+
+

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ असोज २१ गते १२:१६

२१ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । बिहान ११ बजेर ४६ मिनेटको साइतमा घटस्थापना गरिएको हो ।

घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो ।

हरेक वर्ष हनुमान ढोकाको दशैं घरमा विधिपूर्वक घटस्थापना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी बिसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?