
काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । यो योजना असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ ।
कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्सफरलाई थप प्रवर्द्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको कम्पनीले जनाएको छ । यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्सफरमा मोबाइल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने विश्वास कम्पनीको छ ।
कम्पनीका अनुसार हाल यस प्रणालीमा जम्मा ५४ बैंक वित्तीय संस्थाहरु आबद्ध रहेका छन् । बैंक वित्तीय संस्थाका ग्राहकहरुले www.connectips.com मा वा यसको मोबाइल एपमार्फत अन्लाइन रजिष्टर गरी सेवा लिन सकिन्छ । साथै बैंक वित्तीय संस्थाका आफ्नै मोबाइल बैंकिङमा रहेको छुट्टै रजिष्टर गर्नु नपर्ने कनेक्ट आईपीएस फण्ड ट्रान्सफर अप्सनमार्फत पनि सो सेवाको प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ । १४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आईपीएसमार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् ।
कम्पनीका अनुसार कनेक्ट आईपीएसको मोबाइल एपमार्फत प्रति कारोबार रु. १ लाख तथा प्रति दिन रु. २ लाख सम्म कारोबार गर्न सकिन्छ । साथै मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफरमा भने बैंक वित्तीय संस्थाले रु. ५० हजारदेखि २ लाखसम्म कारोबार सीमा प्रदान गरेको छ ।
प्रतिक्रिया 4