयो खाना मिठो छैन?’ उही व्यक्तिले सोध्यो। झल्याँस्स भएँ। झझल्कोमा छोरी देखेछु। चुप लागेर खान थालें। गाँसैपिच्छे देखें कहिले छोरो कहिले आमा। मरिसकेको लोग्ने अगाडि उभिएको थियो। खाना खाइसक्न कठिन भयो। जस्तोसुकै खानेकुरा पनि चाँडै खाने मेरो बानी, तर सबैभन्दा मिठो खाना घाँटीबाट छिर्न मानिरहेको थिएन।

हरेक गाँसमा छोरी, छोरो र आमाको अनुहारले किक्लिक-किक्लिक भयो। पेट भोको भए पनि खान मानेन मनले। मरितरि खाएँ। उनीहरु चुरोट र रक्सीसँग गफ हाँक्दै खाइरहेका थिए।’यसपालिको दशैँ साह्रै सुख्खा भयो। बल्ल आज दशैँ जुर्‍यो ,’ उनीहरु यस्तै कुरा गर्दै थिए।

‘असार, साउन, भदौ, असोज,’ औँला भाँचेर गनें। दशैँ पनि गइसकेछ। तिहार आउँदा गाउँमा ढकमक्क फूल फुल्थ्यो। मालैमालाले घर सिँगार्थी देवकी। केके सोच्दै थिएँ। उनीहरुले मलाई रक्सी खान कर गरे। रक्सी नखाने भनेपछि फेन्टा दिए।

खाना खाइसकेपछि ट्याक्सीमा फर्कियौं। ट्याक्सीमा पनि फेन्टा खान दिए। मैले यतिधेरै सम्मान पाएको पहिलोपटक थियो।’कति सुतिरहेको? कोठा खाली गरिदिनुपर्यो,’ चर्को आवाज मेरो कानमा पर्‍यो।

म चलमल गर्नै नसक्ने अवस्थामा थिएँ। थिलथिलो शरीरमा एउटै पनि कपडा थिएन। ओछ्यानबाट उठ्न खोजें। मुढोजस्ती थिएँ म। हेरें, छातीभरि चिथोरिएका र टोकिएका डामहरु। तल्लोपेट कटकटी दुखिरहेको र रगत बगिरहेको थियो पिसाब गर्ने ठाउँबाट। क्षतविक्षत थिएँ म। म कहाँ छु? के भयो? मलाई जागिर दिने मान्छे खोई ? चारैतिर हेरें, फोहोर कोठा, यत्रतत्र चुरोटका ठुटा र रक्सीका बोतलहरु।

प्रयोग गरी गाँठो पारेर फालिएका कन्डम अनि डुङ्डुङ्ती गन्ध। रगतका टाटैटाटा भएको थोत्रो पलङ च्यादर, पुरानो सिरानी र फाटिसकेको कम्मल।चिच्याएर रुन चाहन्थें तर, आफैलाई पहिले चिन्नु थियो। भुइँमा फालिएका लुगा भेला गरेर लगाएँ। नजिकै झोला थियो। हेरें, अस्पतालबाट दिइएका केही फलफूल र हर्लिक्सको बट्टा जस्ताको तस्तै रहेछ। अस्पतालमा भेला गरेर दिइएको पन्ध्र सय र विकास भाइले दिएको पाँच सय भेटिनँ। छोरीको पचास रुपैयाँ पनि थिएन।

ढोकाबाट फेरि कसैले करायो। सकिनसकी उठेर झोला बोकेर ढोकामा गएँ। माथिल्लो तलाको कोठा रहेछ। अघिल्लो दिन काम गर्ने भनिएको अफिसकै माथिल्लो तला हो कि भनेर नियालें। अघिल्लो साँझ पुगेको ठाउँ जस्तो लागेन। त्यो अफिस होइन लज रहेछ।

‘दाइ मोलाई कोसले ल्यायो यहाँ?’ त्यहाँ उभिरहेको मान्छेलाई सोधें। ‘धन्दा गर्नेलाई थाहा होला नि कसले ल्यायो? रातभरि तीनतीन जनासँग मोज गरेर अहिले स्वाङ पार्ने?’ त्यो मान्छेले निकै छुद्र शब्द प्रयोग गरेर बोल्यो। त्यो मान्छेसँग अरु कुरा गर्ने आँटै गरिनँ। उसको कुराले चहराइरहेको शरीरमा नुनचुक र खुर्सानी थप्ने काम मात्र गर्‍यो। शरीरलाई घिसार्दै त्यहाँबाट निस्किएँ।

आफ्नै शरीर धान्नै नसक्ने, गह्रौ। दिनभर बेंसीमा काम गरेर साँझ पचास किलोभन्दा धेरै भारी बोकेर एक घण्टा उकालो चढ्दा कतै बिसाउनु पर्दैनथ्यो। लजबाट निस्कँदा आफ्नै शरीर कहाँ बिसाउँ भयो। शरीरको भारलाई खुट्टाले धान्न सकेन। टाउकाको भार अझ गह्रुङ्गो लाग्यो। सबैभन्दा ठूलो भार आइमाई भएर पाएको अङ्गको थियो। अघिल्लो दिनलाई सम्झिन खोजेँ।

होटलमा खाना खाएर ट्याक्सीमा फर्कंदा फेन्टा खाएकोसम्म मात्र याद आयो। त्यसपछि केही थाहा छैन। जसलाई भगवानको रुप मानेकी थिएँ, त्यही व्यक्तिले अरु दुईजनालाई खेताला लगाएर मेरो शरीर लुछेछ। जागिर दिने आशा देखाएर खाएछ मेरा शरीरका चोक्टा। हिजै बालमन्दिरमा मरिसकेकी थिएँ। त्यही लास उधिनेछन् बँदेलहरुले। अँध्यारोमा सिनो खाने गिद्धहरुको गुँड रहेछ काठमाण्डू।

पाबाङको वनमा उड्ने न्याउली म। सहर आएको साढे चार महिनामै सबै प्वाँखहरु उखेलिए। पखेटा भाँचेर कुँजो भएँ। मान्छेको रुप गरेका दैत्यहरुले जालमा पारेर जिउँदै झिरमा उनेर खाएछन्। उवाबारीमा चरा तर्साउन राखिएको पुत्ला ढलेको देख्ता उठाउने चलनमा हुर्किएकी म। सहरमा तिनै पुत्लाहरुले मलाई च्यातचुत बनाए।

सिन्डेहरुले मेरो मासु खाएर रातभर उत्सव मनाएछन्। मेरो मासुले नपुगेर अरुले दिएको चन्दा पनि लुटेछन् सोक्पाहरुले। बालमन्दिरमा छोरीलाई दिन बिर्सिएको पचास रुपैयाँ पनि तिनै अधमहरुले धुतेछन्। झोलामा केही फलफूल र हर्लिक्सको बोतल थियो। त्यही बोटलमा टाँसिएको थियो मेरो नागरिकता।

नागरिकतामा के लेखिएको छ थाहा छैन। टाँसिएको फोटोबाट मेरो हो भन्ने हेक्का थियो। त्यही फोटोले गिज्याउँदै थियो मलाई। विकाससँग मनमनै माफ मागें, ‘तिमीले भान्जीलाई दिएको पचास रुपैयाँ सिन्डेहरुले लुटेर लगे।’

नजिकै एउटा मन्दिर थियो। मान्छेहरु मन्दिरमा ढोग्दै हिँडिरहेका थिए। पूजा गर्ने र जल चढाउनेहरु हिँड्दै थिए लाइन लागेर। त्यही मन्दिरको छेउमा बसें। पूजा गर्न आउनेहरुले केही फलफूल दिए। उनीहरुका लागि माग्ने थिएँ म। उनीहरुसँग होइन मन्दिरभित्रको भगवानसँग मागिरहेकी थिएँ। मलाई धर्म चाहिएको थिएन।

पापीहरुले सजाय पाउन् भन्ने कामना गरें।मन्दिरतिर फर्केर मनमनै प्रश्न गरें, ‘भगवान किन विभिन्न रुपमा मेरो परीक्षा लिन्छौ? मान्छेको खोलभित्र रहेका राक्षसलाई कसरी चिनौँ? दुई खुट्टे पशुको रजाइँ गर्न ठाउँ हो र सहर?’भगवानले मेरा कुरा सुनेनन्। सहरका भगवानले पैसा र प्रसाद लिएर आउनेहरुको मात्र कुरा सुन्दा रहेछन्।

भगवानलाई दिने मसँग न फूल थियो न अक्षता। भगवानलाई रातो रङले पूजा गर्न चाहन्थें। मेरो शरीरै थियो रक्ताम्मे। भगवानको मूर्ति र मेरो शरीर उस्तै थिए। ‘किन मेरो संरक्षण गरेनौ?’ चिच्याएर सोध्न चाहन्थें हिमाललाई। सहरका गगनचुम्मी महल हिमालभन्दा अग्ला थिए, तिनैले छेकिदिए मेरो आवाज।

आधा दिनसम्म त्यही मन्दिरको छेउमा बसेँ। जिउ तातिएर ज्वरो आयो। रगत बगेर लुगामा टाँसिएछ। आफ्नै शरीर गन्हाउन थाल्यो। चोलो उचालेर छातीतिर हेरें। असरल्ल थिए टोकिएका र चिथोरिएका नीलडामहरु। अनुहार सुन्निएको थियो। कपाल सम्हाल्न खोजेँ। टाउको उसैगरी छोइनसक्नु गरी टन्किरहेको थियो।

मध्यान्ह भएपछि हिँड्न खोजें तर, हिँड्न तयार थिएन शरीर। थला परेको भैँसीलाई दाम्लो लगाएर घिसारे जस्तो घिसारेँ आफ्नै शरीरलाई। जता गए पनि राक्षसका आँखाहरुले मेरै शरीरमा तीर हानिरहे जस्तो, मलाई हेरेर घुटुक्क थुक निल्थे। दुर्सागाङमा लासलाई डढाएजस्तै सहरका नजरले डढाइरहेको थियो मलाई।

गल्लीको भित्तो र अग्ला घरका पर्खाल समाउँदै निस्किएँ। पानी तान्ने इनार नजिकै रहेछ। केही महिलाहरु लुगा धुँदै थिए। मागेर पानी खाएँ। पानीले शरीरमा केही तागत दियो।

केहीबेरमा खुल्ला ठाउँतिर निस्किएँ। त्यहाँ ठूलो सडक थियो। सडकमा गाडीहरु कुदेका थिएनन्। बीच सडकमा केही पुलिसहरु सिटी बजाउँदै मान्छे र मोटरसाइकललाई छेउतिर लाग्न आदेश दिँदै थिए। सडक छेउको फलामको बार समाएर सहरलाई हेर्नथालेँ। अर्कातिर ठूलो पोखरी थियो र पारि ठूलो घडी भएको घर।

हेर्दाहेर्दै कुँडुलो भएर आए मान्छेहरु। मान्छेको भेलमा लोग्नेमान्छे र आइमाई मान्छे सरोबरी थिए। सबैभन्दा अगाडि उभिनेले लुङ्दरजस्तै लामो कपडा समाएका थिए। त्यसमा केही लेखिएको थियो। पछिपछि हिँडिरहेका मानिसहरुले कागज टाँसिएको लठ्ठी लिएका। ठूलो स्वरमा नारा लगाइरहेका ‘महिला हिंसा बन्द गर्, अपराधीलाई कारवाही गर्, महिलालाई समान अधिकार दे, बलत्कारीलाई कारवाही गर्’। मैले नबुझेका अरु केके।

त्यो भीडमा कसैलाई चिने जस्तो लाग्यो। कताकता देखे जस्तो। सम्झने कोसिस गरें। कालो कोट र कालो पेन्टमा घाँटीमा रातो सानो डोरी झुन्ड्याएको थियो त्यसले। उसको गालामा कोठी थियो। जुँगा पालेको त्यो व्यक्तिलाई अघिल्लो दिन मात्र भेटेकी थिएँ। मेरा आन्द्राभुँडी उधिन्ने सोक्पा थियो त्यो। भीड अगाडि गयो।

रमितेहरु लाखापाखा लागे। हातमा डटपेन र कापी लिएको मान्छेले छेउको बटुवालाई सोध्यो, ‘म पत्रकार। अहिले भर्खरै महिला हिंसाको विरुद्धमा र्‍याली गयो। तपाईलाई यस बारेमा के थाहा छ?’ बटुवाले केही बोले। उसले यताउता कसैलाई खोज्यो। एकजनालाई सोध्न खोजेको थियो, त्यो मान्छे जवाफ नदिइकन तर्किएर हिँड्यो। एउटी महिलालाई बाटो छेकेर सोध्यो, ‘बहिनी तपाईलाई महिला हिंसाका बारेमा थाहा छ? कोहीमाथि हिंसा भएको देख्नु भएको छ?’ ती महिला खितखिताउँदै मुख छोपेर भागिन्।

त्यो मान्छे मेरो नजिक आयो र सोध्यो त्यसैगरी।

‘के भोनेको बुझेना?’ उसको अनुहारमा हेर्दै सोधें।

‘तपाईलाई कसैले अन्याय गरेको छ कि?’ अलि बुझिने गरी भन्यो।

‘मलाई अन्याय भाकु छा। नाराम्रो गर्ने मान्छे उ..त्या काराउँदै जाँदैछा,’ जुलुस गएतिर औँल्याएर भनेँ, ‘अन्याय भएको प्रमाण यहाँ छा हेर्छा?’ अघिल्लो रातका मेरा शरीरका निसानीहरु उसलाई देखाउन घाँटीनेरबाट चोलोको तुना खोलें।

‘हैट केकेका पागल आइ लाग्छन्,’ तर्किएर भीडतिर दौडियो। मन्दिर छेउमा बस्दा माग्ने, पीडा पोख्न खोज्दा पागल। गाउँकी न्याउलीलाई सहरले भुत्ल्याइरह्यो आफ्नै सुरमा। यताउता भौंतारिँदा भौतारिँदै साँझ पर्न लाग्यो। खाएको केही थिएन। सुन्निएको शरीर अनि आउने अर्को रात। जोगाउन केही थिएन मसँग।

आफ्नै शरीर पराइ बनेको थियो। तैपनि रातपरेपछि मन डराउँदोरहेछ। मरिहाल्न पनि सकिनँ। कतै टाउको लुकाएर रात कटाउन आश्रय खोज्दै यताउता गरिरहेँ। चिसो बढ्न थाल्यो। कतै बाजा बजेको सुनेँ। मान्छेको कल्याङकुलुङ आवाज पनि कानमा ठोकियो। त्यतै लागेँ।

अग्लो घरको छेउमा मन्दिर रहेछ। मन्दिरभित्र फराकिलो ठाउँ थियो। त्यहाँ मान्छेहरु भेला भएर भजन गाउँदै थिए। लुसुक्क पसें कुनातिर। मान्छेको भीडले केही न्यानो भयो। अगाडि बस्नेहरु बाजा बजाएर गाउँदै थिए। मनमनै भगवानलाई पुकार्न खोजें तर, सकिनँ। पैतालामा काँडा बिझ्दा पनि भगवान सम्झन्थें।

डाँडाकाँडा, गुम्बा, छ्योर्तेन सबैतिर पाती चढाउँदै हिँड्थें। सबैतिर भगवान देख्ने मेरा आँखाले मन्दिरभित्र पुग्दा भेटेनन् भगवान। भगवानको नाममा भजन गाउँदै थिए अरु, मलाई चाहिँ आफ्नै शरीरले जिस्क्याउँदै थियो।

भजन गाउन र भगवान पुकार्न गएकी थिइनँ त्यहाँ। रातिको चिसो र अँध्यारामा सिकार खोज्ने ब्वाँसाहरुबाट जोगिन घुस्रिएकी थिएँ।भजनकीर्तन सकिएपछि सबै उठेर आफ्ना घरतिर गए। मेरो न कुनै घर थियो न त जाने ठाउँ नै। त्यहीं कुनामा कुक्रुक्क परेर बसिरहें।

भूतप्रेतसँग साह्रै डर लाग्थ्यो मलाई। एकपटक डराएर सातो गयो भन्दै आमाले लामा बोलाएर ल्याएकी थिइन्। लामाले जन्तर बाँधेर भनेका थिए, ‘जन्तर बाँधेपछि कुनै सिन्डेले केही गर्दैना। सिन्डेको छाया पनि पर्नु सक्दैना यो बाँधेपछि।’ लामाले बाँधिदिएको जन्तर थिएन मसँग। मलाई लुछ्ने सिन्डेहरु मन्दिरभित्र आउन नसक्लान् भन्ने आशाले बचायो। सहरमा मान्छेहरु चुप लागेपछि कुकुरहरु भुक्न थाल्दा रहेछन्।

हुलका हुल कुकुर भुकेपछि भरोसा लाग्यो। कमसेकम साथ दिने कुकुर त थिए। कुकुर भुकुन्जेल कुनै मान्छेको पदचाप र आवाज सुन्नु परेन। कुकुरको भुकाइ सुन्दासुन्दै कतिखेर निदाएछु। बिहान मान्छे बोलेको सुनेपछि ब्युझिएँ। त्यस्तो खुल्ला ठाउँमा पनि न्यानो कसरी? आँखा मिच्दै हेर्छु, मेरो वरिपरी सात ओटा कुकुरहरु सुतिरहेका थिए। ती कुकुरलाई मोलम दिएँ। सहरमा मेरो पीडा देख्ने साथीहरु थिए ती।

आँखा मिचेर वरिपरि हेरें। पर्खालबीचमा मन्दिर, कुनातिर पीपलको रुख। मन्दिरको वरिपरि बाती बाल्न बनाइएका फलामका दियोहरु जलेर काला भइसकेका थिए। मन्दिर पस्ने ढोकामा झुन्ड्याएको रहेछ ठूलो घण्टी। चारै सुरमा फलामका सिक्रीमा साना घण्टीका झुप्पाहरु थिए।

हातमा फूलपाती र धूप बोकेका महिलाहरु बिहानै मन्दिरमा आउन थालेका थिए। फूल र धूपको बासना मगमग चलिरहेको थियो। मन्दिरबाहिर जुत्ता चप्पल खोलेर भित्र पस्ने बेला बजाइएको घण्टी ट्वाङ्ग गर्दै रनन्न रनकन्थ्यो।

एकदुई गर्दै मन्दिरमा मान्छेको संख्या बढ्न थाल्यो। अघिल्लो दिनको मन्दिरमा जस्तै त्यहाँ पनि केही खानेकुरा दिए। खानेकुरा कुकुरसँग बाँडेर खाएँ। सहरका काला रात कटाउने आश्रयस्थल बन्यो मन्दिरको कुनो। कुकुरहरु हरेक रात मेरो सुरक्षा गर्न साथीको रुपमा त्यहाँ थिए।

(फिनिक्स बुक्सले हालै प्रकाशन गरेको चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?