+
+

कर्मचारीकै कारण छोरी बिमा कार्यक्रम रोकियो : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १८:०७

२० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाऔं अन्तर्गतको छोरी बिमा कार्यक्रम कर्मचारीका कारण कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् ।

प्रदेश २ मा जन्मिने छोरीलाई ३ लाख रुपैयाँको बिमा गरिदिने घोषणा गरेको प्रदेश सरकारले दुई बर्षयता एक जनाको पनि बिमा गरेको छैन । त्यसअघि ६ देखि ७ हजार जनाको बिमा भएको मुख्यमन्त्री राउतले बताए ।

जन्मिनेवित्तिकै बिमा गर्ने, प्रदेश सरकारले हरेक वर्ष बालिकाको नाममा निश्चित रकम जम्मा गर्दै जाने र २० वर्षपछि १ लाख रुपैयाँ दिने गरी छोरी बिमा कार्यक्रम ल्याइएको थियो । पछि यो रकम वृद्धि गरेर ३ लाख रुपैयाँ दिने व्यवस्था गरियो ।

तर बिमाका लागि कुन कम्पनीसँग सम्झौता गर्ने भन्ने विवाद भएपछि अघि नबढेको मुख्यमन्त्री राउतले बुधबार प्रदेशसभामा बताए ।

बेटी पढाऔं बेटी बचाऔं अभियान शुरु गरेपछि संघीय सरकारले ५० करोड रुपैयाँ विशेष अनुदान दिएको भन्दै मुख्यमन्त्री राउतले कर्मचारीले त्यसबाट ५० पैसा पनि खर्च नगरेको बताए । ‘संघीय सरकारप्रति वफादार कर्मचारीले ५० पैसा पनि खर्च गरेनन्’ उनले भने, ‘पछिल्लो बर्ष ८ करोड र यसबर्ष १६ करोड विशेष अनुदान आएको छ ।’

यो कार्यक्रमका लागि प्रदेश सरकारकै बजेट रहेको र संघीय सरकारबाट अनुदान आउँदा पनि कार्यक्रम कार्यान्वयन नभएको उनको दावी छ । ‘हामी क–कसलाई भनौं आफ्नै कर्मचारीको व्यवहारका कारण यस्तो भएको छ’ उनले भने ।

बैंकहरुले मुद्धती खातामा ब्याज कम दिएका कारण समस्या परेको मुख्यमन्त्री राउतले बताए । ‘पहिला १३÷१४ प्रतिशत र अहिले ६÷७ प्रतिशत व्याज मात्रै दिने गरेको छ’ मुख्यमन्त्री राउतले भने, ‘मैले यस बिषयमा सोध्दा बजारमा तरलता छ । कममा भरेमा प्रश्न उठन सक्छ भनेर बैंकहरुले भर्न मानेका छैनन् ।’

कर्मचारीकै व्यवहारले गर्दा यो कार्यक्रम रोकिएको भन्दै उनले एक जना विज्ञलाई बोलाएर के कति कारणले संचालन गरिएन भनेर बुझ्न लगाएको बताए । ‘त्यो रिपोर्ट लिएपछि कार्यक्रम सञ्चालन गर्नु जरुरी छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?