+
+

एमालेको विधान महाधिवेशन सुरु हुँदै, हुने छैनन् पार्टीका पूर्वप्रमुखहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते ७:४६

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ ।

माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

विधान महाधिवेशनमा एमालेका पूर्वप्रमुखहरु कोही पनि नरहने भएका छन् । पूर्व पार्टी प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । एमालेका संस्थापक नेता मुकुन्द न्यौपाने पनि नेपाल–खनालकै पार्टीमा छन् । २०५४ सालमै एमाले छाडेका सीपी मैनाली नेकपा मालेका महासचिव छन् ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।

विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् । उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।

विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । नवौं महाधिवेशन २०७१ सालमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?