+
+

पौडेल समूहले माग्यो ३ मन्त्री, देउवाले भने : २ भन्दा दिन सक्दिन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते २०:११

२० असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्तमान मन्त्रिपरिषदमा आफ्नो पक्षका तीन जना मन्त्री हुनुपर्ने माग गरेको छ । तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले दुई जना मात्र मन्त्री दिन सकिने बताएका छन् ।

पार्टी क्रियाशील सदस्यता र मन्त्री भागवण्डाबारे छलफल गर्न पौडेल समूहका नेताहरु बालुवाटार पुगेका थिए । भेटमा पौडेल समूहका नेताहरुले पार्टीले पाएको ८ मध्ये तीन मन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए । तर देउवाले दुई जना भन्दा बढीलाई मन्त्री बनाउन नसकिने बताएका छन् ।

देउवाले दुई मन्त्री मात्र दिने बताएपछि पौडेल समूहले नाम नै दिएन । ‘हामीले तीन मन्त्री चाहिन्छ भन्यौं, उहाँले दुईभन्दा दिन सक्दिनँ भन्नुभयो । हामी उठ्यौं,’ एक नेताले भने ।

सरकारमा हाल कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् । गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ देउवा समूहका हुन् ।

नेताहरुका अनुसार देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई एक मन्त्री दिने बताएका छन् । यो समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने तय भइसकेको नेताहरु बताउँछन् ।

देउवा समूहबाट पुष्पा भुसाल मन्त्री बन्ने सम्भावना छ । प्रधानमन्त्री देउवाले एक मन्त्रालय भने आफैंसँग राख्ने देखिएको कांग्रेस नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?