+
+
साहित्य-वार्ता :

आफ्नो भावनाको मुहान आफ्नै मन हो : सञ्जु अधिकारी

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ असोज १६ गते १४:४०

पेशाले चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारीको पहिलो उपन्यास ‘इन्द्रेणी स्पर्श’ भर्खरै बजारमा आएको छ । वाणिज्य क्षेत्रको तनावपूर्ण पेशाका बीच पनि अधिकारी साहित्य, कलामा सक्रिय छिन् ।

नियमित जागिरको साथसाथै उनी विभिन्न संस्थाको निर्देशकको भूमिकामा पनि रहेकी छिन् । दैनिक जीवनमा समेत स्वतन्त्र र उन्मुक्त रहन मन पराउने अधिकारीको लेखनमा पनि त्यो झल्किन्छ । स्वउद्यम र प्रगतिशील जीवनको पक्षमा उनको उपन्यासले पैरवी गरेको छ ।

अधिकारीसँग लेखन र व्यक्तिगत जीवनमा केन्द्रीत रहेर अनलाइनखबरका लागि गरिएको कुराकानी :

घरपरिवार अनि दुई बच्चाको जिम्मेवारी सँगसँगै जागिर र लेखनलाई कसरी अगाडि बढाउनुभएको छ ?

आजको समयमा शिक्षित नारीका लागि चारैदिशाबाट जिम्मेवारी थपिएको अवस्था छ । आफू, आफ्ना लक्ष, रहरहरूकै संसार ठूलो छ । त्यसमाथि छोराछोरी, श्रीमान्, घरपरिवार र साथीहरू सबैका लागि महत्त्वपूर्ण भूमिका हुन्छ । सधैं सबैलाई बराबर समय दिन असम्भव नै रहन्छ । त्यसैले म प्राथमिकताका आधारम समय विभाजन गर्छु ।

पेशागत जीवनको व्यस्तताले पारिवारिक तथा नितान्त व्यक्तिगत पक्ष कहिलेकाहीँ ओझेलमा पर्छन् । तर सबै क्षेत्रबाट सन्तुष्टि एकैपटक खोज्दिनँ, कहिले कुनै पाटोले खुशी दिन्छ त कहिले अर्कै पक्षले । जसरी पनि आफु खुशी हुनुपर्यो, हरेक पटक सन्तुलन मिलाउने-नमिलाउने भन्ने हुँदैन ।

महिलाको सफलताको लागि परिवारको साथ अपरिहार्य हुन्छ भनिन्छ, तपाईंको लागि पारिवारिक माहोल कस्तो छ ?

धेरै कुराको जस्तै व्यस्तता र प्रेसरको पनि लत हुँदो रहेछ । सानोमा पनि गर्न सक्नेजति अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुन्थें । पछि खेलकुदमा लागेँ । सबैमा सधैं सफलता मिल्ने निश्चित त हुँदैनथ्यो तर खुशी मिल्थ्यो । पढाइका लागि खासै जोड लगाउन पर्दैनथ्यो, सजिलै ढंगले पुरा गरेँ । अहिले पनि स्थिति त्यस्तैत्यस्तै नै छ ।

म एक कर्मचारी हुँ, आमा हुँ, श्रीमती हुँ, बुहारी हुँ अनि साथी पनि । मेरा लागि घरव्यवहार स्वचालित चल्नुपर्छ । काममा एकाग्रता पनि चाहिन्छ अनि रहरका काममा सन्तुष्टि पनि । सन्तान संधै हाँसीखुसी रहुन भन्ने हुन्छ नै ।

सबैको कला साहित्यमा रूचि नहुन पनि सक्छ तर पनि श्रीमान भने मेरो खुशीमा मख्ख नै हुनुहुन्छ, त्यसैले मैले चाहेको कार्यमा हौसला भने दिनुहुन्छ । त्यो भन्दा बढी मैले मेरा छोरीहरूको लागि मार्गचित्र कोर्न सकेको जस्तो लाग्छ, जुन कुराले केही न केही गरिरहौं भनी मलाई बढी प्रेरणा मिल्छ ।

खेल जीवनबाट टाढा हुँदाचाहिँ पछुतो लागेको छैन ?

सत्य भन्नुपर्दा खासै पछुतो छैन । सितोरियो कराँते केही वर्ष खेलेँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक पनि हासिल भयो । सम्मान पाउँदा, पत्रिकामा समाचार छापिँदा फुरूक्कै पनि हुन्थेँ । मैले रमाइलोका लागि खेल सिकेको थिएँ, जतिन्जेल खेलेँ, रमाएँ ।

सपना मेरा फरक थिए, त्यसैले त्यो पाटो छोड्न सङ्कोच मानिनँ । खेलले मलाई सहनशील बन्न सिकायो, मेहेनत गर्न सिकायो, अरूका नजरले हेर्न र विचार गर्न सिकायो र सबैभन्दा महत्वपूर्ण कुरा हार स्वीकार गर्न सिकायो । अहिले सम्झँदा ती उपलब्धिहरू कुनै पुरस्कार भन्दा कम लाग्दैनन् ।

भर्खरै प्रकाशित कृति ‘इन्द्रेणी स्पर्श’ को मूल स्वर के हो ?

नारी जीवनका भाव, यात्रा तथा नारी संवेदनाका रंग समेटेर लेख्न खोजेको छु । यस उपन्यासमा बदलिँदो परिवेशमा समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउन खोजिएको छ ।

पात्रको व्यक्तिगत भोगाइ र प्रतिक्रिया सबै कथा परिस्थितिअनुसार झल्किएका छन् । मानवजीवनका अनेकौँ सम्बन्धहरूको रङले अन्तर्मनसम्म छुँदै रंगीन इन्द्रेणी स्पर्शलार्ई अनुभव गर्ने कथा हो ‘इन्द्रेणी स्पर्श’ ।  यस उपन्यासमा प्रेमको स्पर्श छ ।

पहिलो पुस्तक भएकाले प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

मिश्रित नै छ ।  धेरैजसोले पठन अनुभव सुखद रहेको बताउनुभएको छ ।  कतिले ‘वाह, क्या लेखिछौ, अत्यन्त मिठो किताब बनाएछौ’ पनि भन्नुभएको छ । केही पाठकले चाहिँ एक–दुइ पात्रलाई न्याय भएन, केही परिमार्जन गर्नुप¥यो’ भनेर सुझाव पनि दिनुभएको छ । मेरा लागि सबै आलोचना र प्रशंशा स्वीकार्य छन् ।

एकातिर लेखाजोखाको कठिन काम, अनि अर्कोतिर साहित्यजस्तो नरम क्षेत्रमा लगाव । यो कसरी सम्भव भयो ?

चार्टर्ड एकाउन्टेन्सी मन लागेरै पढेको विषय हो । जस्तो मेरो स्वभाव छ, जुन पारिवारिक तथा सामाजिक परिवेशमा म हुर्किएँ ती सबैले मेरो पेशागत व्यक्तित्वलाई सघाएकै छ ।

अर्कोतर्फ रहेको कला–साहित्यको संसार एकदम बेग्लै छ । म नियमित लेख्दिनँ तर धेरैजसो शनिबार बिहान नियमित लेख्ने गर्छु । मलाई के लाग्छ भने कला, रचना अनि नवीनतम सोचहरू चलायमान छन् । तिनीहरू मानव मस्तिष्कलाई घुमीघुमी छोइरहन्छन् । शुन्यतामा होस् या केही घटनाको उल्झनमा, शब्दका गुच्छा मेरो मनमा आइरहन्छन् । कत्ति धेरैचोटि त केही कल्पना गर्छु, मनमनै केही सिर्जना गर्छु, तर लेखेर साँच्ने मेसो नमिल्दानमिल्दै बिर्सिएर जान्छ ।

आफ्नो सिर्जना मनमा च्यापेर निदाउनु अनि बिर्सिनु पनि सन्तोषजनक नै रहन्छ । मैले समाएर अक्षरका रूपमा नकोरेका भावहरू, मलाई छोडी उडेर गएका पनि छन् । तर लेखेर, केही मिलाएर पूर्ण गर्न सकियो भने झनै धेरै खुशी पाएको महसुश गर्छु । सायद वाणिज्य संसार मेरो क्षमताको क्षेत्र हो, अनि कलासाहित्य आशिर्वाद क्षेत्र ।

के कुराले तपाईंलाई उपन्यास लेख्न प्रेरित गर्यो ?

नेपाली समाजमा स्वतन्त्रता खुम्चिएकै छ । सामाजिक नियम र अनुशासनको आफ्नै महत्त्व छ तर पनि रहर, भावप्रवाह र खुशी नितान्त व्यक्तिगत पक्ष भएकाले स्वतन्त्रताको जरुरत महसुस गरेर लेख्न सुरु गरेको हुँ ।

आफ्नो भावनाको मुहान आफ्नै मन भएकाले, भावना कुनै प्रभाव, सापेक्षता र दवाब बिना, आफ्नै मर्जीमा फक्रिन पाउनुपर्छ भन्ने विषयको कीर्ति हो ।  इन्द्रेणी स्पर्श लेखनमा दोस्रो तर प्रकाशनमा पहिलो सिर्जना हो । नारी मनको नजरबाट समय र सम्बन्ध नियालिएको साहित्य हो ।

पात्रहरू बालिकाबाट युवती बनुन्जेलको यात्रामा धेरैपटक मैले आफूलाई खोजेको छु । त्यसैले पुस्तक लेखन मेरो लागि एक रमणीय यात्राझैं रह्यो ।  लेखनदेखि प्रकाशनसम्मको समयमा मैले धेरैपटक केरमेट गरेँ, हरेक शब्द मेरा लागि आफ्ना सन्तान जत्तिकै प्यारा छन् ।

पाठकले यो उपन्यास किन पढ्नुपर्छ ?

साहित्य एक कला हो, मन लोभ्याउने, रिझाउने अनि सन्तुष्टि दिने । इन्द्रेणी स्पर्श पनि कलाको एक उपहार नै हो ।  पाठकलाई पढुन्जेल रमाइलो महसुुस हुनाको साथसाथै केही याद झझल्को बनेर सामुन्ने आउने छन्, केही रहर पलाउने छन्, केही कल्पना तस्बिर बनेर आँखासामु छाउनेछन् ।

साहित्यको हरेक फूल सुन्दर अनि मीठो सुगन्ध दिने हुन्छ । इन्द्रेणी स्पर्श पढ्नुहुनेले पनि यो रचनालाई साहित्य बगैँचाको पुष्पकै रूपमा पाउनु हुनेछ ।

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?