+
+

अध्यक्ष वैद्य काउन्सिल सदस्यमा सर्वसम्मत चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १७:४४

१७ असोज, काठमाडौं । एसियन टेबल टेनिस युनियन (एटीटीयू) को आइतबार कतारको दोहामा भएको कंग्रेस बैठकले अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलाई काउन्सिल सदस्यमा चयन गरेको छ ।

कतारमा भइरहेको २५ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटीटीयूको कंग्रेस बैठक पनि बसेको हो । त्यस क्रममा वैद्य चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

नेपाल एटीटीयूको संस्थापक सदस्य भएको आधारमा वैद्यलाई एसियाली टेबल टेनिसको यस महत्वपूर्ण पदमा चयन गरिएको हो । वैद्य एटीटीयूको सदस्यमा चयन भएको यो दोस्रो पल्ट हो ।

यस्तै टेबल टेनिस प्रशिक्षक शंकर गौतम एटीटीयूको दक्षिण एसियाबाट उपाध्यक्षमा पनि चयन भएका छन् । यस पदका लागि भारत र नेपालका पदाधिकारी चयन भएकोमा गौतमले चार वर्षे कार्यकालको दोस्रो दुई वर्ष क्षेत्रीय उपाध्यक्षको यो पद सम्हाल्ने छन् ।

भारतीय प्रतिनिधिले सुरुआती दुई वर्ष जिम्मेवारी सम्हाल्ने निर्णय बैठकले गरेको हो । एटीटीयूको थप तीन कमिटीमा नेपाली प्रतिनिधिको चयन सदस्यका रूपमा भएको छ ।

त्यस अनुसार एटीटीयू अन्तर्गत रहेको टेक्निकल कमिटीमा तेजेन्द्र हमाल, भेट्रान, एडुकेसन एन्ड ट्रेनिङ कमिटीमा धर्ममान वज्राचार्य तथा मिडिया कमिटीमा हिमेशरत्न वज्राचार्य चयन भएका छन् । यो समितिको कार्यकाल पनि चार वर्षको हुनेछ ।

एटीटीयूमा नेपाल प्रतिनिधिको यो चयनले एसियाली टेबल टेनिसमा नेपालको बलियो र महत्वपूर्ण उपस्थिति रहने अध्यक्ष वैद्यले बताएका छन् । उनले भने, ‘एसियाली टेबल टेनिस युनियनको संस्थापकमध्ये एक नेपाल पनि हो र यस क्षेत्रको टेबल टेनिसमा नेपालको जहिले पनि बलियो र सक्रिय उपस्थिति रहेको छ । अब यो क्रम आउने चार वर्षमा पनि कायम रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?