+
+

दशैंको चहल पहल बढेसँगै पेट्रोलियम पदार्थको खपत उच्च

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १५:२३
फाइल तस्वीर

१९ असोज, काठमाडौं । देशैभर दशैंको चहलपहल बढेसँगै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको नेपाल आयल निगमले जनाएको छ ।

देशभर डिजेलको खपत दैनिक १२ लाख लिटरले बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । यस्तै पेट्रोलको खपत सामान्य अवस्थामा भन्दा दैनिक ६ लाख लिटरले वृद्धि भएको उनले बताए ।

सामान्य अवस्थामा दैनिक देशभर ४० लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले यस्तो खपत ५२ लाख पुगेको छ । यस्तै १९ लाख लिटर दैनिक खपत रहेको पेट्रोलको माग पनि २५ लाख लिटर पुगेको प्रवक्ता उपाध्यायले बताए । नौरथा लागेदेखि नै बढ्दो क्रममा रहेको पेट्रोलियमको माग हरेक दिन जसो बढी रहेको उनको भनाइ छ ।

‘घटस्थापना नजिकिएसँगै दैनिक खपत अझै चुलिएको छ, तर आपूर्तिमा कुनै समस्या छैन,’ प्रवक्ता उपाध्यायले भने ।

देशकै ठूलो सहर काठमाडौंमा पनि डिजेल तथा पेट्रोलको खपत दैनिक दुई लाख लिटर हाराहारीले बढेको थानकोटस्थित निगमको बागमती प्रादेशिक कार्यालयले जनाएको छ । सामान्य दिनहरुमा दैनिक ७ लाख लिटर डिजेलको खपत हुने उपत्यकामा अहिले उक्त खपत ९ लाख हाराहारीमा पुगेको डिपोका वरिष्ठ साहायक कपिल भट्टले बताए ।

यस्तै पेट्रोलको दैनिक खपत पनि झण्डै दुई लाख लिटर प्रतिदिनले बढेको छ । दैनिक औसत ६ लाख ५० हजार लिटर खपत हुने पेट्रोलको माग अहिले ८ देखि ८ लाख ५० हजारसम्म पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?