 
																			१७ असोज, पोखरा । बाढी-पहिरोका कारण अवरुद्ध बनेको मनाङको सडकखण्ड ३ महिनापछि सञ्चालनमा आएको छ । मनाङको भ्राताङ भीरमा पहिरोले पुर्याएको क्षति मर्मत गरिएपछि सडक सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
भ्राताङ भीरको सडक मर्मत भएपछि मनाङको चामे गाउँपालिका र डिस्याङ गाउँपालिका जोडिएको सिडिओ लामिछानेले बताए । उनका अनुसार बेंशीसहर–चामे जोड्ने सडकखण्ड भने अझै सञ्चालनमा आइसकेको छैन । तर, उक्त सडकखण्ड पनि १-२ दिनभित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
‘भ्राताङको सडक मर्मत भएपछि जिल्लाको मुख्य सडक आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ,’ सिडिओ लामिछानेले अनलाइनखबरसँग भने, ‘बेंशीसहर-चामे सडकखण्डको भने बगरछापमा केही दलदले माटो अझै बाँकी छ। काम भइराख्या’छ । त्यो ठाउँको पनि भोलिसम्मै हटाइसक्छौं ।’
मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत नभइसकेकाले खुल्न अझै केही समय लाग्ने सिडिओ लामिछानेले सुनाए । ‘त्यहाँ काम भइराख्या भएपनि अझै केही अवरोध छ । दसैंभन्दा अघि नै खोल्ने गरी प्रयत्न गरिराखेका छौं,’ उनले भने । जिल्लाको मूलबाटो खुले पनि अन्य शाखा बाटामा घोडा, खच्चड हिँड्न मिल्ने भएपनि पूर्णतः खुल्न बाँकी रहेको उनी बताउँछन् ।
‘केही दिनअघि हामी तिलिचोसम्मै पदमार्ग निरीक्षणमा गयौं । त्यहाँको धेरै भाग खतरनाक नै रहेछ,’ सिडिओ लामिछानेले भने, ‘कतिपय ठाउँमा घोडा पनि पास नहुने अवस्था थियो । तर, गाउँपालिकालाई अनुरोध गरेर बनाइसक्यौं । मान्छे हिँड्न पनि सक्ने, घोडा पनि पास हुने भइसक्यो ।’ सडक मर्मत गर्न ९२ लाख रुपैयाँभन्दा बढी खर्च भएको जिल्ला प्रशासन कार्यालय, मनाङले जनाएको छ।

जिल्लाको मुख्य सडक सञ्चालनमा आएपछि अहिले साना गाडीहरु आउन सहज भएको सिडिओ लामिछानेले जानकारी दिए । उनले भने, ‘अहिले साना गाडीहरु आइरहेका छन् । तर, विस्तारै ठूला गाडी पनि आउन सक्ने परिस्थिति बन्दैछ । समस्या छैन ।’
मनाङ जाने बाटो खुलेपछि पर्यटक पनि बढ्न थालेका छन् । सडक खुलिसकेपछि आइतबारसम्म त्यहाँ स्वदेशी तथा विदेशी गरी ७० जनाभन्दा बढी पर्यटक पुगिसकेको सिडिओ लामिछानेले जानकारी दिए ।
मनसुनको सुरुआतमै आएको बाढीपहिरोले मनाङले ठूलो क्षति व्यहोरेको थियो । बाढी, पहिरोले सडक तथा पुलमा क्षति पुर्याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सम्पर्क विच्छेद हुन पुगेको थियो । बाढीपहिरोले भौतिक क्षति पुर्याएपछि आवतजावतका साथै खाद्यान्न ढुवानीमा समस्या परेको थियो ।
जिल्ला प्रशासन कार्यालय मनाङको नेतृत्वमा गरिएको एक अध्ययन अनुसार बाढी-पहिरोले मनाङको तालगाउँलाई ७० प्रतिशत र बेंशीसहर-चामे सडकखण्ड ८० प्रतिशत क्षति पुर्याएको देखिएको थियो । बाढीपहिरोले १७ झोलुंगे पुलमा क्षति पुर्याएको र त्यसमध्ये ११ वटा पुनर्निर्माण नै गर्नुपर्ने अध्ययनले देखाएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4