+
+

अष्ट्रेलियाको सीमा नोभेम्बरबाट खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १२:०३

१५ असोज, काठमाडौं । अष्ट्रेलियाले आगामी नोभेम्बरदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने भएको छ। सुरुमा उसले खोप लगाएका नागरिक र उनीहरुको आफन्तलाई भ्रमणको अनुमति दिने बताएको छ ।

२०२० को मार्चदेखि केही अष्ट्रेलियन नागरिकले मात्र मुलुक प्रवेशको अनुमति पाएका छन् । त्यस्तै कुनै विशेष कारण विना मुलुक बाहिर जान पाउने नियम पनि निकै कडा बनाइएको छ ।

अष्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणको लागि लगाएको कडा नियमको प्रशंसाका साथै परिवारहरुसँग छुट्याएको भन्दै आलोचना पनि हुँदै आएको छ। ८० प्रतिशतभन्दा धेरै मानिसले कोरोना खोप लगाएको स्थानमा भ्रमणमा थप स्वतन्त्रता दिने बताइएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने, ‘अष्ट्रेलियाका नागरिकको जीवन फिर्ता ल्याउने समय आएको छ ।’ अहिले अघि सारिएको योजनाअनुसार तत्काल विदेशीका लागि भने अष्ट्रेलियाको सीमा खुल्ने छैन तर सरकारले छिटै नै विदेशीलाई पनि आफ्नो मुलुक घुम्न दिने नियम ल्याउने विषयमा निर्णय गर्ने बताएको छ ।

अहिले अष्ट्रेलियामा रहेका मानिसले अत्यावश्यक काम वा अन्तिम अवस्थामा पुगेका आफन्त भेट्नका लागि मात्र मुलुक छाड्न पाउँछन् । त्यस्तै उसले बाहिरबाट आउने मानिसका लागि अनिवार्य १४ दिने होटल क्वारेन्टिनको नियम लगाएको छ । पूरा डोज कोरोना खोप लगाएका मानिसको लागि क्वारेन्टिन ७ दिनमा झारिनेछ ।

अहिले कोरोना संक्रमणको जोखिमको कारण सिड्नी, मेलबर्न र क्यानबेरामा गरिएको लकडाउन जारी छ । जसको कारण अष्ट्रेलियामा पछिल्लो केही महिनामा खोप लगाउनेको संख्या पनि उल्लेख्यरुपमा बढेको छ ।

न्यु साउथ वेल्स अष्ट्रेलियामा सबैभन्दा पहिला ८० प्रतिशत नागरिकलाई खोप लगाउने राज्य बन्ने अवस्थामा देखिएको छ । अबको केही समयमा यो मापदण्ड पूरा हुने अपेक्षा गरिएको छ ।

यद्यपि अष्ट्रेलियाका केही राज्यले भने कोरोना संक्रमण आफ्नो राज्यमा शून्यमा रहेको भन्दै सीमा नखोल्ने चेतावनी दिएका छन् । क्विन्सल्याण्ड र वेस्टर्न अष्ट्रेलियाले कोरोना खोप लगाउनेको संख्या मापदण्डभन्दा धेरै भए पनि सीमा नखोल्ने चेतावनी दिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?