+
+

अमेरिकी कूटनीति र जासुसमा देखिएको ‘हवाना सिन्ड्रोम’को कारण झ्याउँकिरी !

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १९:०९

१५ असोज, काठमाडौं । केही वर्षअघि क्युवाको राजधानी हवानास्थित अमेरिकी र क्यानाडेली दूताबासका कर्मचारीमा ‘हवाना सिन्ड्रोम’ नामक मेडिकल समस्या देखिएको थियो ।

सन् २०१६ मा पहिलो पटक हवानामा देखा परेको उक्त लक्षण अन्य मुलुकका कूटनीति एवं जासुसमा पनि देखिँदै आएको छ । भियनामा रहेका अमेरिकी जासुस, अधिकारी र दूतावासका कर्मचारी जुलाईमा ‘हवाना सिन्ड्रोम’ देखिएको बताएका थिए ।

सन् २०१८ मा चीनस्थित अमेरिकी कूटनीतिमा समेत यस्तै लक्षण देखिएका थिए । रुसको गोप्य अपरेशनलाई ‘काउन्टर’ गर्ने उद्देश्यसहित अन्य मुलुकका साझेदार एजेन्सीसँग सहकार्य गरिरहेका सीआईएका एजेन्टमा पनि यही समस्या देखिन थालेको थियो ।

क्युवामा ‘हवाना सिन्ड्रोम’बाट ग्रसित व्यक्तिबारे एउटा अध्ययन समेत गरिएको थियो । सन् २०१९ मा जामा नामक जोर्नलमा प्रकाशित उक्त अध्ययनमा अमेरिकी कूटनीतिले एक खाले ‘ब्रेन इन्जुरी’ वा दिमागी चोटको अनुभव गरेको उल्लेख छ । तर सो अध्ययनले मानसिक आघातको कारण तय गर्न सकेको थिएन ।

अमेरिकी कूटनीति र जासुसहरुमा ‘हवाना सिन्ड्रोम’ देखिन थालेसँगै यसको कारणबारे विभिन्न अड्कलबाजी समेत हुँदै आएका छन् । माइक्रोवेभ विकीरणका कारण यो सिन्ड्रोम देखिएको कतिपयको तर्क छ । त्यस्तै कतिपयले अल्ट्रासाउण्ड र विषादीले गर्दा उक्त समस्या देखिएको बताउँदै आएका छन् ।

अमेरिकी विदेशमन्त्रालयले हवाना सिन्ड्रोमलाई व्याख्या गर्न नसकिएको स्वास्थ्य समस्या भनेको छ । त्यस्तै सीआईएका निर्देशकले यसलाई विदेशी दुश्मनले गरेको आक्रमणको संज्ञा दिएका छन् ।

यसैबीच हालै सार्वजनिक भएको एक गोप्य रिपोर्टमा ‘हवाना सिन्ड्रोम’को कारण झ्याउँकिरी भएको उल्लेख छ । झ्याउँकिरीको आवाजले गर्दा क्युवास्थित अमेरिकी दुताबासका कर्मचारीले भुन्भुनाएको आवाज सुन्ने, पीडाको महसुस गर्ने र ध्यान एकाग्र गर्न नसक्ने जस्ता समस्या बताएको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्रालयको निर्देशनमा बनाइएको उक्त रिपोर्ट बजफिड न्युजलाई उपलब्ध भएपछि सार्वजनिक गरिएको हो । रिपोर्टअनुसार विदेशी दुश्मनले प्रयोग गरेको माइक्रोवेभका कारण नभई झ्याउँकिरीको आवाजले गर्दा अमेरिकी कूटनीति र जासुसमा ‘हवाना सिन्ड्रोम’ देखिएको हो ।

अध्ययनका क्रममा अमेरिकी कर्मचारीको अनुभव र विवरणसँगै उनीहरुले बनाएका ‘हाइ फ्रिक्वेन्सी साउन्ड’का ८ अडियो र भिडियो रेकर्डिङको विश्लेषण गरिएको थियो । अनुसन्धानकर्ताले उक्त विश्लेषणपछि रेकर्ड गरिएको अनौठो आवाजको स्रोत छोटो पुच्छर हुने एक प्रजातिको झ्याउँकिरी रहेको ठहर गरेका छन् ।

‘अमेरिकी अधिकारीहरुलाई हैरान पार्न भन्दै कसैले कुनै प्रयास गरेको हुन सक्ने अनुमानलाई अस्वीकार गर्दैनौं तर चोट पुर्‍याउनका लागि गरिएका हमला भन्ने तर्कलाई न स्मोकिङ गन न पहिचान गरिएका पीडितका आधारमा प्रमाणित गर्न सकिन्छ’, रिपोर्टमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?